काभ्रे । किसानलाई मल उपलब्ध गराउने जिम्मेवारी पाएका सहकारीले नै चार महिनादेखि मल नपाउँदा रित्तै फर्किन बाध्य भएका छन् । मुख्य बालि लगाउने सिजनमा पनि सहकारीले किसानलाई मल उपलब्ध गराउन सकेका छैनन् ।
जिल्लामा मल बितरण गर्ने जिम्मा पाएका सहकारीलाई कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ्ग कर्पाेरेसनले मल विक्री गर्दै आएको भएपनि चार महिनादेखि मल भण्डारण गर्ने गोदाम खालि छ ।
कृषि सामाग्री संस्थान धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका ३ सय ३८ सहकारी मार्फत मल विक्री गर्दै आएको छ । ‘यो सिजनमा जिल्लाका लागि कृषि सामाग्री संस्थान मार्फत ३ हजार मेट्रिक टन डिएपी र ५ हजार मेट्रिक टन युरिया मल आवश्यक थियो, मुस्किलले ८ सय ५२ टन युरिया, ४ सय ५६ टन डिएपी र ५२ टन मल उपलब्ध भएको छ’ संस्थानका शाखा प्रमुख बासुदेव शर्माले भने ।
कृषि सामाग्री संस्थानले प्राप्त मललाई पाँचखाल र मण्डनदेउपुर क्षेत्रका सहकारी मार्फत तत्काल खेति गर्नु पर्ने भएकाले आवश्यकताका आधारमा समानुपातिक वितरण गरेको छ ।
मल अभाव भए पछि दोलखा र रामेछाप जिल्लाका सहकारीहरुले मसिंर महिनासम्म मल लगेका छैनन । सरकारले यो वर्ष चीनको नाका सिन्धुपाल्चोकको तातोपानीबाट ७ सय मेट्रिक टन भित्र्याएको थियो । २ हजार टन त्यहि नाकाबाट युरिया मल ल्याउने सम्झौता भए पनि ब्यवसायीले कार्तिक २३ गतेबाट मल आयात गर्नै सकेनन ।
त्यहि नाकाबाट काभ्रेपलाञ्चोक, त्रिशुली र काठमाडौ सहित तराईका केहि जिल्लामा समेत मल निर्यात गर्ने सम्झौता भएको थियो । बनेपामा रहेको साल्ट ट्रेडिङ्ग कर्पाेरेसनले चालु वर्षको मसिंर मसान्तमा ६ हजार ३० केजी युरिया विक्री गरेको छ ।
मागको ३० प्रतिशत मात्रै मल प्राप्त भएको शाखाका निमित्त प्रमुख सुरेन्द्र अवाले बताउछन् । ३ सय १८ वटा डिलर सहकारीले दैनिक मलका लागि ताकेता गरेको भए पनि प्रति सहकारी १० बोरा मल दोहोरो नपर्ने गरी उपलब्ध गराउन कठिनाई भएको अवालेले बताए ।
Leave a comment