सहकारीद्धारा दूध सङ्कलन केन्द्र सञ्चालन

सहकारीद्धारा दूध सङ्कलन केन्द्र सञ्चालन :: Sahakari Akhabar

पाल्पा । भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले रिब्दीकोट गाउँपालिकामा दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाभित्र उत्पादन हुने दूध एकै ठाउँमा सङ्कलन गरी बिक्री गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने भएको हो ।

दुग्ध सङ्कलन केन्द्र स्थापना भएसँगै यहाँका किसान उत्साहित हुँदै  व्यवसायमा लागेको र राम्रो आय आर्जनसमेत हुने हुँदा संकलन केन्द्र सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष केशव खनालले बताए ।

उनले भने, ‘किसानको सहजताका लागि हामीले सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ, गाउँमा उत्पादित दूध गाउँमै बेच्न पाउँदा यसले कृषकलाई ठूलो राहत पुग्नेछ ।

गाउँपालिकाको आठ वडामा उत्पादन हुने एक हजार ४३० लिटर दूध अब भैरव दूधका नामबाट बिक्रीवितरण गरिने अध्यक्ष खनालले बताए।

सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा बिक्री कक्ष सञ्चालन गर्ने योजना बनाएको छ । हेफर प्रोजेक्टले दुई हजार लिटरको चिलिमे भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाइजर, तथा अन्य उपकरणका लागि ५० प्रतिशत सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि कृषक विचौलियाबाट ठगिनेक्रम रोकिने बताए । उनले उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।



Leave a comment