गाउँपालिकाले सहकारी मार्फत किसानलाई कृषक क्रेडिटकार्ड वितरण

गाउँपालिकाले सहकारी मार्फत किसानलाई कृषक क्रेडिटकार्ड वितरण :: Sahakari Akhabar

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४.५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए ।

हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ ।

धितो दिन नसक्ने कृषक, सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न नसक्ने त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उनको भनाइ छ । अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारीसँगको सहकार्यमा नेपाल बङ्गलादेश बैंक मकवानपुरगढी शाखाबाट उनिहरुले ऋण प्राप्त गर्ने जनाए ।

मनकामना दुग्ध सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताए ।

नेपाल बङ्गलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्डमार्फत पहिलोपटक नौलो कार्यक्रम अन्तर्गत ऋण लगानी गरेको जानकारी दिए ।

यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उनले भने ।

मनकामना दुग्ध सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताए ।

गाईबस्तु पालेर आम्दानी गर्न चाहने तर लगानी नभएका कृषकलाई उक्त कार्ड उपलब्ध गराउन सहकारीले भूमिका खेल्ने उनले जानकारी दिए ।

क्रेडिटकार्ड प्राप्त गरेर खुशी भएका कृषक कृष्णप्रसाद तिमल्सिनाले यो ऋणले भैँसी किन्ने बताए । दूधबाट मनग्य आम्दानी हुने भएका कारण आफूलाई भैँसी किनेर दुग्ध व्यवसाय गर्न मन लागेको उनको भनाइ छ ।

यसैगरी कृषक राजु ढकालले पनि उन्नत जातका गाई किन्नमा उक्त ऋण लगाउने बताए । सहुलियत ब्याजदरमा ऋण प्राप्त गरेकाले पनि ऋण चुक्ता गर्न सजिलो हुने उनको विश्वास छ ।

यसैगरी कृषक सूर्यमाया रुम्बा पनि किसान क्रेडिटकार्ड पाएर खुशी भएकी छन् । पशुपालनलाई मुख्य पेशा बनाउँदै आएकी उनले महिला भएकै कारण ३.५६ प्रतिशत ब्याजदरमा ऋण प्राप्त गरेकी हुन् ।



Leave a comment