सहकारीमार्फत वार्षिक २ अर्बको जडीबुटी कारोबार

उत्पादन र प्रशोधन गर्न १४ जिल्लामा सहकारी स्थापना

सहकारीमार्फत वार्षिक २ अर्बको जडीबुटी कारोबार :: Sahakari Akhabar

काठमाडौँ । देशभरका एक सय ५० सहकारी जडीबुटी उत्पादन र प्रशोधनमा सक्रिय भएका छन् । ३ सय भन्दा बढी सहकारी दर्ता भए पनि डेढ सय सहकारीले उत्पादनदेखि प्रशोधनसम्मको काम गर्दै आएको जडीबुटी केन्द्रीय सङ्घले जनाएको छ ।

सामुदायिक, निजी तथा राष्ट्रिय वनमा रहेका जडीबुटी पहिचान गरी सङ्कलन गर्ने, आफै नर्सरी बनाएर उत्पादन गर्ने र उत्पादन गरिएका जडीबुटी प्रशोधन गर्ने सहकारीको सङ्ख्या बढ्दै गएको सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले बताए ।

सङ्घका अध्यक्ष पाण्डेका अनुसार १४ जिल्लामा जडीबुटी प्रशोधन उद्योग स्थापना भएका छन् । सरकारको अनुदानबाट प्रशोधन उद्योग स्थापना गर्न सघाउ पुगेको छ । सरकारको आर्थिक वर्ष ०७६÷७७ मा ६ करोड अनुदानबाट प्रशोधन उद्योगका साथै ६ जिल्लामा जडीबुटी नमुना नर्सरी र १० जिल्लामा जडीबुटी खेती बिस्तार गरिएको छ ।

१० लाखदेखि १ करोडसम्मको लागतमा प्रशोधन उद्योग स्थापना भएको छ । सखुवा सभा, ताप्लेजुङ, पाँचथर, डोल्पा, हुम्ला, सुर्खेतमा जडीबुटी नमुना नर्सरी सुरु भएको छ । त्यस्तै चितवन, रुपन्देही, सिन्धुली, झापा, सुनसरी, बर्दिया, बाँके, कैलाली, दाङ, सुर्खेतमा जडीबुटी खेती भइरहेको छ ।

सहकारीले लेमनग्रास, क्यामोमाइल, अर्सोगन्धा, तुलसी, सर्पगन्धा, रुद्राक्ष, तेज पात, पद्म चाल, कुरिलो, हर्रो वर्र्रो, अमलालगायत जडीबुटी उत्पादन तथा प्रशोधन गर्छन् । त्यस्तै अन्य जडीबुटी पहिचान गरी सङ्कलन गर्न थालिएको अध्यक्ष पाण्डेले बताए ।

वार्षिक १० अर्बको जडीबुटीको कारोबारमा सहकारीमार्फत वार्षिक २ अर्बको कारोबार भइरहेको छ । सरोकारवाला निकायसँग समन्वय गरेर जडीबुटी सम्बन्धी काम भइरहेको सङ्घले जनाएको छ । 

जडीबुटी पहिचान र स्रोत तथा परिणामको खाका आइसकेपछि सहकारीमार्फत प्रक्रिया अघि बढाइने गरेको सङ्घले जनाएको छ । केन्द्रीय सङ्घले ३८ जिल्लामा जडीबुटी जिल्ला सङ्घ गठन गर्ने तयारी गरेको छ । जिल्ला सङ्घमार्फत जडीबुटी सङ्कलन गर्न सहज हुने भएकाले जडीबुटी जिल्ला सङ्घ स्थापनामा जोड दिइएको उनको भनाइ छ ।

बुढापाका उमेरले विगतमा प्रयोग गरेको अनुभवका आधारमा समेत जडीबुटी पहिचान हुन्छ । मानव स्वास्थ्यमा प्रयोग गर्ने त्यस्ता जडीबुटीको पहिचान भएमा लगत सङ्कलन गर्ने काम हुन्छ । केन्द्रीय सङ्घले ३० देखि ६० उमेर समूह लक्षित गरी पालिका स्तरमै पहिचान गर्ने, योजना बनाएर जडीबुटी सङ्कलन, उत्पादन र प्रशोधनमा ध्यान दिइएको अध्यक्ष पाण्डेको भनाइ छ ।

वार्षिक १० अर्बको जडीबुटीको कारोबारमा सहकारीमार्फत वार्षिक २ अर्बको कारोबार भइरहेको छ । सरोकारवाला निकायसँग समन्वय गरेर जडीबुटी सम्बन्धी काम भइरहेको सङ्घले जनाएको छ । हालसम्म ४० प्रकारका जडीबुटी पहिचान भएका छन् । सहकारीले विभिन्न जिल्लामा सबै प्रकारका जडीबुटी उत्पादन र प्रशोधनमा क्रियाशील भएका छन् ।

वनस्पति विभाग, वैद्यखाना, आयुर्वेदिक कम्पनीसँगको सहकार्यमा जडीबुटीमा थप काम गर्न गृहकार्य सुरु भइसकेको उनले बताए । ‘औद्योगिक संरचना बनाएर नेपालभित्र के के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ’ उनले भने, । अर्को वर्ष प्रदेशस्तरीय जडीबुटी खेति गर्ने सोचमा छौँ ।’ 



Leave a comment