सहकारीद्धारा सदस्यलाई एक सय भैंसी बितरण 

सहकारीद्धारा सदस्यलाई एक सय भैंसी बितरण  :: Sahakari Akhabar

दुल्लू । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई भैंसी बितरण गरेको छ ।

संस्थाले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु सेवा कार्यालयबाट एक करोड, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ३० लाख र सहकारीको ३० लाख गरी एक करोड ६० लाखमा एक सय जना कृषकलाई भैँसी वितरण गरेको हो ।

साथै संस्थाले सदस्यले उत्पादन गरेको दूध तथा स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको । संस्थाले २०७७ साउनदेखि कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण शुरु गर्न थालेको थियो । संस्थाका सदस्यले उत्पादन गरेका फलफूल, तरकारी, भटसमासलगायत जैविक वस्तुलाई बजारीकरण गरी स्थानीयस्तरका कृषकको आम्दानी बढाउन थालेको सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले बताए ।

अहिले सहकारीमा ५० जना कृषकले दैनिक दूध बिक्री गर्ने गर्छन । सहकारीले दूध मात्रै नभई स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली, फलफूललगायतका कृषिजन्य वस्तुको बजारीकरण गरेको छ । सहकारीले बोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रशोधन उद्योग सञ्चालनमा ल्याउने तयारीसमेत जनाएको छ ।

सहरकारीले नै स्थानीय उत्पादनको बजारीकरण गर्न थालेपछि कृषकले उत्पादित वस्तु बिक्री हुँदैनन्की भन्ने चिन्ता हटेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए । सहकारी नाफामुखी नभई सेवामूलक भएकाले किसानलाई बचत तथा ऋणमा मात्रै नभई आयआर्जन क्रियाकलापमा पनि सरिक गराइएको छ ।

किसानलाई अनुदान, प्रोत्साहन र तालीमजस्ता क्रियाकलापमा पनि संलग्न गराइने बताउँदै स्थानीय, प्रदेश र सङ्घ सरकारले सडक, कृषबस्तु सङ्कलन केन्द्र स्थापनाका लागि स्थानीय सरकार लागिपरेको प्रमुख शाहीको भनाइ छ । सहकारीले सरकार, बजार र किसानबीच पुलको काम गरी नागरिकलाई आयआर्जन र व्यवसायमा सहज ल्याउन भूमिका खेल्ने संस्थाका सचिव रवीन्द्र कँडेलले बताए ।



Leave a comment