बाग्मती प्रदेशका किसानलाई दूधमा दुई रुपैयाँ अनुदान 

बाग्मती प्रदेशका किसानलाई दूधमा दुई रुपैयाँ अनुदान  :: Sahakari Akhabar

हेटौंडा । बाग्मती प्रदेशका किसानले सहकारीमार्फत प्रतिलिटर २ रुपैयाँ अनुदान पाउने भएका छन् । दूधको लागत घटाइ उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बाग्मती प्रदेशले गत वर्षदेखि दूधमा अनुदान दिन लागेको हो । सहकारीलाई दूध बिक्री गर्ने किसानले प्रतिलिटर २ रुपैयाँ एक मुष्ठ अनुदान पाउने छन् । दूधमा अनुदान दिनका लागि बाग्मती प्रदेश सरकारले १६ करोड बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले गत माघ ९ गते एक महिनाको समय राखेर प्रस्ताव आह्वान गरेको थियो । प्रदेशले ८ करोड लिटर दूधका लागि १६ करोड बजेट विनियोजन गरेको हो । प्रदेशका १३ जिल्लाका दुग्ध सहकारी संस्थाहरुले प्रस्ताव पेश गर्न पाउने छन् । प्रस्ताव पठाउने समय फागनु ९ गतेसम्म छ । किसानले सहकारीमार्फत रकम बुझेको भर्पाइ प्रदेश सरकारलाई पेश गर्नुपर्छ । गत वर्ष दूध बिक्री गरेको आधारमा किसानले अनुदान पाउँछन् ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मापदण्ड बनाइ दुग्ध सहकारी संस्थाले दैनिक कम्तिमा ३ सय लिटर दूध संकलन गरेको हुनुपर्ने व्यवस्था गरेको छ । वार्षिक कम्तीमा २ सय दिन दूधको कारोबार गरेको  हुनुपर्ने प्रावधान छ । कार्यविधि अनुसार एउटै दुग्ध उत्पादक सहकारी संस्थाले ३ वर्षसम्म अनुदान पाउँछन् । गत वर्ष प्रदेश सरकारले ८ करोड लिटर दूधमा एक रुपैयाँ अनुदान दिएको थियो । 

सरकार र सहकारी संघको साझेदारीमा दुग्ध प्रशोधन कारखाना स्थापना हुने 

प्रदेश सरकारले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघसँग ५० प्रतिशत लागत साझेदारीमा हेटौंडामा दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भएको छ । डेढ करोड रुपैयाँ लागतमा सहकारी संघ र प्रदेश सरकारले कारखाना स्थापना गर्दै छन् । केन्द्रीय संघका अध्यक्ष नारायण देवकोटाले सहकारीमार्फत दैनिक ८ लाख लिटर दूध बिक्री वितरण गर्दै आएका छन् । सहकारीमार्फत दूध उत्पादन र बजारीकरणमा उल्लेख्य योगदान पुग्नुका साथै ऋण लिएर व्यावसायिक कृषि गर्ने कृषकको संख्या बढ्दै गएको अध्यक्ष देवकोटाले बताए । 



Leave a comment