झापा । बिर्तामोडस्थित रामजानकी कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिडको कहरमा पनि संस्थाले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ६४ प्रतिशत मुनाफा गरेको जानकारी दिए । संस्थाको शेयर पूँजी एक करोड २२ लाख १८ हजार रहेको छ भने शेयर सदस्य संख्या पाँच हजार १८२ जना पुर्याइएको छ । चालू वर्ष शेयर पूँजी एक करोड ९२ लाख ७० हजार पुर्याउने लक्ष्य रहेको बताए ।
संस्थाले चालु वर्ष कर्जा लगानी तर्फ १५ करोड ९६ लाख ८६ हजार २५० पुर्याउने तथा कोषमा २० लाख रुपैयाँ पुर्याउने योजना सुनाइएको छ । यसैगरी प्रविधितर्फ संस्थाको नाममा वेबसाइट बनाउने र मोबाइल बैकिङ सेवा विस्तार गर्ने योजना बनाइएको अध्यक्ष कार्कीले बताए ।
साधारणसभाका जिल्ला सहकारी संघका सचिव युवराज ढकालले कृषि सहकारी संस्था भएकाले कृषि क्षेत्रमा काम गर्न र लगानी बढाउन सुझाव दिए । संस्थाका व्यस्थापक शुक्रराज भण्डारीले वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य संख्या २ हजार जना थप गर्ने सुनाए ।
उनले निक्षेपमा ५ करोड वृद्धि गरी १४ करोड ४५ लाख २५ हजार बनाउने लक्ष्य सुनाए । साधारणसभामा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष भिम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Leave a comment