विशिष्टीकृत सहकारी संघलाई तरकारी बजार संचालन गर्न जिम्मा

विशिष्टीकृत सहकारी संघलाई तरकारी बजार संचालन गर्न जिम्मा :: Sahakari Akhabar

विराटनगर । कटहरी गाउँपालिकामा निर्माण गरिएको तरकारी बजार सञ्चालन गर्न प्रदेश १ सरकारले सहकारीलाई जिम्मा दिने भएको छ । प्रदेश १ सरकारले उद्घघाटन भएको २१ महिनासम्म बजार सञ्चालन गर्न नसकेपछि कार्यविधि संशोधन गरेर सहकारीलाई संचालन गर्न दिने तयारी गरेको हो ।

तरकारी बजार सञ्चालनका लागि प्रदेश सरकारले सहकारीहरुबाट बोलपत्र आह्वान गर्यो । बोलपत्र प्रकाशित भएपछि कटहरी गाउँपालिका–१ को विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघले मात्र प्रस्ताव दर्ता गर्यो । सो सहकारी छनोट पनि भएको छ । तर बजार सञ्चालनमा स्थानीयले भूमिका खोजेपछि कार्यविधि परिमार्जन गर्न लागिएको हो ।

निर्माण सम्पन्न भएको करिब ६ महिनापछि २०७५ चैत ३ गते आधुनिक तरकारी तथा फलफूल बजारको चाबी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । तर त्यसको २१ महिनासम्म प्रदेश सरकारले बजार सञ्चालन गर्न सकेन । लकडाउनको समयमा किसानको बारीमा तरकारी सड्कलन थालेपछि जिल्ला सहकारी संघ मोरङको अगुवाइमा केही दिन बन्द अवस्थामा रहेको तरकारी बजारमा स्टल राखेर कृषि उपज बिक्री गर्न थालिएको थियो ।

बजारको संरचना प्रयोगविहीन भएपछि सहकारी सञ्चालकले बजार सञ्चालन गर्ने भन्दै ९ असार २०७७ मा विशिष्टीकृत सहकारी दर्ता गरेका थिए । प्रदेश सहकारी रजिष्टार कार्यालयमा दर्ता भएको सहकारीको दर्ता नम्बर २ छ । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष तथा विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघका सल्लाहकार डिल्ली पोखरेलले कृषकले उत्पादन गरेको सामाग्री सहज रुपमा उपभोक्तासम्म पु¥याउन बजार सञ्चालनको तयारी गरिएको बताए ।



Leave a comment