सिन्धुपाल्चोक । स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको सहयोगमा सहकारीलाई गाडी प्रदान गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा उत्पादित कृषि सामाग्रीहरुको बजारीकरणकालागि वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई दिएको हो ।
कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको १३ लाख रुपैंया अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो । सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् । ‘गाउँको उत्पादन अब बजारसम्म लैजान सजिलो हुनेभयो’, कृषि सहकारीका लागि गाडी आएपछि स्थानीय कृषकले खुशी व्यक्त गरे । वडाको रु १३ लाख अनुदान र अपुग रकम सहकारीले नै व्यवस्थापन गरी कृषिजन्य उत्पादन ढुवानीका लागि गाडी खरिद गरी ल्याइएको धुस्कुन कृषि सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए ।
कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरी वडाले कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष सुकदेव रिसाल बताउछन् । आर्थिक वर्ष २०७७/७८ का लागि पनि वडाले गाईभैँसी अनुदान र कुखुरापालन व्यवसाय बीमा कोष स्थापना गरेको छ । बीमा कोष पाँच लाखबाट शुरु गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताइएको छ । गाईभैँसी अनुदान अन्तर्गत धुस्कुन कृषि सहकारीसँग समन्वय गर्दै गाईभैँसी पाल्ने कृषकका लागि अनुदान उपलब्ध गराइने वडाध्यक्ष रिसालले बताए । ‘पशुपालन गरी आयआर्जन गर्छु भन्नेका लागि बजेटको अभाव हुन दिइने छैन’, रिसालले भने । यस अघि धुस्कुन कृषि सहकारीमार्फत वडाकै अनुदानमा दुग्ध चिस्यान केन्द्रको उपकरण खरिद गरीएको थियो ।
Leave a comment