हाइलाइट

महिला सहकारीद्धारा तीन महिनामा ७० लाखको खसि बोका बिक्री 

महिला सहकारीद्धारा तीन महिनामा ७० लाखको खसि बोका बिक्री  :: Sahakari Akhabar

बाँके । बाँकेका तीनवटा सहकारीले साउन, भदौ र असोजमा गरी ७० लाखको खसिबोका बिक्री गरेका छन् । राप्तीसोनारी गाउँपालिकाका तीन वटा महिला सहकारीले तीन महिनामा ७० लाख बराबरको खसि बोका बिक्री गरेका हुन् ।

राप्तीसोनारी गाउँपालिका–७ मा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारीले तीन महिनामा १३३ वटा खसी बेचेको अध्यक्ष साइ जहा खाँले बताइन् । ‘बेच्न त असारबाटै सुरु गरेका हौँ,’ उनले भनिन्, ‘दसैं तिहारमा १५० वटा खसी बेच्ने लक्ष्य लिएका छौँ ।’ उक्त सहकारीमा आठ जना पुरुष गरी ६८६ जना महिला सदस्य छन् । जसमध्ये २७५ जना महिलाले खसी पालेका छन् । उनीहरुले सहकारीमा १२ लाख १३ हजार सात सय ५० बचत गरिरहेका छन् । ‘सहकारीले बचत गर्न मात्र सिकाएको छैन, आत्मनिर्भर बन्न पनि सिकाएको छ,’ अध्यक्ष साइ जहा खाँले भनिन् खसी बेचेर घरखर्च चलाउदै आएका छौँ ।

परिवर्तन सामाजिक महिला सहकारीका सदस्य महिलाहरुले साउनयता तीन महिनामा २८५ वटा खसी बेचेर ४३ लाख ४३ हजार ८ सय ७२ रुपैयाँ आम्दानी गरेका छन् । ‘दसैँ तिहारमा ३ सय वटा खसी बेच्ने लक्ष्य लिएका हौँ,’ सहकारीकी व्यवस्थापक पम्फा परियारले भनिन्, ‘गत वर्ष २९३ वटा मात्र खसी बेचेका थियौँ ।’ २०६८ सालमा स्थापना भएको यो सहकारीमा अहिले ८५८ जना सदस्य छन् । जसमा तीन सय सदस्यले खसी पालेका छन् ।

सहकारीले जिउँदो खसी प्रतिकेजी ४८० देखि ५१० रुपैयाँ खरिद मूल्य राखेको छ । गाउँका विपन्न महिला अन्य रोजगारीको विकल्प नहुँदा खसी पालेर नै घर गुजारा चलाउँछन । ‘घाँस खोज्न चराउन सजिलो त छैन,’ राप्तीसोनारी–७ लालपुरकी नैनादेवी सिंह ठकुरीले भनिन् ‘खसी पालेर नै दुई चार पैसा चलाउन पाएका छौँ ।’

नयाँ सिर्जनशील सामाजिक उद्यमी सहकारीले तीन महिनामा २०१ वटा खसी बिक्री गर्यो । यसरी सहकारीमा ल्याएर खसी बेच्दा महिलाहरु ठगीबाट जोगिने समेत गरेको अध्यक्ष ठकुरीले सुनाइन् । ‘बिचौलियाहरुले गाउँकै व्यक्तिलाई कमिसन दिएर दिदीबहिनीका खसीहरु सस्तोमा किन्न आउँछन्,’ अध्यक्ष ठकुरीले भनिन् नजोखेर अन्दाजकै भरमा दिदीबहिनीलाई खसी लिन एडभान्स समेत दिँदा धेरै ठगिनु पनि भएको छ ।’

यति मात्र होइन सहकारीमा खसी बिक्रीका लागि जाने भएपछि बिचौलियाहरुले घरमा पालेको खसीलाई तस्करीको खसी भन्दै प्रहरी ल्याएर अनावश्यक दुखसमेत दिने गरेको उनले बताइन । २०६८ सालमा स्थापना भएको सो सहकारीमा एक हजार २६ जना सदस्य छन् । जसमा ७१७ जनाले खसी पाल्ने गर्छन् ।

यसरी सहकारीमा बिक्री गरेको खसीबोका खरिद बिक्री गर्न काठमाडौंको कलंकीस्थित खसी बजारमा लग्ने गरिन्छ । महिलाले उत्पादन गरेका खसी स्थानीय महिला सहकारीले खरिद गरेर सामाजिक उद्यमी जिल्ला सहकारी संघमार्फत काठमाडौंलगायतका सहरमा पठाउने गरेका छन् । ‘असोजमा मात्र सात सय ५० वटा खसीबोका काठमाडौं पठाएका छौँ,’ सामाजिक उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष एमी कुमारी बोहराले भनिन् ।

यसरी सहकारीमार्फत सय वटा खसी बिक्री गर्ने सहकारीका किसानलाई एक केजी खसीको तौल बराबर २५ रुपैयाँ सहकारीमार्फत किसानको खातामा जम्मा समेत गरिदिने संघका अध्यक्ष बोहराले बताइन् ।



Leave a comment