काठमाडौं । देशभर रहेका सहकारीले किसानको धान खरिद गर्न नगद अनुदान समेत पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमाथि मंगलबार मन्त्री परिषद्को बैठकले ‘न्युनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७ पारित गरेसँगै सहकारी मार्फत धान खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको अगुवाईमा देशभर रहेका सहकारीले किसानको धान खरिद गर्नेछन् । यस वापत सहकारीले नगद अनुदान समेत पाउनेछ । किसानबाट न्युनतम मूल्यमा धान खरिद गर्दा सहकारीले प्रतिक्वीन्टल एक सय १२ रुपैयाँ सरकारबाट अनुदान पाउने निमित्त कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।
‘किसानको उत्पादनलाई बजार सुरक्षित गर्न धान खरिदमा अनुदान दिने निर्णय गरिएको छ,’ कार्कीले भने, ‘यसले उत्पादित धान उचित मूल्यमा बिक्री हुन्छ ।’ धान खरिदमा अनुदान दिए पछि किसानलाई ठूलो राहात मिल्छ । किसानलाई कृषि पेशामा आकर्षित गर्नका लागि उत्पादनलाई खरिद गर्ने अभ्यासको सुरुवात गरेको कार्कीको भनाइ छ ।
सहकारीले सरकारले तोकेको मूल्यमा धान खरिद गर्नुपर्छ । गत असारमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरिएको थियो । यो वर्ष धान बाली लगाउनु अघि नै असारमा मूल्य तोकिएको थियो । सहकारीले किसानसँग बाट सरकारले तोकेको मूल्यमा धान किनेपछि प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान पाउने भएका छन् । निर्देशिका मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पछि धान खरिदमा अनुदान पाउने बाटो खुलेको छ ।
सरकारले अनुदान दिएपछि धान खरिद गर्न सुरु गरेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ । स्थानीय तहमा कृषि सहकारी मार्फत खरिद गर्न लागेको संघका अध्यक्ष खेमबहादुर पाठकले बताए । ‘स्थानीय सहकारी र ज्ञान केन्द्रसंग छलफल गरेर धान खरिद सुरु भएको छ,’ पाठकले भने, ‘अब किसानले धानको उचित मूल्य पाउँनेछन् ।
कृषी सहकारीले बर्दिया, कैलाली, बारा, सर्लाही, धनुषा, सिराहा, सप्तरी, बांके, रुपन्देही, नवलपरासी जिल्लामा धान खरिद गर्न सुरु गरेको संघले जनाएको छ । कृषि सहकारी मात्र नभएर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धान खरिद गर्दै आएको छ ।
Leave a comment