काठमाडौं । कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रको ६० प्रतिशत बजार गुमेको केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताएका छन् । ‘कोरोना महामारीले घरायसी प्रयोजनमा मात्र थोरै दूध बिक्री भएको छ । बढी खपत हुने होटल, रेष्टुरेन्टलगायतका क्षेत्र बन्द भएकाले करिब ६० प्रतिशत बजार गुमेको देवकोटाले बताए । उनका अनुसार देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ ।
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दूग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा व्यवसायीले २० अर्ब रूपैयाँ घाटा लागेका बताएका छन । कोरोनाका कारण दूग्ध व्यवसायीलाई मात्र २० अर्ब रूपैयाँ घाटा लागेको बताएका छन्।
नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योगले सेवा दिइरहेको बताए । दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ तर ३१ लाख लिटर दूध मात्र बजारमा जान्छ । बाँकी किसान आफै उपभोग गर्ने गरेको उल्लेख गर्दै महासचिव दाहालले कृषिका हरेक क्षेत्रलाई समेटेको डेरी क्षेत्रलाई सरकारले ध्यान नदिएको गुनासो गरे ।
दूध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दूध क्षेत्रमा उत्पादनको समस्या छैन तर बिक्री वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताए । दैनिक दुध संकलनमा ३० देखि ४० रुपियाँ घाटा भइरहेको, उत्पादन भएपनि बिक्री नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भएको उनले बताए । ‘घ्यु, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भन्ने समस्या छ,’ उनले भने ।
कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको वाग्मती प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दूध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने जोड दिए ।
Leave a comment