काठमाडौं । कृषिसंग सम्वन्धित केन्द्रीय सहकारी संघहरुलाई मर्ज गरिने भएको छ । कृषिसँग जोडिएका अन्य केन्द्रीय संघहरू कृषि केन्द्रीय संघमा एकीकरण गर्ने नीति ल्याउन लागिएको हो । राष्ट्रिय सहकारी विकास बोर्डले संशोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा केन्द्रीय विषयगत संघहरूको पूनर्गठन गर्न व्यावसायिक क्रियाकलापहरू नभएका केन्द्रीय संघहरू विघटन गर्ने भनिएको छ ।
मस्यौदामा, सहकारीका विषयगत संघ, बहुउद्देश्यीय संघ र राष्ट्रिय सहकारी महासंघको पुनर्संरचनाका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने, व्यावसायिक क्रियाकलापहरू नभएका केन्द्रीय संघहरू विघटन गर्ने, सहकारी संस्थाहरूको सदस्यताका आधारमा केन्द्रीय संघहरूलाई प्रादेशिक विषयगत संघमा रुपान्तरण गर्ने, कृषिसँग जोडिएका अन्य केन्द्रीय संघहरू कृषि केन्द्रीय संघमा एकीकरण गर्ने र कृषि तथा कृषि उत्पादनसँग सम्बन्धित सहकारीको एउटा मात्रै कृषि संघ बनाउने उल्लेख छ ।
संसोधन गर्न लागिएको सहकारी नीतिमा उपभोक्तालगायत कृषि सहकारीहरुको केन्द्रिय संघहरुले आपत्ती जनाएका छन् । कृषिसंग सम्वन्धित सवै संघहरु केन्द्रिय कृषिसंघमा मर्ज गर्न नहुने भन्दै उनीहरुले भइरहेका सबै प्रकारको कृषि संघहरुको एउटा राष्ट्रिय कृषि संघको गठन गर्नुपर्ने सुझाव दिएका छन् ।
सुझाव दिने संघहरुमा केन्द्रीय पशुपंक्षी सहकारी संघ, केन्द्रीय चिया सहकारी संघ, केन्द्रीय उपभोक्ता सहकारी संघ, केन्द्रीय जुनार सहकारी संघ, केन्द्रीय जडीबुटी सहकारी संघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र कृषि बिउ तरकारी तथा फलपूmल केन्द्रीय सहकारी संघले राष्ट्रिय कृषि संघको गठनको सुझाव दिएको केन्द्रीय पशुपंक्षी सहकारी संघका अध्यक्ष बामबुराम अधिकारीले बताए । उनले भने ‘सवै संघहरुको पुर्नगठन हुनु पर्छ, कृषि केन्द्रिय संघमा मर्ज हुने हैन र कृषि जन्य सहकारीहरुको एउटै मात्र राष्ट्रिय कृषि सहकारी संघ बनाउने नीति ल्याउनु पर्छ ।’ देश भर एक दर्जन कृषि क्षेत्रका केन्द्रीय संघहरु स्थापनामा रहेका छन् ।
Leave a comment