हाइलाइट

सहकारीलाई उत्पादन र बजारीकरणमा युएनडीपीले सघाउने

सहकारीलाई उत्पादन र बजारीकरणमा युएनडीपीले सघाउने :: Sahakari Akhabar

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले सघाउने भएको छ । राष्ट्रिय सहकारी महासंघसँग साझेदारी गरेर युएनडिपीले कोरोना भाइरसबाट सिर्जित समस्या निराकारण गर्न सहकार्य गर्ने भएको हो ।

युएनडीपी र महासंघको कोरोना भाइरस (कोभिड–१९) ले सहकारी क्षेत्रमा पारेको प्रभाव र भावि कार्य दिशाको विषयमा मंगलबार भएको अनलाइन छलफलमा  त्यस्तो सहमति भएको हो । युएनडीपी नेपालकी आवासीय प्रतिनिधि आइशानि मेदगंगोडा लाबेले कोभिड १९को महामारीका कारण सिर्जित चुनौती सामना गर्न युएनडीपीले सहकारी अभियानसँग मिलेर काम गर्ने बताइन् ।

उनले सहकारी क्षेत्रमार्फत कोभिड १९ बाट सिर्जना हुने चुनौतीको सामना गर्न सकिने विश्वास व्यक्त गरिन् । नेपालमा भारतलगायत वैदेशिक रोगजारमा गएका ठूलो मात्रामा श्रमिक स्वदेश फर्कने भएकाले उनीहरुलाई रोजगारको सिर्जना गर्नका लागि नेपालको सहकारीको ठूलो नेटवर्क प्रयोग गर्न सकिने उनको भनाइ छ ।

युएनडीपीले साना किसानको उत्पादित बस्तुको बजारीकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको साझेदारीमा सहकारी बजार विकास कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । कोभिड १९का कारण प्रभावित भएको पर्यटन क्षेत्रमा समेत सहकारीको नेटवर्कले सहयोग गर्न सक्ने भएकाले त्यसमा समेत मिलेर काम गर्न सक्ने उनको भनाइ छ ।

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि भइरहेको लकडाउनका समयमा घरेलु हिंसा बृद्धि भएकाले त्यसलाई रोक्नका लागि सहकारीसँग युएनडीपीले साझेदारी गर्न सक्ने उनले औल्लाइन् । महासंघका अध्यक्ष मिनराज कँडेलले लकडाउनका समयमा सहकारीले तरकारी, फलफुलको बजारीकरण गरेकै कारण यसको मुल्य नियन्त्रण भएको र विषम परिस्थितिमा सहकारीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग मिलेर काम गरिरहेको बताए । उनले वित्तिय सहकारीका लागि तरलता व्यवस्थापन गर्ने विषयमा महासंघले छलफल गरिरहेको उनको भनाइ छ ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले देशभरिका २ लाख ४७ हजार ७ सय बढी अगुवा सहकारीकर्मीले लकडाउनका समयमा स्थानीय जनप्रतिनिधिसँग हातेमालो गरेर कार्य गरेको बताए । बस्तुको भण्डारण र बजार व्यवस्थापनमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ । खाद्य संकट हुन नदिन सहकारीमार्फत गाउँगाउँमा मल विउ पुर्याउनुपर्ने, खेतीमा प्रविधिको प्रयोग, सातवटै प्रदेशमा ठूला आधुनिक नर्सरी स्थापना, खाद्य बैंक, बजारीकरण, उत्पादित बस्तुको विविधिकरण गर्ने उद्योग संचालननको प्रयास थालिएको सहकारीकर्मीहरुले बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले वित्तिय सहकारीमा प्रविधिको प्रयोगमा जोड दिदैँ तरलता व्यवस्थापनका लागि बैंकले कोषको व्यवस्थापन गरेको र सरकारले सहुलियत ब्याजदरको पैसा सहकारीलाई उपलब्ध गराएमा प्रयाप्तमात्रामा रोजगारी र उद्यमशीलता बढाउन सकिने बताए



Leave a comment