हाइलाइट

सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न

सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडाैं । हरिवान सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । हरिवन–९ स्थित चतुरभुजेश्वर महादेव मन्दिर, सुखेपोखरीमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा साधारणसभा भएको हो ।

९६ वर्षीया ज्येष्ठ सदस्य टीका लक्ष्मी उप्रेतीले दीप प्रज्वलन गरी उद्घाटन गरेको सभामा संस्थाका कोषाध्यक्ष पदमा मोक्तानले स्वागत मन्तव्य राखेकी थिइन ।

सदस्य लम्बोदर काफ्लेले ‘शाब्दिक कोशेली’ कविता प्रस्तुत गरेका थिए भने सञ्चालक समिति सदस्य हरिप्रसाद पुडासैनीले धन्यवाद मन्तव्य दिएका थिए । संस्थाका सचिव विनोद कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सभामा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालले पछिल्ला वर्षमा देखिएका वित्तीय तथा व्यावसायिक चुनौतीका बाबजुद संस्थाले सदस्यकेन्द्रित सेवा र विवेकपूर्ण निर्णयमार्फत संस्थागत सुदृढीकरणमा प्रगति गरेको जनाए ।

महाभूकम्प, कोभिड–१९, बाढीपहिरोलगायत राष्ट्रिय विपत्ति तथा वित्तीय क्षेत्रमा देखिएको शिथिलताले ऋण लगानी घट्नुका साथै भाखा नाघेको ऋण बढेको र माग भएका बेला बचत फिर्ता गर्नुपर्ने अवस्थाका कारण ठूलो रकम तरलतामा राख्नुपरेको उनले बताए ।

सहकारी क्षेत्रका लागि पछिल्लो समय राज्यस्तरबाट नियमन तथा संस्थागत संरचना निर्माणमा बढेको चासोले क्षेत्रलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने बताए ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण, ऋण असुली न्यायाधिकरण र कर्जा सूचना केन्द्रलगायत संरचना गठन हुँदै जानुले सहकारी संस्थाको स्थायित्व र सुशासन बलियो बन्ने उनको भनाइ थियो।

वित्तीय वातावरण अझै चुनौतीपूर्ण रहे पनि नियामकीय संरचनाको विकासले सहकारी अभियानलाई सकारात्मक दिशातर्फ अघि बढाउने उनले विश्वास व्यक्त गरे ।

सगुन साकोसलाई समुदायमा उत्कृष्ट र दिगो संस्थाका रूपमा स्थापित गर्न ऐन, नियम, नियामकीय निर्देशन तथा अन्तर्राष्ट्रिय असल अभ्यासको पूर्ण पालना गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे ।

सदस्यको उद्यमशीलता विकास, प्रविधिमैत्री सेवा, वित्तीय साक्षरता, सहकारी शिक्षा, नेतृत्व विकास तथा शिक्षा–स्वास्थ्यसम्बन्धी जागरणलाई प्राथमिकता दिँदै संस्था अघि बढ्ने उनले बताए।

साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, नियामकीय परिपालना, स्थिरीकरण कोष तथा स्तरीकरण कार्यक्रमहरूमा निरन्तर आबद्ध हुँदै बलियो जगेडा कोषसहित सामाजिक उत्तरदायित्व बोकेको दिगो सहकारी निर्माणमा संस्था केन्द्रित रहेको उनले उल्लेख गरे ।

त्यसैगरी ऋण उपसमितिको प्रतिवेदन रामप्रसाद घिमिरे, संस्थाको वार्षिक समीक्षा सचिव विनोद कार्की, वित्तीय विवरण तथा बजेट व्यवस्थापक रविन्द्र राना, नीति तथा कार्ययोजना उपाध्यक्ष राजकुमार उप्रेती र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक जयशंकर सिंहले प्रस्तुत गरेका थिए ।

संस्थाले असार मसान्तसम्म शेयरपुँजी १५ करोड २३ लाख, बचत संकलन १ अर्ब ५० करोड ३३ लाख, ऋण लगानी १ अर्ब १५ करोड ७९ लाख रकम लगानी गरेको छ। त्यस अवधिमा संस्थाको नाफा २ करोड ५८ लाख ५२ हजार रहेको ।

सभाले सदस्यलाई ६.१६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। त्यस्तै, संरक्षित पुँजी फिर्ता कोषअन्तर्गत रकम फिर्ता गर्ने प्रस्ताव पारित भएको संस्थाले जनाएको छ । साधारणसभाले संस्थाका १५ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।



Leave a comment