हाइलाइट

किसान बहुउद्देश्यीय सहकारी र ओमकृष्ण अस्पताल बीच सम्झौता  

किसान बहुउद्देश्यीय सहकारी र ओमकृष्ण अस्पताल बीच सम्झौता   :: Sahakari Akhabar

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था र टीकापुर नगरपालिकाको ओम कृष्ण अस्पताल बिच सम्झौता भउको छ । दुवै संस्थाबीच स्वास्थ्य सेवा तथा सहुलियत प्रदान सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो ।

‘स्वस्थ सदस्य, समृद्ध समुदाय’ भन्ने अभिप्रायका साथ एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा औपचारिक हस्ताक्षर गरिएको हो । यस सम्झौतासँगै कैलालीको लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका एकाघरका आश्रित परिवारजन प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।

सम्झौता–पत्रमा हस्ताक्षर पश्चात् सम्झौताको पूर्ण कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्याय (बजगाई) ले समुदायमा आधारित सहकारीका सदस्यहरूलाई सहुलियत दरमा गुणस्तरीय सेवा दिन पाउँदा खुसी व्यक्त गरे । संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले आफ्ना सदस्यहरूलाई वित्तीय कारोबारका अलावा सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा समेत प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरिएको बताए ।

उनले सम्झौताबाट प्राप्त हुने स्वास्थ्य सहुलियतको भरपुर लाभ उठाउन सम्पूर्ण सदस्य तथा तिनका परिवारलाई आग्रह समेत गरेका छन् । सम्झौता अनुसार दुई संस्थाको संयुक्त पहलमा समुदायस्तरमै निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याण तथा विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने भएको छ ।

उपचारमा १० देखि २० प्रतिशतसम्म छुट

सम्झौता अनुसार सहकारीका सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओम कृष्ण अस्पतालबाट सेवा लिँदा न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् । अस्पतालले बिरामी भर्ना (जनरल बेड तथा क्याबिन), आइसियू, एनआइसियू विभिन्न प्रकारका जटिल तथा सामान्य शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिद गर्दा तोकिएको सहुलियत छुट उपलब्ध गराउनेछ ।

यसैगरी ओपिडी दर्ता तथा एमबिबिएस चिकित्सक परामर्श शुल्क अधिकतम १५० मात्र कायम गरिएको छ भने नियमित फलो–अप परामर्श पूर्ण रूपमा निःशुल्क रहने व्यवस्था मिलाइएको छ । यो सहुलियत सुविधा उपभोग गर्नका लागि सेवाग्राहीले अस्पतालको शुल्क भुक्तानी गर्नुअघि किसान सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्नेछ ।



Leave a comment