काठमाडौं । कामनपा २२ काठमाडौंमा रहेको प्रणामी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यको संयुक्त योगदानबाट उक्त रकम उद्धार कोषमा सहयोग गरेको जनाएको छ। यसैगरी संस्थाले सम्पूर्ण सहकारी संघ संस्थाहरूलाई आफ्नो आर्थिक क्षमता तथा सामथ्र्य अनुसार प्रकोप उद्धार कोषमा सहयोग गरिदिनुहुन अपिल पनि गरेको छ ।
सहकारी केवल आर्थिक कारोबारमा मात्र सिमित रहने सस्था नभएर दुःखमा साथ दिने, पिडामा हात थाम्ने र समाज प्रतिको दायित्व निर्वाह गर्ने साझा परिवार पनि भएकोले यही भावनालाई आत्मसाथ गर्दै विपद् पीडित परिवारको राहत र पुनःस्थापनाकालागि साथ सहयोग र ऐक्यबद्धता ब्यक्त गरेको जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय क्षति, धनजनको अकल्पनीय नोक्सानी, भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति संस्था मर्माहत भएको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Leave a comment