किन दुख्यो ! साना किसानको ‘चित्त’

किन दुख्यो ! साना किसानको ‘चित्त’ :: Sahakari Akhabar

बास्तविकता नहेरी सबै सहकारीलाई एउटै हुन भन्नु, दुखको कुरा हो, हाम्रो मनोबल गिराउने कुरा हो । राज्यले अर्थतन्त्रको दरिलो खम्बाका रुपमा यदी सहकारीलाई लिएको हो भने, त्यो कृषि सहकारीको आडमा भनेको हो र कृषि सहकारीले नै त्यो मर्म थेगेका छन् । हामी प्रमाणित गर्न सक्छौं ।’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले उद्योग तथा व्यवसाय गर्नका लागि ग्राहकलाई ऋण लगानी गर्छन् । त्यसका लागि सर्वसाधारणले पेश गरेको व्यवसायिक योजना अनुसार घरजग्गालगायत सम्पति दृष्टिबन्धक गरेपछि पैसा त पाउँछन् तर, ऋण बाहेक अन्य कुनै सुविधाहरु भने पाउदैनन् । साना किसान कृषि सहकारी संस्थाहरु भने सदस्यहरुलाई ऋणसँगसँगै दिने अन्य सेवा तथा सुविधाहरुका कारण समाजमा अलग पहिचान स्थापित गर्न सफल भएका छन् ।

सहकारीले सदस्यलाई वित्तीय सेवासँगै शिक्षा, तालिम तथा परामर्श सेवाहरु उपलब्ध गराउछन् । जसले गर्दा सहकारीबाट ऋण लिएर साना किसानहरु उद्यमी तथा व्यवसायी बन्न थालेका छन् । पारिवारिक रुपमा निर्वाहमुखी ढंगले खेती किसानी तथा पशुपालन गर्ने साना किसानहरु बिस्तारै व्यवसायीक बन्न थालेका छन् ।

आधुनिक तथा सुधारिएको गोठ र खोर निर्माण गरी पशुपालन, बाख्रापालन, कुखुरापालन, माहुरी पालनगर्ने र टनेल तथा खुल्ला रुपमा आधुनिक प्रविधिहरुको प्रयोग गरी खाद्य बाली, तरकारीलगायतका खेती गर्नेहरुको संख्या बढिरहेको छ । यसरी किसानहरुलाई व्यवसायीक रुपमा डोर्याउन सफल सहकारी संस्थाको रुपमा स्थापित भएको छ, साना किसान कृषि सहकारी संस्था पिप्ले, चितवन ।

साना किसान विकास आयोजनाको रुपमा तत्कालिन पिप्ले चितवनमा २०५२ सालमा संस्था स्थापना भएको थियो । साविक पिप्लेको ३ वटा वडाका सदस्यमाझ सेवा दिंदैआएको संस्थाले हाल राप्ती नगरपालिका २ चितवनमा आफ्नै भवनबाट सेवा दिदै आएको छ।

विषेशत भूमीहिन, कमआए भएका र किसान सदस्यहरुलाई उनीहरुको अर्थिक सवलिकरणका लागि संस्थाले योगदान गर्नेगरेको छ। उनीहरुलाई शिक्षा स्वरोजगारमूलक तालिम दिएर आर्जन गर्न र बचत गर्न सिकाउने गरेको छ । संगसंगै सदस्यको आवश्यकता पहिचान गरी सेवा प्रदानगर्ने गरेको संस्थाका अध्यक्ष कृष्णबहादुर गुरुङ बताउँछन् ।

उनी भन्छन्, ‘सदस्यको आवश्यकता आर्थिक हो भने उसलाई बचत ऋणको सेवा दिन्छौं, सदस्यको आवश्यकता शिक्षा तालिम हो भने उसलाई शिक्षा तालिम दिएर स्वरोजगार बनाउन लगानी गरिदिन्छौं । उसको आवश्यकता कृषिसंग सम्वन्धित हो भने यसमा पनि कृषि औजारदेखि मल बीउबिजन, औषधीलगायतका सेवा दिन्छौं ।’

स्थापना कालदेखि नै संस्थाले सदस्यको आर्थिक सबलिकरणकालागि लागिपरेर सदस्यको हैसियत धेरै माथि पुगिसकेको अध्यक्ष गुरुङको दाबी छ । ‘दुईछाक जुटाउन मुस्किल हुने सदस्यहरुले आज देशविदेशमा आफ्ना सन्तानलाई पढ्न पठाउने, पिल्लरवाला घर बनाउने, घरमा रंगिन टेलिभिजन राख्ने र मासिक एकलाख सम्म कमाउनसक्ने हैसियत बनाएका छन् ।’ अध्यक्ष गुरुङले भने ।

नीति विधिमा रहेर संचालन हुने सहकारीमा साना किसान सहकारी नै भएको र न्यून आए भएका मानिसहरुको लागि यो संस्था बरदान भएको संस्थाका उपाध्यक्ष मेघनाथ लामिछाने बताउँछन् । एउटा साधारण सदस्य कृषकलाई निर्वाहमूखि होस वा ब्यवसायिक रुपमा कामगर्न आवश्यक पर्ने सबैकुरा यस संस्थाले ब्यवस्था गरिदिने उनको भनाइ छ । धेरैका लागि साना किसान सहकारी उसको जिवनको ठूलो भरोषा भएको उपाध्यक्ष लामिछानेको भनाइ छ ।

सदस्यलाई कर्जासँगै सिप, प्रविधि र प्रोत्साहन

संस्थाले सदस्यलाई बचत ऋणका अलवा कृषिलाई प्राथमिकता दिएर लगानी गरिरहेको छ । सदस्यले ब्यवसायिक रुपमा गरेको पशुपालन, खाद्यान्न तथा तरकारी उत्पादनका लागि आवश्यक पर्ने कृषि औजार, मल, बीउबिजन, औषधीलगायत सिप विकास तालिम पनि उपलब्ध गराउँदैआएको छ ।

साना किसान सदस्यहरुलाई सहकारीमा आवद्ध गराउदै उनीहरुको आर्थिक तथा सामाजिक विकासमा क्रियाशिल रहेको सहकारीले सदस्यहरुलाई ऋण मात्र लगानी गर्दैन । ऋण लगानीको अतिरिक्त सदस्यहरुलाई व्यवसायीक रुपमा कृषिका लागि अन्य सेवाहरु पनि दिदै आएको छ । सहुलियत मूल्यमा प्रविधि, कृषि औजार, बीउबीजन, मलखाद, विषादी पनि सदस्यलाई उपलब्ध गराउँदै आएको छ।

संस्थाको पनि ब्यवसाय

संस्थाले पनि सदस्यहरुको हितलाई ध्यानमा राखि कृषि कर्म गरेको छ । संस्थाले ब्यवसायिक रुपमै माहुरी पालन गरेर बीउ माहुरी उत्पादन गरी सदस्यलाई बितरण गर्छ । लगभग दुईसय घार महुरी पालन गरेको छ र त्यसबाट उत्पादन भएको मह बजारमा बेचेर संस्थालाई आम्दानी गर्छ । सदस्यलाई माहुरीको घार पनि बितरण गर्छ । तोरी मिल संचालन गरेको छ।

जसमा कृषक सदस्यहरुले उत्पादन गरेको तोरी संस्थाले ब्यापारीले दिने मूल्यभन्दा पाँचसय रुपैंयाँ प्रति क्वीन्टल बढी मूल्यमा खरिद गरेर तेल पेलेर उपभोक्तालाई बजार मूल्यभन्दा पचास रुपैंयाँ सस्तोमा बिक्री गर्दैआएको छ । साथै संस्थाले विभिन्न जिल्लाका साना किसान कृषि सहकारीका सदस्यले उत्पादन गरेको चियापत्तिलगायतका सामाग्री खरिद गरेर संस्थाबाट बिक्री गरिरहेको छ।

देशभरीमा साना किसान सहकारीका सदस्यले उत्पादन गरेको बस्तुहरु संकलन गरेर बिक्रीका लागि कोसेली घर निर्माण गर्दैछ, आगामी बैशाख एक गतेदेखि उक्त कोशेली घर संचालनमा आउँने अध्यक्ष गुरुङ बताउँछन् ।

संस्थाको गर्भिलो परियोजना

संस्थाका सदस्यले गरेको सबै ब्यवसाय गर्भिला छन् । अहिले संस्थाले राष्ट्रिय कृषि परियोना संग लागत साझेदारीमा कृषक सदस्यहरुको ८० बिगाह खेतलाई एकमुष्ठ सामुहिक खेती गर्न तयारी गरिरहेको छ । त्यसमध्ये ३० बिगाह खेतमा संस्थाले नै धान रोपिदिने र ५० बिगाह खेतमा धानको बीउ उत्पादनको तयारी गरिरहेको छ।

त्यसपछि सदस्यहरुको ब्यवसायको तथ्याङ्क संकलन गरेर ब्यवसाय बृद्धिका लागि कस्तो सहयोग आवश्यक हुन्छ, त्यसअनुसार लगानी गरी सदस्यको आर्थिक अवस्था बृद्धि गर्ने तयारी गरेको अध्यक्ष गुरुङले जनाए । सदस्यलाई आधुनिक खेतिकालागि धान रोप्ने मेशिन उपलब्ध गराएको छ । सहकारी राइस मिल पनि स्थापना गर्दैछ, त्यसमा सदस्यले उत्पादन गरेको धान ज्यालामा भुसमात्र लिएर निशुल्क कुटानी पिसानी गरिदिने तयारी गरिरहेको उनले जनाए ।

देशभर रहेका झण्डै १३ सय भन्दा बढी साना किसान कृषि सहकारीहरुले बचत ऋणको झमेला भोग्नु नपरेको र बचत ऋण सहकारीमा जस्तो समस्या नआउने उनले बताए । उनले भने, ‘आजका मितिसम्म बचत ऋणको विषयमा आरोप झेल्नुपरेको छैन । हामीमा त्यो बिचलनको समस्या पनि छैन् ।

चाहे त्यो कोभिडको बेला होस् वा देशमा आएको आर्थिक मन्दीका बेला किन नहोस हामी जहिल्यौ नीति र बिधिमा छौं रहन्छौं पनि ।’ उनले साना किसान कृषि सहकारी र सदस्यले गरेको कामको फिल्ड अनुगमनको लागि सरोकारवालाहरुलाई आग्रह गर्दै भने, ‘म छाती ठोकेर भन्नसक्छु की त्यस्ता समस्या हामीकहाँ छैनन् पनि र आउदैनन् पनि, अन्य सहकारीले गरेको ब्यवहारले गर्दा सरोकारवालाहरुले सबै सहकारी एउटै हुन् भनेर भनिदिंदा हाम्रो चित्त दुखेको छ । हामी बचत ऋण सहकारी हैनौं, हामी कृषि सहकारी नै हौं । प्रमाणित गर्नसक्छु ।’

पहिलो प्राथमिकता कृषि र कृषि क्षेत्र भएकोले संस्थाले सदस्यको कृषिकर्मलाई प्राथमिकतामा राखेर सहुलियतमा लगानी गर्ने गरेको, सदस्यहरुले आफ्नो ब्यवसायबाट गरेको आम्दानी संस्थामा गर्नेगरेको बचतलाई हेरेर बचत ऋणमा सिमित भए भन्नु गलत रहेको उनको तर्क छ । संस्थाका सदस्यले बचत गर्न पाउनुपर्ने र संस्थाले सदस्यलाई लगानी गर्न पाउनुपर्ने सहकारी सिद्धान्तलाई बचत ऋणमा सिमित भए भन्न नहुने उनको भनाइ छ ।

साना किसान कृषि सहकारीको पिडा

साना किसान कृषि सहकारीले निस्वार्थ कृषक सदस्यको कृषि कर्मकालागि काम गरे पनि बचत ऋणको मात्र कारोबारको आरोप लगाउँदा चित्त दुखेको अध्यक्ष गुरुङको गुनाँसो छ । उनी भन्छन्, ‘अरु सहकारी र कृषि सहकारीको बीचमा आकाश जमिनको भिन्नता छ।

बास्तविकता नहेरी सबै सहकारीलाई एउटै हुन भन्नु, दुखको कुरा हो, हाम्रो मनोबल गिराउने कुरा हो । राज्यले अर्थतन्त्रको दरिलो खम्बाका रुपमा यदी सहकारीलाई लिएको हो भने, त्यो कृषि सहकारीको आडमा भनेको हो र कृषि सहकारीले नै त्यो मर्म थेगेका छन् । हामी प्रमाणित गर्न सक्छौं ।’

सदस्यले उत्पादन गरेको धान, मकै गहुँ, तोरीलगायतका खाद्य बालिको राज्यले समर्थन मूल्य तोकिदिएपनि ब्यापारीले किसानलाई समर्थन मूल्य नदिएको र समर्थन मूल्यको निकै कम मूल्यमा किसानले बिक्री गर्नुपरेको उनले गुनासो गरे ।

त्यसको नियमन राज्यले गरेदेखि किसान मारमा नपर्ने उनले बताए । सहकारीका सदस्यले उत्पादन गरेको दूधको मूल्य पाउँदैन, तरकारीहरु निश्चित बजारको अभावले कम मूल्यमा बेच्नुपर्ने नत्र खेरफाल्नुपर्ने अवस्था छ, उनले भने ।

उत्पादनकालागि चितवन धेरै सम्भावना भएको क्षेत्र भएपनि राज्यको समर्थन मूल्य लागु नहुँदा मनलाग्दी बजार रहेको बताए । सहकारी मार्फत धेरै कुरामा आत्मनिर्भर मात्र नभएर निर्यात समेत गर्नसक्ने क्षमता भएकोले राज्यको साथ चाहिएको बताए ।

सदस्यको ब्यवसाय

संस्थाबाट ऋण लिएर सदस्यहरुले विषेशगरी कृषि तथा पशुपालन ब्यवसाय गरिरहेका छन् । संस्थाका सदस्यले ब्यवसायिक रुपमा तरकारी खेति, केरा खेति, गाई, भैंसी, कुखुरा पालन, माछा तथा माहुरी पालन गरेर बर्षको १५ लाखसम्म पनि आम्दानी गरेको सदस्यहरुले बताए ।

पिप्लेका किसान राधिका खुलालले संस्थाबाट ५लाख ऋण लिएर २२ कठ्ठा जग्गामा गोलभेडा तथा सिमीखेति गरिरहेकी छन् । उनको ब्यवसायलाई श्रीमान प्रेमबहादुर खुलालले सघाएका छन् । ब्यवसायिक तरकारी खेति गरीरहेका खुलाल दम्पतिले यो वर्ष उनले तरकारी खेतिबाटै ८ लाख जति आम्दानी गरेका छन् । उनिहरु थप साढे ६ कठ्ठा जग्गामा खर्बुजा खेति गर्ने तयारी पनि गरेका छन् ।

त्यसैगरी सदस्य हरि सुवेदीले ०७६ सालबाट बाख्रापालन ब्यवसाय सुरु गरेका हुन् । मकवानपुरबाट बसाइसराइ गरेर चितवन आएका सुवेदिले ४ वटा बाख्राबाट सुरु गरेको ब्यवसाय अहिले साना ठूला गरेर ५३ वटा भइसेका छन् ।

ब्यापारी खसी बोका किन्न घरमै आउने र कहिलेकाँही हेटौडा बजारसम्म पुर्याएर पनि बिक्री गर्ने उनी बताउँछन् । पहिला उनकी जाहान मिठु सुवेदी संस्थाको सदस्य रहेकी थिइन । जाहान बितेपछि अहिले संस्थामा बुहारी सदस्य रहेको उनले बताए । संस्थाबाट बाख्रापालनका लागि २ लाख ऋण लिएको उनले बताए ।

अर्का सदस्य नरबहादुर राईले संस्थाबाट ऋण लिएर ब्यवस्थित गोठ बनाएर हाेलिस्टेन र जर्सीजातका ७ वटा गाई पालेका छन् । उनले दैनिक ४० लिटर दूध बेच्दैआएका छन् । ७० हजारदेखि डेढलाखसम्म मूल्य पर्ने गाई पालेका राइ सहकारीले आवश्यक पर्दा कृषिकालागि तरकारी खेति गर्न ऋणका साथै मल बीउ बिजन पनि सहयोग गर्ने बताउँछन् ।

राप्ती ३ कै सदस्य यमबहादुर खनालले संस्थासंग ऋण लिएर कुखुरा पालन ब्यवसाय गरेका छन् । उनले यो ब्यवसाय सुरु गरेको ९ वर्ष भयो । अहिले उनको खोरमा ३ हजार चल्ला हुर्काउँदै छन् । संस्थाबाट १५ लाख ऋणलिएर सुरु गरेको भएपनि यतिखेत संस्थाको ऋण तिरिसकेको बताए ।

राम्रो हुँदा १५ सय कुखुराबाटै एक लटमा ६ लाखसम्म फाइदा हुने उनी बताउँछन् । उनी साना किसानबाट नै यस्ता ब्यवसायका लागि बिमा, औषधी, भेटनरी सेवा, दाना चोकर र मूल्यको ब्यवस्था गरिदिए राम्रो हुने बताउँछन् ।

त्यसैगरी सदस्य डिल्लीराम राईले गाई भैंसि पालन गरेका छन् । ५ वर्षदेखि सुरु गरेको ब्यवसायकालागि उनले सुधारिएको गोठ बनाएका छन् । ३ वटा भैंसी र ५ वटा गाई पालन गरेर दैनिक एकसय लिटर दूध बेचिरहेका छन् । साथै उनले माहुरी पालन पनि गरेका छन् । उनले यी ब्यवसायकालागि संस्थाबाट ३२ लाख ऋण लिएका थिए । दूध ब्यवसाय र माहुरी पालन ब्यवसाय दुवैबाट राम्रो आम्दानी गरिरहेको उनले जनाए ।

संस्थाबाट सहुलियतको ऋण लिएर राप्ती ३ मा गुरुङ कृषि फार्म संचालन गरेकी अञ्जना गुरुङ पनि साना किसानको सेवाबाट प्रभावित बनेकी छन् । ११ कठ्ठा क्षेत्रफलमा फैलिएको उनको फार्ममा हाँस, कुखुरा, माहुरी तथा माछा पालन गरेकी छन् । संगै केरा खेति पनि गरेकी छन् । एक बिगाह १० कठ्ठामा पोखरी निर्माण गरी माछा पालन गरेकी उनले वर्षको १२ लाख जती माछा ब्यपारबाट आम्दानी हुने बताउँछिन ।

त्यसैगरी भैसिपालन ब्यवसाय गरेकी सदस्य मायादेवि तामाङको गोठमा ६ वटा लैना भैंसी छन् । संगै ६ वटा साना पाडापाडी पनि छन् । दैनिक ५० लिटर दूध बेरिचरहेकी उनी सहकारीबाट ५ लाख ऋण लिएर ब्यवसाय सुरु गरेको बताउँछिन् ।

सदस्य कृष्णप्रसाद पाठकको ब्यवसाय चाही फरक छ । उनले राप्ती नगरपालिका ३ मा शान्ति स्पेशल फुड उद्योग संचालन गरेका छन् । गत असारदेखि उत्पादन सुरु गरेका पाठक यसअघि स्थानिय दुग्ध सहकारीमा जागिरे थिए ।

१५ वर्ष खाएको जागिर छाडेर आफ्नै दाजुसंगको साझेदारीमा बेकरी उद्योग खोलेका उनले सहकारी बाट २० लाख ऋण लिएका छन् । १६ जनालाई रोजगारी दिएको उनको उद्योगबाट पाउरोटी, केक, बिस्कुट उत्पादन हुन्छ । साना किसान सहकारीले सदस्यको ब्यवसाय हेरेर कम ब्याजदरमा लगानी र दायरा बढाउनुपर्ने उनको सुझाव छ।

साना किसान कृषि सहकारी संस्थाहरुको भूमिकाका कारण यो मोडललाई सरकारले समेत विश्वास गरेको छ । साना किसान सहकारीहरुले तल्लो तहका किसान सदस्यहरुको आर्थिक विकासमा काम गर्दै आएकोले साना किसान मोडललाई सबैभन्दा विश्वास मानेर सरकारले पनि सहयोग गर्दै आएको हो ।

सरकारले कृषिको विकासका लागि अनुदानका कार्यक्रम संचालन गर्दै आएको र यसभन्दा पनि सहुलियत ब्याजदरमा ऋण दिनुपर्ने र उत्पादनको आधारमा अनुदान दिने हो भने अझै प्रभावकारी हुने साना किसानकर्मीको भनाइ छ।

संस्थाको वित्तिय अवस्था

संस्थाले सदस्य माझ वित्तिय कारोबार पनि गर्दैआएको छ । २ हजार ३०१ जना कूल सदस्य रहेको संस्थामा १ हजार १५५ जना ऋणी सदस्य रहेका छन् । ४५ करोड ६ लाख ५६ हजार १३३ रुपैंयाँ लगानी गरेको संस्थाले अधिक लगानी कृषि तर्फ रहेको संस्थाका मुख्य प्रवन्धक चन्द्रप्रसाद ओली बताउँछन् ।

३ करोड १३ लाख ८३ हजार ६६ रुपैंयाँ सेयर पूँजी रहेको संस्थाको जगेडा कोषमा ५ करोड २४ लाख ८ हजार ९०९ रुपैंयाँ तथा ४७ लाख ३२ हजार ८६१ रुपैंयाँ अन्य कोषमा रहेको जनाइएको छ । त्यसैगरी ४८ करोड ८९ लाख ७२ हजार ६८८ रुपैंयाँ बचत तथा १० लाख बाह्य ऋण रहेको छ । संस्थागत पूँजी ८ करोड ७७ लाख ७२ हजार ५२० रुपैंयाँ रहेको संस्थाको ६७ करोड ७२ लाख ६० हजार १०६ रुपैंयाँ कूल सम्पति त्यसैगरी ३९१ वटा समुह रहेको मुख्य प्रवन्धक ओलीले जानकारी दिए ।



Leave a comment