हाइलाइट

भक्तपुर जिल्ला बचत संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला बचत संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २९ गते भक्तपुर बैंक्वेटमा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा सम्पन्न सभाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्तब्य राखेका थिए ।

सभामा अध्यक्ष ढकालले सहकारी सघ संस्थाहरुले सुशासन कायम गरेमा सहकारीका धेरै समस्याहरु समाधान हुने बताए  । उनले प्रारम्भिक संस्थाले कारोबार गर्न बचत तथा ऋण सहकारी संघ आबश्यकता रहेको बताए । बचत तथा ऋण सहकारीमा शुद्धिकरण आवश्यक रहेको तर कारोबार नै गर्न नदिनेगरी नियन्त्रण गर्न नमिल्ने उनले बताए ।

संघका अध्यक्ष लाखाजुले सहकारीको विकल्प सहकारी बैंङ्क तथा वित्तीय संस्था नभएर सहकारी नै रहेको बताए । उनले समुदाय केन्द्रीत र सहकारी मूल्य मान्यता र सिद्धान्त बमोजिम सञ्चालित सहकारी सङ्घ संस्थाहरुमा परिस्थितिवस केहि समस्या भएतापनि जटिल समस्या नरेको बताए ।

उनले विषम परिस्थितिमा सदस्य तथा समाजमा सेवा पुर्याइरहेका सहकारी सङ्घ संस्थाहरुलाई संकुचनमा ल्याउन र जिल्ला बचत सङ्घ लगायत सहकारी सङघहरुलाई आफ्नो सदस्य संस्थाहरुबीचको वित्तीय कारोवारलाई रोक लगाउने खालका मापदण्ड र निर्देशनहरु जारी भएकोमा विरोध जनाउदै आएको कुरा बताए ।

संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघ स्थापनाको मर्म बमोजिम संघले कार्य गर्दै आएको बताए । संघका उपाध्यक्ष हरीकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै नियमनकारी निकायको बहु निर्देशनको चपेटामा सहकारी संघ संस्थाहरु रहेको बताए।

संघका सचिव जगनाथ प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लामो समयदेखि स्वायतता र स्वनियमको नाममा एकलौटी व्यवसाय भैंm सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूले जनताको निक्षेप फिर्ता नदिई भाग्ने प्रवृति अझै रोक्न नसकेको बताए ।

उनले पेश गरेका आव २०८१ / ०८२ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८२ / ०८३ मा २८ लाखको प्रस्तावित कार्यक्रमहरु साधारण सभाले पारित गरेको थियो ।

संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आर्थिक प्रगति प्रदिवेदन पेश गर्दै बचत तथा ऋण सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढेको बताए ।

उनले सहकारी संघ संस्थामा तरलता बढदै गएको तर ऋण मागका कमिका कारण ऋण लगानी घट्दै जाने अवस्थाले सहकारी संचालनमा सकस थप्दै गएको बताए ।

उनले सभामा पेश गरेको आव २०८१ / ०८२ को वासलात ३ अर्ब १२ करोड, आय १ करोड ७ लाख सहितको आर्थिक प्रगति प्रतिवेदन र आव २०८२ / ०८३ को वासलात ३ तीन अर्ब १५ करोडको अनुमानित बजेट सभाले पारित गरेको थियो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०८१ / ०८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्दै मौजुदा सहकारी ऐन, कानुन र निर्देशनका आधारमा संघको कारोबारलाई सिमिततामा ल्याउँदा अझ घट्ने भएकोले संघ सबलिकरणका कार्यक्रम तथा योजना ल्याउनुपर्ने बताए ।

सभाले शेयर लाभांश कोषबाट ४.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सहकारी ऐन नियमावली अनुसार संरक्षित पुँजी फिर्ता कोष फिर्ता गर्ने प्रस्ताव समेत पारित गरेको थियो । सभामा २०३ सदस्य संस्थामध्येबाट १७७ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।



Leave a comment