हाइलाइट

पोखरा नियमन क्षेत्राधिकारका ३२४ सहकारी निष्क्रिय 

पोखरा नियमन क्षेत्राधिकारका ३२४ सहकारी निष्क्रिय  :: Sahakari Akhabar

काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकारका ३२४ सहकारी निष्क्रिय रहेको पाइएको छ । यस कार्यालयको नियमन क्षेत्र भित्र ९०४ वटा सहकारी संघ संस्था रहेपनि ५८० वटा सहकारी मात्र अद्यावधिक भएका छन् । कार्यालयले चालु आर्थिक वर्षमा २९ वटा सहकारी संस्थाको नियमन अनुगमन गरी सुधारका लागि निर्देशन दिइसकेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए ।

उनले भदौ १५ गते सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा एकदिने सहकारी अभिमुखीकरण गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । अभिमुखीकरण गोष्ठीको समन्वय शुक्लागण्डकी नगरपालिका र जिल्ला सहकारी संघ, तनहुँले गरेका थिए ।

अभिमुखीकरण गोष्ठीका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कार्यक्रमको उद्घाटन गर्दै सहकारी संस्थामा ऋण लगानी, ऋण असुली, धितो लिलाम, तरलता व्यवस्थापन जस्ता विविध पक्षमा चुनौती बढिरहेको बताए ।

उनले नगरपालिकाले सहकारी क्षेत्रको प्रवर्धन र सहयोगमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो सहकारी कसरी राम्रो बनाउने भन्ने विषयमा सम्बन्धित सहकारीका सञ्चालक लगायतका पदाधिकारी लाग्नुपर्ने धारणा राखे ।

जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बानियाले नियमनकारी निकायले पनि राम्ररी नियमन अनुगमन गर्नुपर्ने र सहकारीलाई निर्देशन दिई सुधार र सुदृढीकरण गर्न जरुरी रहेको बताए । गोष्ठीमा तनहुँ जिल्लाका शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाका विभिन्न सहकारी संस्थाका १०४ जना पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

रजिष्ट्रार रिजाल, शाखा अधिकृत चोलाकान्त वाग्ले र शुक्लागण्डकी नगरपालिकाको सहकारी हेर्ने शाखा प्रमुख सन्तोष पण्डितले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्यले गरेका थिए भने व्यवस्थापकीय सहजीकरण महेश पौडेल र सूर्य तिवारीले गरेका थिए ।

गोष्ठीमा सहकारी सम्बन्धी केही ऐन कानुन र नियामकीय मापदण्ड, सम्पत्ति शुद्धीकरण र शुक्लागण्डकीमा सहकारीको अवस्था विषयमा कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । यो अन्तक्र्रिया अभिमुखीकरण गोष्ठी चालु आर्थिक वर्षको पहिलो कार्यक्रम भएको सूचना अधिकारी चोलाकान्त वाग्लले जानकारी दिए ।



Leave a comment