हाम्रो जनकल्याण साकोसका सदस्यलाई कफी खेतिको तालिमसंगै बिरुवा बितरण

हाम्रो जनकल्याण साकोसका सदस्यलाई कफी खेतिको तालिमसंगै बिरुवा बितरण :: Sahakari Akhabar

काठमाडौं । दोलखाको चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले कफी पकेट क्षेत्र तयार गरेको छ । बचत तथा ऋण परिचालनमार्फत आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणमा कार्य गर्दै आइरहेको संस्थाले सदस्यलाई उद्यमी बनाउने उद्देश्यले कफी पकेट क्षेत्र तयार गरेको हो । भीमेश्वर नगरपालिका ५ को कातिके, विरुवा, घोक्सिला र किराँतीछाप क्षेत्रमा व्यावसायिक कफी खेती विस्तारका लागि सदस्यहरुको सहभागितामा किराँतेश्वर अर्गानिक कफी समूह निर्माण गरेको छ ।

संस्थाले उक्त कफी समूहलाई भीमेश्वर नगरपालिका तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको प्राविधिक सहयोगमा कफी खेती सम्बन्धी आधारभूत तालिम समेत प्रदान गरेको छ । समुहले पहिलो चरणमा १४ रोपनी जग्गामा व्यावसायिक खेती गर्ने उद्देश्यले सहकारीको ५० प्रतिशत अनुदानमा किसानहरुलाई १५०० वटा कफीको विरुवा वितरण गरिएको छ ।

किसानहरुलाई कफीको विरुवा वितरण गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानान्धरले कफीको व्यावासायिक खेती र बजारीकरणका लागि नगरपालिका सहयोग गर्न तयार भएको भन्दै परम्परागतभन्दा आधुनिक र व्यावसायिक खेतीका लागि केही ठूलो परिमाणमा खेती गर्न किसानहरु तयार हुनुपर्ने बताए ।

उनले पर्यटकहरुको आकर्षण बनेको दोलखाको विभिन्न स्थानहरुमा आफ्नै जिल्लामा उत्पादन भएको कफीले स्वागत गर्न पाउनु हाम्रो गर्वको विषय हुने उनको भनाइ थियो । उनले सहकारीले सदस्यहरुलाई उद्यमी र व्यावसायिक बनाउने कार्यको थालनी आफैमा उदाहरणीय भएको बताए ।

किसानहरुलाई प्राविधिक तथा गुणस्तरीय उत्पादनमा वडाले समेत सहयोग गर्ने भन्दै भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठले वडाको पहिचानका रुपमा कफीलाई विस्तार गर्न प्रदेश तथा संघीय सरकारलाई समेत आग्रह गर्ने बताए ।

सहकारीका अध्यक्ष राजन श्रेष्ठले वार्षिक योजनामा नै कम्तिमा २० जना उद्यमी बनाउने संस्थाको योजना अनुसार फरक फरक क्षेत्रमा सहयोग गर्दै आएकोले कफी खेतीमा आवद्ध शेयर सदस्यहरुका लागि आगामी दिनमा पनि क्षमता विकास तथा बजारीकरणमा सहजीकरण गर्ने बताए ।

किराँतेश्वर अर्गानिक कफी समूहका अध्यक्ष रामशरण बुढाथोकीले सहकारी तथा सरकारले गर्ने सहयोगलाई उत्प्रेरणाका रुपमा लिई व्यावसायिक खेतीका लागि सबै सदस्यलाई तयार गर्ने र कफी क्षेत्र विस्तार गर्ने बताए । सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले कार्य क्षेत्रलाई विभिन्न पकेट क्षेत्रका रुपमा वर्गीकरण गरी आवश्यकता अनुसार सीपयुक्त तालिम, सहुलियत दरको ऋण लगानी तथा उत्पादनको बजारीकरणमा संस्थाले सहयोग गर्दै आएको जानकारी दिए ।

उनले कफी उत्पादनमा दोलखालाई आत्मनिर्भर बनाउन सहकारीका सदस्यको भूमिका महत्वपूर्ण बनाउनका लागि स्थानीय सरकारसँगको साझेदारीमा बहुवर्षीय नगदेवालीका रुपमा कफीलाई प्रोत्साहन गर्ने योजना निर्माण गरेको बताए ।



Leave a comment