काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा सहकारी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयक एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । जेठ २९ गते सम्पन्न गोष्ठीको चापाकोट नगरपालिका र जिल्ला सहकारी संघ, स्याङ्जाले समन्वय गरेका थिए ।
अभिमुखीकरण गोष्ठीका प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले कार्यक्रमको उद्घाटन गर्दै प्रचलित सहकारी सम्बन्धी नियम कानुन बमोजिम सहकारी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए । नगर प्रमुख खाणले नगरपालिका क्षेत्राधिकार भित्र सहकारी क्षेत्रमा कुनै समस्या आएमा समाधानका लागि सहजीकरण गर्ने बताए ।
गोष्ठीमा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारीमा संलग्न शेयर सदस्यदेखि सञ्चालक सबै सक्रिय भएर काम गर्नुपर्ने बताए । उनले एकदुई जनाले बदमासी गरेमा संस्थाका सञ्चालक पदाधिकारी सबै जिम्मेबार हुनुपर्ने हुँदा त्यस्तो अवस्था आउन नदिन सचेत हुनुपर्ने बताए ।
चापाकोट नगरपालिका, वडा नं १ का वडाअध्यक्ष भूपराज वस्तीले सहकारी संस्था नियम कानुन र विनियम अनुसार सञ्चालन भएमा सहकारीको उद्देश्यका साथै शेयर सदस्यको आकांक्षा र आवश्यकता पूरा हुनसक्ने बताउँदै पुनस् यस्ता कार्यक्रम सञ्चालन भइरहुन् भन्ने कामना समेत गरे ।
जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले सहकारी संस्कार विकास गर्दै संस्थागत कमजोरी हटाउने, सुधार गर्ने र अगाडि बढ्ने भएकोले आत्तिने, भाग्ने र जिम्मेबारीबाट पन्छिन नहुने बताए । स्याङ्जा जिल्लाभर विभिन्न प्रकृतिका ४८४ वटा सहकारी संघ संस्था रहेकोमा निष्क्रिय सहकारीको संख्या धेरै रहेकाले अद्यावधिक गरी सञ्चालन गर्न अनुरोध गरे ।
अध्यक्ष पौडेलले नियमनकारी निकायले पनि राम्ररी नियमन अनुगमन गर्नुपर्ने र सहकारीलाई निर्देशन दिई सुधार र सुदृढीकरण गर्न जरुरी भएको बताए । सहकारी रजिष्ट्रारको कार्यालय, पोखराका रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको गोष्ठीमा स्याङ्जा जिल्लाका चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाका विभिन्न सहकारी संस्थाका ८० जना पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा रजिष्ट्रार रिजाल, शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन शाखा अधिकृत ईश्वरी ढकालले गरेकी थिइन् भने व्यवस्थापकीय सहजीकरण नायब सुब्बा सूर्य तिवारीले गरेका थिए ।
गोष्ठीमा सहकारी सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट हालै जारी भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड लगायतका विषयमा कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा केशवराज पंगेनी र हरिप्रसाद डोटेलले समेत मन्तव्य राखेका थिए ।
सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकार अन्तर्गत ९०८ वटा सहकारी संघ संस्था कायम रहेकोमा हालसम्म ५६७ वटा सहकारी संघ संस्था कार्यालयमा अद्यावधिक भएका छन् भने निष्क्रिय सहकारी ३४१ रहेका छन् ।
कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानमा १५ वटा तालिम र १९ वटा अन्तक्र्रिया अभिमुखीकरण गोष्ठी सम्पन्न गरिसकेको छ भने ९४ वटा सहकारी संस्थाको अनुगमन नियमन र ८ वटा सहकारी संस्थाको प्रारम्भिक छानबिन समेत गरिसकेको छ । चालु आर्थिक वर्षमा कार्यालयबाट भएको अनुगमन, नियमन र छानबिन पछि विभिन्न सहकारी संस्थामा करिब ५० करोडको हिनामिना रकम समेत असुलउपर भइसकेको जनाइएको छ ।
Leave a comment