हाइलाइट

डेढ दर्जन सहकारी संस्थाको दर्ता खारेज

डेढ दर्जन सहकारी संस्थाको दर्ता खारेज :: Sahakari Akhabar

विराटनगर । धनकुटा नगरपालिकाले आफु मातहतमा रहेका १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । समयमै साधारणसभा नगर्ने, समयमै लेखा परीक्षण नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेज गरेको हो । 

नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ बमोजिम हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, सोही ऐनको दफा ५४ को उपदफा १ बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने तथा दफा ५२ को उपदफा १ बमोजिम नगरपालिकामा विवरण बुझाउनु पर्नेमा ४ वर्ष बढीदेखि निश्कृय रहेका सहकारीहरु खारेजीमा परेका हुन । 

नगरपालिकाले गत साउन ३० गते एक सूचना निकाल्दै सम्पर्कका लागि निर्देशन दिएको थियो । तोकिएको समयभित्र सम्पर्कमा नआएकोले भदौ १३ गतेको निर्णय अनुसार शुक्रबारदेखि लागु हुनेगरि उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए । 

खारेज भएका १७ वटा सहकारी संस्थाहरूले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साबिकका सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गर्न पनि नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । नगरपालिकाको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरूको नामबाट कुनै पनि कारोबार नगर्न÷नगराउनु हुन समेत जानकारी गराइन्छ । ’

खारेजीमा परेका मध्ये सबैभन्दा धेरै कृषि सहकारी रहेका छन् । ९ वटा कृषि सहकारी, तीन वटा उपभोक्ता, ३ वटा बचत ऋण र एक वटा दुग्ध अनि एक वटा विद्युत सहकारी खारेजीमा परेका हुन् । 


 



Leave a comment