नेपालमा कृषकलाई मल, विउँ र पुँजी पुर्याउनका लागि सहकारीको औपचारिक सुरुवात भयो । त्यसबेलादेखि अहिलेसम्मको सरकारी नीति हेर्ने हो भने सहकारी क्षेत्र भनेकै उत्पादनमुलक काम गर्नका लागि हो, यो न्यून आय भएका, भूमिहिन, किसान, पछाडी परेका वर्गहरुले समूहमा बसेर सबैको उत्थान हुने गरी काम गर्ने विधि हो भने स्वीकार गरिएको छ । हामीले अबलम्बन गरेको सहकारी नीति–२०६९, सहकारी ऐन–२०७४ र सहकारी नियमावली–२०७५ सम्म आइपुग्दा सरकारका नीतिले आत्मसात गरेको पक्ष पनि यहि हो ।
तर, बिडम्बना हाम्रो ब्यवहार तथा बजारको यथार्थता भिन्न छ । जस्तो सिद्धान्त, नीति, ऐन, कानुनले ब्याख्या गरेको छ हाम्रा संस्थाहरु ठिक उल्टो दिशातर्फ उन्मुख छन् । सहकारी निम्न वर्गका लागि भनिएको छ, हामीकहाँ सभ्रान्त वर्गको रजगज छ । सहकारीले उत्पादन, प्रशोधन तथा बजारीकरण काम गर्नुपर्ने जोड छ, हाम्रो रुची वित्तीय कारोबारमा मात्र छ ।
सहकारी क्षेत्र आत्मनिर्भर हुनुपर्छ भनिन्छ, हामी अनुदान वा छुटका नामा परनिर्भर बन्दै छौं । नीति र ब्यवहारमा तालमेल नभएका कयौं दृष्टान्त छन्, सबैको एउटै सार भनेको हामी ठिक ढंगले अघि बढेनौं र त्यसकै कारण प्रतिफल पनि सुखद् छैन ।
यतिबेला सहकारीमा चरम तरलता अभाव छ । सदस्यको बचत फिर्ता गर्न नसकेका, भागेका, समस्याग्रस्त भएका संस्थाको सूची दिनहुँ बढ्दो क्रममा छ । कारकको रुपमा कोभिड–१९ को महामारी, विश्वव्यापी आर्थिक मन्दी, वित्तीय क्षेत्रमा तरलता अभाव वा जथाभावी रुपमा चलेका सहकारी संस्था, आवश्यक भन्दा बढी संस्था, कमजोर नियमन, ऐनमा नभएका कर्जा सूचना केन्दलगायतका व्यवस्था कार्यान्वयन नहुन भनेपनि यथार्थता हामीले स्वीकार गर्नैपर्छ ।
नेपाली समाजमा उक्क्ती छ, अति गरेपछि खति हुन्छ । समस्याको कारण जे भएपनि नेपालको सहकारी अभियानमा अहिले भएको पनि यहि हो । हामीले अति गर्यौ त्यसैले अब खति पनी भोग्नैपर्छ । तर, खति सधै नराम्रो मात्र हुदैन । समस्याले अवसर बोकेर आएको हुन्छ । त्यसैले अहिले सहकारी क्षेत्रमा देखिएको समस्यालाई पनि अवसरका रुपमा बदल्न सक्नुपर्छ ।
यो समयबाट सहकारीलाई हामीले सिद्धान्त, ऐन कानुन अनुरुप परिवर्तन गर्न सुरु गरौं । हाम्रो आवश्यक्ताको क्षेत्रमा सहकारीलाई परिचालन गरौं । तर, त्यसतर्फ अघि बढ्नुपुर्व हाल संचालनमा रहेका र जनताको अबौं रकम परिचालन भएका संस्थाहरुलाई सहज रुपमा रुपान्तरणको बाटो दिनुपर्ने जिम्मेवारी भने सरोकारवालाहरुले भुल्न मिल्दैन । अब पनि सहकारी आन्दोलन हो भन्दै, खादा माला भाषण र गोष्ठीले मात्र यसको निकास निस्कने अवस्था छैन ।
समस्या भयावह हुनुअघि नै सबै सरोकारवाला एकै ठाउमा बसेर के गर्ने निक्यौंल गरौं । सबैका लागि अनुकुल हुने गरी साझा एजेण्डा र बुझाइ तय गरौं र त्यसै अनुरुप आफुलाई अघि बढाऔं । सहकारी दिवसले हामी सबैलाई त्यसतर्फ अघि बढ्न बल प्रदान गरोस्, ६६ औं सहकारी दिवसको शुभकामना ।
Leave a comment