काठमाडौं । सहकारी संस्थाहरुमा सुशासनको प्रश्न उठिरहेका बेला सूर्यविनायक नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका संस्थाहरुको अनुगमन गर्ने भएको छ । दर्ता रहेका संस्था तथा सेवा केन्द्रहरुको अनुगमन गर्नका लागि नगरपालिकाले उपप्रमुख सरिता भट्टराईको संयोजकत्वमा अनुगमन समिति बनाएको छ ।
समितिमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेंल, आर्थिक समितिको संयोजक पुष्प राज वस्नेत, नगरपालिकाको सहकारी शाखा प्रमुखका साथै सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी वैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन), भक्तपुर जिल्ला संघ र भक्तपुर वचत तथा ऋण सहकारी संघका प्रतिनिधि रहेन गरी ११ जनाको समिति बनाइएको संयोजक भट्टराईले जानकारी दिइन् ।
‘नगरपालिकाका सबै योजना तथा कार्यक्रमहरुको अनुगमन समितिको संयोजक उपप्रमुख रहने व्यवस्था छ’ भट्टराईले भने, ‘त्यसै अनुसार सहकारीको अनुगमनका लागि पनि उपप्रमुखकै संयोजकत्वमा समिति बनेको हो ।’ संस्थाहरुमा गएर अनुगनका लागि प्राविधिक उपसमिति बनाउने र त्यसको रिपोर्टका आधारमा मात्र अनुगमन समितिले समस्याको अवस्था हेरेर सघन अनुगमन गर्ने उनले जानकारी दिइन् ।
समिति बनाउनुअघि नगरपालिकाले फागुन अन्तिममा राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधिहरुसँग अनुगमन प्रभावकारी बनाउने विषयमा छलफल गरेको थियो । सरोकारवालाहरुको राय सुझावकै आधारमा समिति निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
गत वर्ष नै नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका सहकारीहरुको बारेमा अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । यसैगरी संचालनमा रहेका संस्थाहरुलाई निर्देशन जारी गरी नगरपालिकामा सूचिकृत समेत गरेको छ ।
उपप्रमुख भट्टराईका अनुसार हाल नगरपालिकाभित्र सहकारी संस्था र सेवाकेन्द्र गरी २२३ वटा संस्थाहरु संचालनमा छन् । त्यसमध्ये २१० वटा सूचिकृत भइसकेको उनले बताइन् । संघियता कार्यान्वयनसँगै डिभिजन सहकारी कार्यालयले नगरपालिकालाई १२८ वटा संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको थियो ।
निरन्तर तालिम
यसैगरी नगरपालिकाले सहकारी संस्थाहरुलाई व्यवस्थित रुपमा संचालन गर्न र संचालक तथा सदस्यहरुको क्षमता विकासका लागि तालिम अभियान संचालन गर्ने भएको छ । नगरपालिकाको स्रोतबाट बजेट व्यवस्थापन गरी सहकारीका विभिन्न विषयहरुमा नियमित तालिम संचालन गर्ने उपप्रमुख भट्टराईले बताइन् ।
Leave a comment