बागलुङ। गण्डकी प्रदेशसभाका उप–सभामुख बिना कुमारी थापाले वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सदस्य केन्द्रीत अभियान थप प्रभावकारी बनाउन सहकारीकर्मीहरुलाई आव्हान गरेकी छन्।
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङले राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालन गरेको सवल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक एक दिने गोष्ठीको शनिवार बागलुङमा उद्घाटन पछि बोल्दै उनले सहकारी सदस्यहरुको भएको बताइन् ।
सहकारीलाई संकटमा जोगाउने जिम्मेवारी पनि सदस्यकै हो, सदस्यलाई सहकारीको समस्या र समाधानका उपायका बारेमा निरन्तर जानकारी दिन सकेमा मात्रै सहकारीलाई जोगाउन सकिन्छ, उपसभामुख थापाले भनिन्–‘सहकारीलाई सञ्चालन गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउनका लागि सदस्यको भूमिका नै सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ ।’
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अधिकृत राज कुमार बरालले सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले सहकारी अभियानमा देखिएका समस्याको पहिचान गरी संयुक्त रुपमा समाधानका लागि लाग्नु पर्ने बताए ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव चुडामणी आचार्य र धन्यवाद मन्तव्य उपाध्यक्ष शिवकला थापाले गरेकी थिइन् ।
Leave a comment