विराटनगर । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरेले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विविध कार्याक्रम गरेको छ । कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नगरभित्रका कतिपय सहकारी संस्थाहरूले आफ्नो नियमावली र सहकारी नीतिविपरीत रहेर संचालन भैरहेको जानकारी पाएको बताए । नगरभित्रका सहकारीको संचालनका लागि स्थानीय सहकारी ऐन बनाएर आगामी सहकारी अभियान्ताहरूको सरसल्लाह र सुझाव लिएर कार्यविधि निर्माण गर्न छलफलमा लगिने समेत उनले बताए ।
सोहि अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ्गका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहकारी संस्थाका नाममा कतिपय नाम मात्रका सहकारी संस्थाहरूले सहकारी संचालन विपरीत रहेर आर्थिक हिनामिना ,विकृति र विसङ्गति बढाएको भन्दै नगरपालिकाले वित्तीय ऐन एवं नियमावली बनाएर सहकारी संस्थाहरूका गतिविधि अनुगमन गर्नुपर्ने बताए ।
सहकारीले बार्षिक उत्सवको अवसर पारेर चौथो अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा वडा नं– ३ को चन्द्रकिरातेश्वर माविकी छात्रा निवा चेम्जोङले प्रथम, वडा नं १ को न्यू प्यागोडा अंग्रेजी माध्यमिक विद्यालयका छात्र भविन्द्र अधिकारी – द्वितीय र वडा नं –२ को रेडस्टार आवसीय माध्यमिक विद्यालयकी छात्रा मोनिका आचार्य तृतीय भएकी थिइन् ।
मोरङ्ग मेरिगोल्ड अंग्रेजी माध्यमिक विद्यालयका समीर कार्की र पञ्चायत माध्यमिक विद्यालयकी गंगा भण्डारीले भने सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगिताका विजयी प्रथम, द्वितीय , तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने छात्र छात्राहरुलाई नगरप्रमुख सहित अतिथिहरूले क्रमशः ३५ सय , २५ सय ,१५ सय र ५ सय नगदसहित प्रमाण पत्र प्रदान गरेका थिए । नगरभित्रका १५ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए ।
सहकारीले २९ जना जेष्ठ शेयर सदस्यलाई कार्तिक, मंसिर र पौष मसान्तसम्मको एकमुष्ट पेन्सन भत्ता पनि वितरण गरेको छ । साथै, जेष्ठ नागरिक सम्मान तथा ५ प्रिन्ट भन्दा बढी रक्तदान गर्ने संघ संस्थाहरुलाई समेत सम्मान गरेको छ भने आफ्नो संस्थाका एकल महिला तथा पुरुषहरूलाई पनि राहत रकम वितरण गरेको छ ।
सहकारीले पथरी शनिश्चरेमा कार्य क्षेत्र बनाई पत्रकारिता गर्दै आएका भूमिप्रसाद पाठकलाई सहकारी पत्रकारीता पुरस्कारबाट सम्मान गरेको छ । संस्थाका अध्यक्ष धनराज अमीर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई, ७ नं वडाका वडा अध्यक्ष उद्ववराज बस्नेत , वडा सदस्य चन्द्र कुमार राई, भक्तशेर राई , साना किसान सहकारी संस्था लिमिटेड अध्यक्ष विन्दा देवि राई ( विन्दु) , चन्द्रकिरातेश्वर माविका प्रधानाध्यापक हर्क जिमी राई, लगायतको उपस्थिति रहेको थियो ।
Leave a comment