हसना भास्तिपुर सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

हसना भास्तिपुर सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । चन्द्रगिरि नगरपालिका–१२, बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष एवं काठमाडौंं जिल्ला बचत तथा ऋण सहकारी संघकाका अध्यक्ष दिपक पनेरुले गरेका थिए ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापा मगरले शेयर सदस्यहरुलाई आफू आवद्ध सहकारीमा समस्या देखिएको बेला निक्षेप फिर्ता मागेर भाग्ने भन्दा पनि समस्या समाधानका लागि जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे । उनले सहकारीको सन्दर्भ ब्याजदरलाई समयानुकुल परिमार्जन गर्नका लागि जिल्ला बहुउद्देश्यीय संघले सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको बताए।

साधारण सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ७ करोड २० लाख ७३ हजार रुपैयाँ, निक्षेप संकलन १ अर्ब ३१ करोड ९७ लाख १७ हजार रुपैयाँ र कर्जा लगानी १ अर्ब ४६ करोड २६ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । गत आ।व।मा संस्थाको कुल वासलात १ अर्ब ६७ करोड ६६ लाख १० हजार रुपैयाँ पुगेको छ।

साधारण सभाको अवसर पारेर संस्थाले चन्द्रागिरि नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक–एक जना छात्र र छात्रालाई सम्मान गरेको छ। यसैगरी संस्थाले प्रधान कार्यालय, बलम्बु हाईवे सेवा केन्द्र र मच्छेगाउँ टौखेल सेवा केन्द्रमा कारोबार गर्ने शेयर सदस्यहरु मध्ये एक–एक जनालाई उत्कृष्ट बचतकर्ताको सम्मान गरेको छ । साथै विगत एक दशक देखि निरन्तर संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाई समेत संस्थाले सम्मानित गरेको छ ।

संस्थाले शेयर सदस्यहरुको सामाजिक सुरक्षालाई मध्यनजर गरेर गत आ।व।मा मृत्यु भएका २८ जना शेयर सदस्यका परिवारलाई काजकिरिया खर्च, ४४ जनालाई सुत्केरी खर्च र ५६ जनालाई औषधि उपचार खर्च उपलब्ध गराएको छ । सदस्यहरुको सुविधालाई ध्यानमा राखेर संस्थाले वर्षको ३ सय ६० दिन कार्यालय संचालन गरेर विहानी र सन्ध्याकालीन सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले विभिन्न सेवा प्रदायकहरुसंग सम्झौता गरेर रेमिट्यान्स सेवा, मोबाईल बैंकिङ सेवा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ।

साधारण सभामा कोषाध्यक्ष राजमान महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजकुमार महर्जनले लेखा परीक्षेण प्रतिवेदन पेश गरेका थिए । संस्थाका सचिव सम्पूर्ण महर्जनले संचालन गरेको सभामा उपस्थित अतिथि तथा सहभागी सदस्यलाई उपाध्यक्ष नीरज नकर्मीले स्वागत गरेका थिए ।



Leave a comment