सहकारी समुदायको विश्वासिलो सारथी हो : रजिष्ट्रार घर्ती 

सहकारी समुदायको विश्वासिलो सारथी हो : रजिष्ट्रार घर्ती  :: Sahakari Akhabar

बागलुङ । गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीले सहकारी समुदायको सबैभन्दा नजिक र विश्वासिलो सारथी रहेको बताएका छन् । आदर्श सञ्चार सहकारी संस्थाको बागलुङ बजारमा भएको इकाइ भेलालाई उद्घाटन गर्दै उनले सहकारी निश्चित व्यक्तिको नियन्त्रणमा नभई समग्र समुदायको हितमा केन्द्रित हुने भएकाले समुदायलाईनै प्रत्यक्ष लाभ पुग्ने बताए ।

रजिष्ट्रार घर्तीले गैर शेयर सदस्यको कारोबार बन्द गर्नु पर्ने भन्दै सहकारीहरुको नियमनलाई गण्डकी प्रदेश सरकारले तिब्रता दिएको र कार्वाही समेत थालेको बताए । ‘हामीले सहकारी नियमनलाई तिब्रता दिएका छौं, केही सहकारीलाई जरिवान गरिसक्यो, गैर शेयर कारोबार पूर्ण बन्द गर्नु पर्दछ’ उनले भने, ‘हरेक सहकारीको गतिविधि पारदर्शी हुनुपर्दछ, केही सहकारीको समस्याले समग्र सहकारीको बद्नाम गर्नु हुदैन ।’

कार्यक्रममा सर्वोत्कृष्ट बचतकर्ता कमल लामिछाने र कमल प्रसाद श्रेष्ठ, उत्कृष्ट बचतकर्ता गंगा केसी, राजन सापकोटा, भुपेन्द्र केसी, शान्ति लक्ष्मी श्रेष्ठ, सुरेश प्रसाद श्रेष्ठ र कमला महत प्रसंशा पत्र सहित सम्मानित हुनु भएको थियो । त्यस्तै उत्कृष्ट दीर्घकालीन बचतकर्ता तर्फ रमेश खड्का, दीर्घकालनि बाल बचत तर्फ मासुम क्षेत्री,  उत्कृष्ट कर्जा तर्फ कौशिला चर्मकार र उत्कृष्ट जोडी तर्फ कमल लामिछाने र राधिका शर्मालाई सम्मान गरिएको थियो ।

सो अवसरमा जेष्ठ सदस्यलाई पेन्सनसमेत वितरण गरिएको थियो । जेष्ठ नागरिक प्रेम छोटा, हर्क बहादुर खत्र्री, विश्वनाथ रेग्मी, जुद्धराज पराजुली, मिना कुमारी पराजुली, तुल बहादुर केसी र  कपुरजंग राजभण्डारीलाई पेन्सन वितरण गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट सञ्चालकका रुपमा शान्ति लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्य तथा पर्वत जिल्ला समन्वय समितिका उपप्रमुख सोम बहादुर जिसी, बानपा ३ का वडा सदस्य नगेन्द्र बहादुर केसी  र सोही वडाका वडा सदस्य पवित्रा केसीलाई सम्मान गरिएको थियो । 

कार्यक्रमका अवसरमा संस्थाले अपाङ्गता भएका शेयर सदस्यलाई पनि अपाङ्गता भत्ता दिएको छ । बानपा–३ की ममता कार्की, विकल थापा, सुधन बज्राचार्य, शिवकली क्षत्री, कृष्ण कुमार आचार्य र विकास शर्मालाई अपाङ्गता भत्ता दिईएको थियो । 

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ । संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए । असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइयो । 
 



Leave a comment