हाम्रो जनकल्याण साकोसको २५ औं वार्षिक साधारण सभाः शैलुङ सञ्चार सहकारी एकिकरण गर्ने

हाम्रो जनकल्याण साकोसको २५ औं वार्षिक साधारण सभाः शैलुङ सञ्चार सहकारी एकिकरण गर्ने :: Sahakari Akhabar

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । सभाले शैलुङ सञ्चार सहकारी संस्था  र हाम्रो जनकल्याण सहकारी संस्था बीचको एकीकरण प्रस्ताब पारित गरेको छ ।

सभामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले स्थानीय सरकारको साझेदारका रुपमा सहकारीहरु रहेकाले आफ्नो मुख्य लक्ष्यदेखि बाहेक स्थानीय तहमा कृषि, पशुपालन तथा अति विपन्न नागरिकको जीविकोपार्जनमा पनि सहयोग गर्न आग्रह गरे ।

त्यसैगरी शैलुङ संचार सहकारी संस्थाका अध्यक्ष शिव प्रसाद भण्डारीले फरक उद्देश्यको सहकारी भएपनि बचत तथा ऋण नै मुख्य कारोबारका रुपमा गरिएको र शेयर सदस्यको थप आवश्यकता र मागलाई सम्बोधन गर्न पनि एकीकरण आवश्यक भएकाले दुई संस्था बीच एकीकरण गरिएको बताए ।

हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव मानबहादुर केसी, कोषाध्यक्ष अर्जुन कार्की, लेखा समितिका संयोजक भरतप्रसाद खतिवडा र शैलुङ सञ्चार संस्थाका कोषाध्यक्ष शर्मिला बुढाथोकीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

६० प्रतिशत शेयर सदस्यको उपस्थितिमा सम्पन्न साधारणसभामा वर्ष उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट कर्मचारी पुरस्कार वितरण गरिएको थियो । साधारण सभामा शेयर सदस्यले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा बिक्रीवितरणको व्यवस्था गरिएको थियो ।

साधारण सभाले आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यलाई उद्यमी बनाई उत्पादन र बजारीकरणमा सहयोग गर्ने, वातावरण संरक्षण, गुणस्तरीय शिक्षाको विकासमा सहयोग गर्ने, ऋण असुलीलाई प्रभावकारी बनाई भाखा नाघेको ऋण ५ प्रतिशतबाट झार्ने, स्मार्ट प्रविधिको प्रयोगलाई आम सदस्यसम्म पुर्याउने, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सदस्यता वितरण तथा उनीहरुको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७९र०८० को अन्तमा ९१ करोड ६८ लाख बराबरको सम्पत्ति तथा दायित्व पुर्याउने लक्ष्य लिएको छ भने १० हजार सक्रिय शेयरको कारोबारमार्फत वार्षिक वित्तीय लक्ष्यलाई पुरा गर्ने योजना रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए ।

त्यसैगरी साधारणसभाले आगामी एक वर्षका लागि लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । सोही अवसरमा च्छो रोल्पा अस्पताल प्रा.लिको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा एक सय ५० भन्दा बढीले शेयर सदस्यले निःशुल्क उपचार सेवा लिएका थिए ।



Leave a comment