पाँच तारा बचतको भाषण रहित १५औं बार्षिक साधारण सभा सम्पन्न

पाँच तारा बचतको भाषण रहित १५औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षता भएको सभामा संस्थाका ज्येष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यले सभाको औपचारिक उद्घाटन गरेका थिए ।

अध्यक्ष पाठकले संस्थाले नेता बोलाएर भाषण गर्ने परंम्परालाई तोडेर संस्थाका जेष्ठ सदस्यबाट सभा उद्धघाटन गरेको जनाए । काठमाडौं महानगरपालिका सहकारी विभागले जारी गरेको सहकारीका साधारण सभामा भाषण र उद्धघाटन सत्र जस्ता कार्यक्रम नगर्न निर्देशनको पालना र सदस्यलाई बेतुकको भाषण सुनाउने प्रवृतिबाट मुक्त गराएको उनले बताए ।

संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अन्य निर्देशनहरुको पालना गर्दै सदस्यहरुको उपस्थितिका बीच सभा गरेको जनाएको छ । संस्थाले विगतका वर्षहरुमा जस्ता उद्घाटन सत्रमा अतिथि बोलाएर औपचारिक कार्यक्रम नगरी सोझै संस्थाका वार्षिक, आर्थिक तथा लेखापरीक्षण प्रतिवेदनहरुमाथि छलफल गरी अनुमोदन गरेको हो ।

सहकारीको साधारण सभा सदस्यहरुको सभा भएका कारण सिधै एजेण्डा प्रवेश गरी छलफल गरिएको संस्थाका अध्यक्ष पाठकले बताए । सञ्चाक समितिको तर्फबाट सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाठकले गत आर्थिक वर्षमा राजनीतिक खिचातानीसँगै आर्थिक मन्दी, तरलता अभाव र मुलुकले विविध समस्या मुलुकले झेल्नु परेको बताए ।

सहकारी सबै क्षेत्र र वर्गलाई समेटेर उत्पादन, बचत तथा लगानीका लागि प्रोत्सहन गर्ने संस्थाल भएकाले सहकारीमा सदस्य बन्न पाउनु गर्वको विषय भएको उनले जनाए । सहकारी ऐन २०७४ ले उस्तै प्रकृतिको एउटा मात्रै संस्थामा सदस्य बन्न पाउने व्यवस्था गरेकाले सदस्यहरुलाई आफ्नो वित्तीय कारोबारका लागि पाँचतारालाई छनौट गर्न उनले आग्रह गरे ।

संस्थाको ऋण लगानी तथा असुलीलाई प्रभावकारी बनाउन कानुन र व्यवहारिक सबै प्रक्रिया अवलम्बन गर्ने, तरलता व्यवस्थापन गर्न ब्याजदर हेरफेर र निर्धारण गर्ने, सीइओ नियुक्तिको प्रक्रिया अगाडि बढाउने, नियामक निकायले अनुगमन पछि दिएका सुझावहरुलाई कार्यान्वय गर्न संस्थाले तदारुकता दिने उनले जनाए ।  

संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्न उद्यम खाताको शुरुवात गरेको र त्यसमा ४५० जना सदस्य सहभागि भएको बताउँदै उनले सदस्यहरुलाई यो खातामा सहभागि हुनसमेत आव्हान गरे । त्यसैगरी संस्थाले हाल साधारण, पाँचतारा, सदस्यसुविधा, ज्येष्ठ नागरिक, बालबचत, खुत्रुके, चाडबाड, नारी जस्ता विभिन्न बचत खाता सञ्चालनमा ल्याएकाले सदस्यहरुको आफुलाई अनुकूल हुने बचत खातामा सहभागि भइ नियमित रुपमा मासिक बचत गर्न उनको आग्रह छ ।

संस्थाले चालु आर्थिक वर्ष बाट समृद्धि बचत खाता सञ्चालनमा ल्याउने र सदस्यको सुविधा र मागअनुसार बचत खाताहरु सञ्चालनमा ल्याउने उनले सभालाई जानकारी दिए । अर्थतन्त्रको तीनमध्ये एक खम्बाको रुपमा सहकारीलाई लिइएकाले उद्यमशीलताबाट मात्रै व्यक्तिको आर्थिक विकास सम्भव भएकाले संस्थाले पनि त्यसतर्फ ऋण लगानीलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।

संस्थाले सन्दर्भ ब्याजदरमै रहेर ऋण लगानी गर्दै आएको भएपनि अहिलेको तरलता अभाव र बैंकहरुले निक्षेपमा दिने ब्याजदरमा वृद्धि गरेकाले त्यसको प्रभाव सहकारीमा परेको छ । संस्थाले २०३ नयाँ सदस्य सदस्य वृद्धि गर्न सफल भएको छ ।

चालु आवमा संस्थाहरुबीच एकिकरण गर्ने, सेवाकेन्द्र विस्तार गर्ने, पाँचतारा बचत खातामा सहभागि सदस्यहरुको लागि पेन्सन स्किमको कार्यविधि पारित गर्ने जस्ता लक्ष्य लिएको उनले जनाए । सभाले संस्थाका कोषाध्यक्ष कुमार विमलीद्वारा प्रस्तुत आव २०७८ / ०७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । त्यस्तै संस्थाको साधारण जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार  रहेको छ ।

त्यस्तै संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार रुपैयाँ रहेको छ । संस्थाले यस गत आ।व।मा ५७ करोड ४१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ ।

संस्थाले २ करोड २४ लाख ९९ हजार रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सदस्यलाई १० प्रतिशत नगद लाभांश र ८ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषबाट दामासाहीले रकम दिने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभामा ७० वर्षमाथिका ३५ जना ज्येष्ठ सदस्यलाई प्रतिव्यक्ति २ हजारका दरले दशैं भत्ता प्रदान गरिएको थियो । समुदायमा आधारित भएर सदस्यकेन्द्रित कारोबार गर्दै आउको पाँचताराले विभिन्न सामाजिक क्रियाकलाप गतिविधि गर्दै आएको छ भने सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्न मोबाइल बैंकिङ र एटिएम मेशिनको व्यवस्था गरेको छ ।

सभामा सदस्यहरुको उत्साहजनक सहभागिता रहेको व्यवस्थापक राधा कडरियाले जानकारी दिइन् । संस्थाले यस वर्षबाट सदस्य राहत कार्यक्रम समेत शुरुवात गर्ने भएको छ । त्यसै अनुरुप संस्थाका संस्थापक सदस्य उर्वती घिमिरेको निधन भएकाले निजका परिवारजनलाई दश हजार रुपैया उपलब्ध गराइएको उनले बताइन् ।



Leave a comment