सदस्यको पैसामा बाहिरी व्यक्ति मालिक बनेका सहकारीमा समस्या 

सदस्यको पैसामा बाहिरी व्यक्ति मालिक बनेका सहकारीमा समस्या  :: Sahakari Akhabar

विराटनगर । सहकारी संस्थामा सदस्यहरु नै मालिक हुनपर्ने भएपनि बाहिरी ब्यक्तीको हालीमुहाली हुँदा समस्या निम्तिएको सहकारी अभियन्ताहरुले दावी गरेका छन् । बाहिरी ब्यक्तिले सदस्यको पैसा जथाभावी लगानी गर्दा संस्था समस्याग्रस्त हुने गरेको भन्दै बुझेर मात्र सदस्य बन्न र कारोबार गर्न सर्वसाधारणलाई उनीहरुको सुझाव छ । 

विराटनगरको जागरुक बचत तथा ऋण सहकारीको साधारणसभामा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सचिव एकराज निरौलाले नियम विपरित सञ्चालन भएका सहकारीहरु मात्र समस्यामा परेको बताए । ‘सहकारीमा सदस्यहरु नै मालिक हो’ उनले भने, ‘सदस्यको पैसामा अरु नै मालिक बन्न खोज्दा समस्या निम्तिएको छ ।’ उनले सदस्यहरुलाई आफु आबद्ध संस्था कुन रुपमा सञ्चालन भईरहेको छ, संचालकहरु कस्तो खालका छन्,  बाहिरको व्यक्तिले संचालन गरिरहेको छ कि भन्ने विषयहरु ख्याल गर्न सुझाव दिए । 

नीति नियम पालना गर्दै पूर्ण रुपमा समुदायमा आधारित भएर सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नआएको निरौलाको दावी थियो । सदस्यको पैसा सहकारीमा जम्मा नगरी सिधै सिमित व्यक्तिले जग्गा, अपार्टमेन्ट, होटल र घरमा लगानी गर्दा समस्या देखिएको उनले बताए । 

त्यसैगरी जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले सहकारीलाई सरकारले तीन खम्बे अर्थनीतिमा राखेको भएपनि व्यवहार भने सौताको जस्तो गरेको बताए । एउटा सहकारी भाग्यो भने पत्रपत्रीकामा समाचार आउने तर सफल भएका संस्थाहरुको समाचार नै नआउने गरेकाले सफल भएका कुराहरुलाई नै बाहिर ल्याउनुपर्नेमा उनले जोड दिए । 

वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साहले सहकारीले चिनेजानेको भरमा ऋण दिने र मानिसको समस्या सजिलै टार्न सक्ने भएकाले पनि सर्वसाधारण माझ लोकप्रिय हुँदै गएको बताए । बैंकमा सानो ऋण लिन धेरै झन्झट बेहोर्नु पर्ने भएपनि सहकारीमा विना झन्झट काम हुने उनको भनाई छ । 

साधारणसभाले सुनाहाङ सुब्बाको अध्यक्षतामा संचालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमला राजबाहाक, सचिब उमेश गुरुङ, सह–सचिवमा प्रमोद केसी, कोषाध्यक्षमा दामोदर निरौलालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा अमूता भगत, श्रवण यादब, हरिशंकर चौधरी र शोभा ढकाल चयन भएका छन् । लेखा सुपरिवेक्षण समिति संयोजक ईन्दु तामाङ, सदस्यमा लिला साह र रिता कोईराला ढकाल चयन भएका छन् । 


३३ लाख ६७ हजार रुपैयाँ शेयर पुँजी रहेको संस्थाको निक्षेप ३ करोड ६ लाख ७० हजार, बाह्य ऋण १ करोड १७ लाख १३ हजार, ४ करोड ९६ हजार ऋण लगानी तथा ५८  लाख ९१ हजार आम्दानी गरेको साधारणसभामा जानकारी दिइयो । 
 



Leave a comment