स्याङ्जा । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले उत्पादन, उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि स्थानीय तह र सहकारीहरुबीचको सहकार्यमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड पुतलीबजार शाखाले बिहीवार पुतलीबजारमा बिहीवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारीको पुँजी र प्रविधिलाई जनताको आयआर्जनमा लगाउन सुझाव दिए ।
नगरप्रमुख रेग्मीले स्थानीय तहको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय तहबीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरले दुर्गम क्षेत्रमा बस्ने जनताको वित्तीय पहुँचको क्षेत्र सहकारी भएकाले सहकारीको सञ्चालन प्रक्रियालाई थप व्यवस्थित गराउदै सेवा सुविधालाई प्रविधिमैत्री र सदस्य केन्द्रीत बनाउन सुझाव दिए ।
कार्यक्रममा बैंकका अध्यक्ष के.बी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी, जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला कफि सहकारी संघका अध्यक्ष फनिनारायण अर्याल, जिल्ला सहकारी संघ स्याङ्जाका कोषाध्यक्ष शिव वाग्ले, जिल्ला वचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठ, पुतलीबजार नगरपालिका सहकारी शाखाका प्रमुख विष्णुप्रसाद भुषाल, आधिखोला गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णप्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment