काठमाडौं । समस्याग्रस्त सहकारीको संख्या वृद्धिसँगै सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएपछि सहकारी संघसंस्था, सहकारीकर्मी तथा सरोकारवालाहरुले सामाजिक संजालमार्फत सचेतना अभियान सुरु गरेका छन् । प्रारम्भिक संस्थाबाट सुरु भएको अभियान विस्तारै सहकारीकर्मी तथा सरोकारवालाहरुहुदै सामाजिक संजालमा सहकारी सचेतनाका सन्देशहरु सामाजिक संजालमा ‘भाइरल’ हुन थालेको छ ।
प्रारम्भिक सहकारीहरुले संस्थागत रुपमै कस्तो सहकारीमा कारोबार गर्ने तथा कस्तो सहकारीमा कारोबार नगर्ने जस्ता विषयमा चेतनामुलक सामाग्री सप्रेषण सुरु गरेका हुन् । भगिनी सम्बन्ध कायम गरेका काठमाडौंको चन्द्रागिरी बचत तथा ऋण र पोखराको रोयल बचत तथा ऋण सहकारीले सहकारीका सदस्य र सर्वसाधारणको हितका लागि भन्दै कस्तो सहकारीमा कारोबार गर्ने, कस्तोमा नगर्ने विषयमा चेतनामुलक सामाग्री प्रचार गरेका छन् ।
संयुक्त रुपमा जारी गरिएको सन्देशमा सामुहिक भावनाबाट संचालन भएको, नियमित लेखापरीक्षण र साधारण सभा गरेको, सदस्यसँग नियमित सम्पर्कमा रहेन तथा सूचना दिने, विपन्न वर्गसम्म पुग्ने योजना भएको, संस्थाको रकमलाई सदस्यहरूकै हित र रोजगारी सृजनामा परिचालन गरेका संस्थामा कारोबार गर्न अनुरोध गरिएको छ ।
यस्तै सहकारीको सिद्धान्त र मूल्यहरूको पालना भएको, नियामकमा नियमित प्रतिवेदन पेश गर्ने, जगेडाकोष बलियो भएको, विश्वासिला सञ्चालक र क्षमतावान कर्मचारी भएको, सदस्य सेवा र सुरक्षामा प्राथमिकता दिने तथा सम्बन्धित निकायको गुणस्तर सुनिश्चितता कार्यक्रममा सहभागी भएका संस्थामा कारोबार गर्न सन्देशमा आग्रह गरिएको छ ।
यसैगरी सन्देशमा बचतमा अपत्यारिलो ब्याज दिने, नियमित परीक्षण र साधारण सभा नगर्ने तथा प्रतिवेदनहरू प्रकाशित नगर्ने, सदस्यहरुसंग नियमित सम्पर्क नगर्ने, सदस्य नवनाई बचत संकलन गर्ने, सदस्यसँग नियमित सम्पर्क नगर्ने, संस्थाको स्रोत साधन संचालकहरुले नै प्रयोग गर्ने, विषयगत संघमा आवद्ध नहुने सहकारीमा कारोबार नगर्न आग्रह गरिएको छ ।
विभिन्न सहकारी संघसंस्था तथा सहकारी क्षेत्रका सरोकारवाला व्यक्तिहरुले समेत यस्तै प्रकृतिका सूचनाहरु सामाजिक संजालमार्फत सम्प्रेषण गरिरहेका छन् । पूर्व सहकारी कर्मचारी केशव बहादुर थापाले कस्तो सहकारीमा कारोबार नगर्ने भन्दै जानकारीमुलक सामाग्री फेसबुकमा सेयर गरेका छन् ।
उनले सेयर गरेको सामाग्रीमा बचतमा अपत्यारिलो ब्याज दिन, लेखापरिक्षण र साधारणसभा नगर्ने, प्रतिवदेन प्रकाशित नगर्ने, सहकारी ऐन, कानुन, सिद्धान्तको पालना नगर्ने, स्थानिय संचालक कम भएको, ब्यक्तिगत र पारिवारीक ब्यवसायजस्तै मनपरी कारोबार गर्ने संस्बथामा कारोबार नगर्न अनुरोध गरिएको छ । यस्तै प्रकृतिको सूचना सहकारीकर्मी अशोक शिवाकोटीले पनि सामाजिक संचालमा सेयर गरेका छन् ।
संघहरु बेखबर
प्रारम्भिक संस्था, संचालक तथा सरोकारवालाहरुले सर्वसाधारणमा विश्वास जगाउने खालका सन्देशमुलक सामाग्री प्रचार गरिरहेपनि संघहरु भने यस्तो काममा कमजोर देखिएका छन् । राष्ट्रिय सहकारी महासंघसहित विषयगत संघहरुले भने यसमा चासो दिएका छैनन् ।
महासंघले मंगलबार अपिल जारी गरेर सचेत तथा संयमित रहन आग्रह गरेको थियो भने, सर्वसाधारणलाई पनि ब्याजको लोभमा कारोबार नगर्न अनुरोध गरेका छन् । त्यसबाहेक महासंघले सर्वसाधारणको विश्वास बढाउने खालका कुनै सामाग्री सम्प्रेषण गरेको छैन ।
संघहरु आफ्नो र संचालकको प्रचारप्रसारमा मात्र सिमित भएको सहकारीकर्मीको टिप्पणी छ । ‘महासंघ÷संघका सामाजिक संजाल नेताको प्रचार गर्न र उनीहरुलाई जन्मदिनको शुभकामना दिन मात्र प्रयोग भएका छन्’ एक सहकारीकर्मीले भने, ‘बजारमा सहकारीप्रति नकारात्मक सन्देश फैलिरहेका बेला त्यसलाई चिर्न अभिभावकत्व लिएको पाइदैन ।’
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्तमा शिक्षा तालिम र सूचनाको ब्यवस्था गरेपनि उक्त सिद्धान्त पालनामा सहकारीहरुको अवस्था कमजोर छ । सहकारी ऐनमै संस्थाहरुले नाफाबाट कम्तिमा ५ प्रतिशत रकम शिक्षा तथा तालिम कोषमा छुट्याउनुपर्ने प्रावधान भएपनि उक्त कोषको रकम उचित सदपयोग हुन सकेको छैन ।
Leave a comment