चीना थापा, विराटनगर : राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले मोवाईल एप्स सुरु गरेको छ । २५ औं स्थापना दिवसको अवसरमा संस्थाले आयोजना गरेको वार्षिकउत्सव कार्यक्रममा मोवाइल एप्स सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सहकारी रजिष्टार कार्यालयका निमित रजिष्टार हरि बहादुर खत्रीले बहुमुखी सहकारी भएकाले अव व्यवसायिकतामा जानुपर्ने बताए । सहकारी जुन प्रकृतिको भएपनि बचत तथा ऋणको नै कारोबार गरिरहेको भन्दै उनले सहकारीलाई अव उत्पादनका क्षेत्रमा पनि लगानी गर्नु निर्देशन दिए । सहकारी आफ्नो सिद्धान्त अनुसार नै चलिरहेको अवस्थामा व्यवसायिकता तर्फ जाने हो भने अझ उत्कृष्ट हुने उनको भनाई छ ।
स्थापना दिवसमा अवसरमा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको निक्षेप २६ करोड ३६ लाख, शेयरपुँजी ५ करोड ९२ लाख, कोष हिसाब २ करोड ५ लाख पुगेको छ ।
संस्थाले राष्ट्रिय सहकारी बैंकबाट १ करोड ऋण लिएर शेयर सदस्यहरुलाई लगानी गरेको छ । सहकारीले ग्यास डिलर राखेको छ । त्यसबाट २१ लाख ४४ हजार ३३६ रुपैया आम्दानी गरेको जनाएको छ ।
शेयर सदस्यको परिवारमा समस्या पर्दा सहयोग गर्ने उदेश्यले परिवार राहत कोषमा १९ लाख ५३ हजार २६९ रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले गत आवमा ६२ लाख ३७ हजार ४६६ रुपैया खुद नाफा कमाएको छ । स्थिर सम्पति २ करोड ७६ लाख, कूल सम्पति ३६ करोड ५७ लाख रहेको संस्थाले १८ लाख ४८ हजार राजश्व तिरेको छ ।
आर्थिक बर्ष २०७८÷०७९ मा सहकारीले भवन निर्माण, जग्गा खरिद, सहकारी शिक्षा कार्यक्रम, बृहत अन्तरक्रिया, क्षमता अभिवृद्धि तालिमलगायतका काम गरेको कार्यक्रममा जानकारी दिइयो ।
Leave a comment