हाइलाइट

आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख खापुङ

आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका छ : प्रदेश प्रमुख खापुङ :: Sahakari Akhabar

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले देशको आर्थिक विकासमा सहकारीको महत्त्वपूर्ण भूमिका भएकाले सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्बा मध्ये एउटा खम्बा मानेको बताए । सहकारीले विपन्न गरिव जनताको आर्थिक स्तर उकास्न सघाएको बताउँदै उनले  अब सहकारीहरु उत्पादनको क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।

सञ्चारकर्मी सञ्चार सहकारीको एघारौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै खापुङले आफ्ना सदस्यको वृद्धि विकासको लागि सहकारीले काम गर्नुपर्ने उल्लेख गरे । पत्रकारहरुले देश विकासको लागि कलम चलाउनुपर्ने उनको भनाई छ । पुरस्कारले समाजमा देखिएका विकृति तथा विसंगतीलाई उजागर गर्ने पत्रकारको हौसला बढ्ने उनले बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सानो सानो रकम बचत गरेर पत्रकारको आर्थिक अवस्था सुधार गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कतिपय अवस्थामा पत्रकारले लेखेका समाचारबाट सूचना पाउने गरेको बताउँदै उनले जनताको समस्यालाई उजागर गर्न पत्रकारको भूमिका रहेको बताए ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले अव सहकारीहरु उत्पादनको क्षेत्रमा लाग्नुपर्ने बताए । पेशागत रुपमा तथा अन्य हिसावले पनि नेपालमा धेरै सहकारी सञ्चालन भईरहेको र ती सहकारीहरुमा हजारौंको संख्यामा मानिसहरु आवद्ध भईरहेको उनले बताए । बचतसँगै सहकारीको रकम उत्पादन क्षेत्रमा लगाउने र सदस्यहरुलाई पनि उत्पादन क्षेत्रमा लगाउनुपर्ने उनको भनाई छ ।

चार पत्रकार पुरस्कृत

सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारी संस्थाले  शिक्षक मासिक(काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन  विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार, ५० हजार, २१ हजार र १० हजार छ रहेको छ ।  सम्मानित चारै जनालाई प्रदेश प्रमुख पर्शुराम खापुङले सम्मानपत्र प्रदान गरेका थिए ।



Leave a comment