पर्वत । जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णुराम वि.क.ले स्थानीय स्रोतको अधिकतम पहिचान र परिचालनका लागि स्थानीय तहले सहकारीसंग समन्वय गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले शुक्रवार कुश्मामा आयोजना गरेको प्रादेशिक कानुन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन ।
ग्रामिण क्षेत्रको विकासका लागि सहकारी अपरिहार्य विषय हो, यसको सहभागिता बिना विपन्नता कम गर्न सकिदैन, त्यसका लागि सहकारी र स्थानीय तहबीच सहकार्य आवश्यक छ, समन्वय प्रमुख विकले भने ‘सहकारीका ऐन कानुनमा समस्या छन् भने सुधार गरेर सहकारी र स्थानीय तह संगसंगै अगाडि बढ्नु पर्छ ।’
बागलुङ र पर्वतका सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी अवधारणा, स्वनियमन र प्रभावारी सञ्चालन तथा अधिकृत चोलाकान्त वाग्लेले सहकारी कानुनका बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले सहकारी कानुुनमा एकता रुपता हुन पर्ने, स्थानीय तह, प्रदेश र संघीय विभागले सहकारीहरुको प्रवद्र्धन, विकास र नियमनमा ध्यान दिनु पर्ने, सहकारी क्षेत्रमा लगाइएको करलाई ऐन अनुसार बनाउनु पर्ने, प्रविधिको प्रयोगमा ध्यान दिनु पर्ने लगायतका सुझाव राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला खड्का जिसी, सिवाइसी साकोस कुश्मा सेवा केन्द्रका कोषाध्यक्ष अनिता सापकोटाले समिक्षात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मी, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment