विराटनगर । मोरङको ग्रामथान गाउँपालिका झोराहाटमा रहेको रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यका लागि एक दिने निशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको छ । आईतबार आयोजना गरेको आँखा शिविरमा २८५ जना सदस्यहरुको आँखा जाँच गरिएको थियो ।
जाँच गराएका मध्ये २८ जनामा मोतियाबिन्दु, ३ जनाको आँखाभित्र मासु पलाएको र २ जनाको अपरेसन पछाडी पनि आँखाको लेन्समा जालो पलाएको समस्या देखा परेको सहकारीका व्यवस्थापक रमेश पौडेलले जानकारी दिए । उनका अनुसार मोतियाविन्दु भएका ८२ जनालाई अपरेशनको लागि विराटनगर आँखा अस्पताल पठाईएको छ । आँखा अन्य समस्या भएकाको पनि अस्पतालमा लगेर जाँच गरिने पौडेलले जानकारी दिए।
नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा चस्माको जाँच, मोतियाविन्दु भएकाहरुलाई अस्पताल लगेर निशुल्क अपरेशन गरिएको र विरामीको लागि चस्मा र औषधी सौलियत दरमा उपलब्ध गराउन पहल गरिएको व्यवस्थापक पौडेलले जानकारी दिए ।
‘सहकारीले यस्ता शिविरहरु समय समयमा आयोजना गरिरहने गरेको छ’, उनले भने, ‘कहिले पाठेघर सम्वन्धि, कहिले के शिविर हामीले गरिरहेका हुन्छौं । यो अलवा हामीले गरिब विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग, गम्भिर किसिमको रोग लागेका सदस्यहरुलाई उपचार खर्च लगायतका सामाजिक काम सहकारीले गरिरहेको छ ।’
Leave a comment