आगामी दिन : सहकारी सम्भावनाको खानी 

आगामी दिन : सहकारी सम्भावनाको खानी  :: Sahakari Akhabar

जबाट २०७८ साललाई  बिदाइ गरेर २०७९ साललाई स्वागत गर्दै छौं । नयाँ वर्ष, नयाँ जोस, जाँगर र उमङ्ग बोकेर नयाँ जीवन सुरु गर्नु छ । अघिल्लो वर्ष सहकारीका लागि त्यति सुखद हुन सकेन । कोभिड-१९ को महामारीले थिलथिलो पारेको अर्थतन्त्र बौरिँदै गर्दा रुस–युक्रेनको युद्धका कारण विश्वव्यापी रूपमा नै आर्थिक क्षेत्रमा आएको मन्दीले नेपाली अर्थतन्त्र पनि प्रभावित छ ।

सिङ्गो अर्थतन्त्रसँगै वित्तीय क्षेत्रमा देखिएको मन्दीको असरबाट सहकारी क्षेत्र पनि प्रभावित नहुने कुरै भएन । उसै त कानुनी अस्पष्टता, नियामकीय कमजोरीपन र अभियानभित्रको विकृतिले लय समाप्त नसकेको सहकारी क्षेत्र यति बेला बाह्य कारणले पनि प्रभावित छ । विशेष गरी तरलता अभावले सहकारीलाई पनि पिरोल्न थालेको छ ।

समस्याहरूबिच पनि सहकारी क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन सङ्घीय सरकारदेखि स्थानीय सकारसम्मबाट अघि बढेका योजनाले आशाका किरण पनि देखिएका छन् । वर्षको पहिलो महिनामा स्थानीय तहको निर्वाचनबाट नयाँ नेतृत्व आउदैछ ।

स्थानीय सरकारसँग दर्तादेखि नियमनसम्म अधिकार भएकाले आगामी नेतृत्वले सहकारीलाई थप प्राथमिकता दिएर कार्यक्रम अघि बढाउने आशा गर्न सकिन्छ । किनकि पहिलो स्थानीय सरकार ‘फाउन्डेसन’ बनाउनमै केन्द्रित हुँदा व्यवस्थापनका कामहरू ओझेलमा परे । तर पनि यो ५ वर्षमा सहकारीको अभिलेख खोज्नेदेखि आवश्यक ऐन, कानुन, मापदण्ड बनाउने विषयमा निक्कै प्रगति भएको छ।

यसै गरी ग्रामीण क्षेत्रमा कृषि उद्यमशीलता अघि बढाउन स्थानीय सरकारको उच्च प्राथमिकता पनि सहकारी क्षेत्र नै छ । अर्कोतर्फ स्थानीय तहको नेतृत्वमा आउन चाहेका व्यक्तिहरूले पनि भोटका लागि सहकारी लाई मुख्य आधार बनाएका छन्।

सहकारीहरूमा पनि समस्यै समस्याका बिचमा पनि सम्भावना पनि उत्तिकै छन् । सहकारी बिग्रियो मात्र भनेर जिम्मेवारी लिएका व्यक्ति टुलुटुलु हेरेर नबसी सहकारी संस्थाहरूलाई सिद्धान्त, ऐन-कानुन अनुसार अघि बढाउने हिम्मत देखाउने हो भने व्यवस्थित सहकारी अभियानको अनुहार हेर्न अर्को वर्ष कुर्नुपर्दैन ।

कतिपय ठाउँमा उम्मेदवारमा दावेदारी गरेका व्यक्तिहरू सहकारीकर्मी नै छन् । सहकारीमा भिजेका र बुझेका व्यक्ति नयाँ नेतृत्वमा आउने भएकाले आगामी दिनमा सरकारका कार्यक्रम तथा बजेटमा सहकारीले प्राथमिकता पाउने आशा पनि उतिकै छ । 

अर्कोतर्फ सङ्घीय सरकार पनि सहकारी व्यवस्थापनको विषयमा क्रियाशील छ । सहकारी ऐन-२०७४ ले व्यवस्था गरेअनुसार सहकारीको कर्जा सूचना केन्द्र, स्थिरिकरण कोष, बचत तथा ऋण सुरक्षण कोषलगायतका काम पनि अघि बढेका छन् । यो वर्ष ती सबै प्रावधानहरू कार्यान्वयन आएमा सहकारीलाई व्यवस्थित गर्ने विषयमा थप प्रगति हुने आशा पनि उतिकै छ ।

सहकारी अभियान भित्र र आम सर्वसाधारणमा पनि सचेतना उत्तिकै बढेको छ । हिजो जस्तो अब सहकारीका नाममा बचत सङ्कलन गरेर ‘ठग्न’ र हिनामिना गर्न त्यति सजिलो छैन । गलत नियतले काम गर्ने व्यक्तिहरू धमाधम कारबाहीको दायरामा आउन पनि थालेका छन् ।

यसै गरी सर्वसाधारणमा वित्तीय साक्षरता वृद्धि भएकाले सर्वसाधारणले सहकारी के हो ? कस्ता संस्थामा सदस्य बन्ने ? त्यहाँ सदस्य भएपछि आफ्नो भूमिका कर्तव्य के हो जस्ता विषयमा जागरूक छन् । ग्रामीण क्षेत्रमा सहकारीबाटै सर्वसाधारणमा उद्यमशीलताको विकास पनि हुदै छ । जसले आगामी दिनमा सहकारी दिगो विकासको बाटो निर्माण हुनेमा आशावादी हुन सकिन्छ ।

यसै गरी पछिल्लो समयमा बढेको प्रविधिको प्रयोग पनि सहकारी विकासमा आशावादी हुने ठाउँ छ । संस्थाको लेखा प्रणालीदेखि सदस्यको कारोबारसम्ममा प्रविधिको प्रयोग बढिरहेको छ । यसले कारोबारलाई सहजता त बनाएकै छ अर्कोतर्फ संस्थागत सुशासनमा यसको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।  

कालो बादलमा चाँदीको घेरा भने झै सहकारीहरूमा पनि समस्यै समस्याका बिचमा पनि सम्भावना पनि उत्तिकै छन् । सहकारी बिग्रियो मात्र भनेर जिम्मेवारी लिएका व्यक्ति टुलुटुलु हेरेर नबसी सहकारी संस्थाहरूलाई सिद्धान्त, ऐन-कानुन अनुसार अघि बढाउने हिम्मत देखाउने हो भने व्यवस्थित सहकारी अभियानको अनुहार हेर्न अर्को वर्ष कुर्नुपर्दैन । यसमा सबै सरोकारवालाहरूलाई सफलता मिलोस् नयाँ वर्षको शुभकामना ।



Leave a comment