महोदय, गोष्ठी गरेर मात्र सहकारी सुध्रदैन !

महोदय, गोष्ठी गरेर मात्र सहकारी सुध्रदैन ! :: Sahakari Akhabar

यतिबेला सहकारीका केन्द्रीय तथा वागमती प्रदेशका नेताहरू प्रदेश राजधानी हेटौडामा भेला भएका छन् । ‘सहकारी संघहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर विषयक कार्यशाला गोष्ठी’ को वहानामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष र संचालकहरूका साथै विषयगत केन्द्रीय सहकारी संघहरू, प्रदेश र जिल्ला स्तरिय संघ तथा विषयगत संघहरुका अध्यक्ष, संचालकहरू भेला भएका हुन् ।

गोष्ठीमा सहभागिहरुले नै सार्वजनिक गरेको तस्विर हेर्ने हो भने उनीहरू सहकारीका समस्या समाधान गर्नकै घनिभुत छलफलमा जुटुरहेका छन् र भोलिबाट एकपछि अर्को गरी फटाफट सहकारीमा समस्या समाधान हुन्छन् । तर, वास्तविकता ठिक विपरित छ । यो प्रदेश सहकारी विकास बोर्डको वजेट सकाउने मेलोमेसो मात्रै हो ।

किनकी जो–जो सहकारीका समस्या समाधान गर्न छलफलमा जुटिरहेका छन्, समस्या उनीहरुमै छ ! उनीहरु न आफै सहकारी सिद्धान्त, ऐन, नियम तथा कानुनको पालना गर्छन न त त्यसलाई पालना गराउने ल्याकत नै राख्छन् ! कार्यक्रम आयोजककै अवस्था हेरौं न, बोर्डमा कार्यकारी उपाध्यक्ष भएर राज्यकोषबाट तलव भत्ता बुझ्ने नारायण देवकोटा नै कानुन विपरित र स्वार्थ बाझिने गरी सहकारीको संघहरुको नेतृत्वमा छन् ।

त्यो पनि आफ्नै प्रदेशले जारी गरेको कानुनको ठाडो उल्लंघन गरी दोहोरो पदमा ! बोर्डको कार्यकारी उपाध्यक्षसँगै उनी यतिबेला जिल्ला सहकारी संघ मकवानपुर, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघको संचालकको भूमिकामा सक्रिय छन् । जबकी वागमती प्रदेशकै सहकारी ऐनले कुनै व्यक्ति माथिल्लो तहको संघमा निर्वाचित भएपछि तल्लो तहको संघ छोड्नुपर्ने प्रावधान छ । सहभागिहरुको झन् के कुरा गर्नु !

आफै सहकारीका सिद्धान्त, ऐन कानुन र नीति नियम उल्लंघन गर्ने अनि सहकारी क्षेत्रका समस्या समाधान गर्छु भन्दै राज्यको बजेट दुरुपयोग हुनेगरी गोष्ठी गर्नु लज्जास्पद हो । हुन त सहकारी अभियान नै यस्तो क्षेत्र हो, जहाँ गफ धेरै काम कम हुन थालेको छ ।

सिद्धान्त, कानुन, नीति नियम तथा निर्देशन एकातिर, सहकारी संघसंस्थाको काम अर्कोतिर छ । तर, सहकारीका नियामक निकायदेखि अभियानका नेतृत्वदायी संघहरू समस्या समाधान गर्न भन्दै बैठक, गोष्ठी, कार्यशाला गोष्ठी, अन्तरकृया जस्ता देखाउटी काममा भिडेको भिड्यै छन् ।

गोष्ठीहरुमा न त समस्यामा केन्द्रीत रहि घनिभुत छलफल हुन्छ, न त त्यसबाट तय भएका एजेन्डाहरूको कार्यान्वयन नै ! यस्ता कार्यक्रमहरू बजेट सकाउने मेलोमेसो मात्रै बनिरहेको छ, दिनप्रतिदिन बढिरहेको यो गलत परम्परालाई करेक्सन गर्न ढिला भइसक्यो ।



Leave a comment