सहकारीका नाममा ठगी कहिलेसम्म !

सहकारीका नाममा ठगी कहिलेसम्म ! :: Sahakari Akhabar

आम सहकारीका सञ्चालकलाई ‘सहकारीमा ठगी’ भन्ने सञ्चार माध्यमको हेडलाइन त्यति प्रिय लाग्दैन । किनकि नेपाली उखान एक बिराउने शाखा पिराउने भनेजस्तो भएको छ ।

३० हजारको हाराहारीमा सहकारी सञ्चालनमा छन्, त्यसमध्ये ६० प्रतिशत बचत तथा ऋण कारोबारमा संलग्न छन् । एकाध संस्था तथा व्यक्तिले गलत काम गर्दा सबै सहकारीले ‘ठग’ को लाञ्छना खेप्नुपरेको छ । 

हो, विषय पनि यही हो । जसले गल्ती गर्छ उसलाई कारबाही हुनुपर्छ, जसले राम्रो गरिरहेको छ उसलाई प्रोत्साहन हुनुपर्छ । केही व्यक्तिले गल्ती गरेको आधारमा सहकारी अभियान बदनाम हुनु हुँदैन । सहकारीमा भइरहेका गलत कामले प्रोत्साहन पाउनु हुँदैन । तर, अहिलेको यक्ष प्रश्न हो यो किन भइरहेको छैन ? 

२०१३ लाई आधार मान्ने हो भने नेपालको सहकारी अभियान ६५ वर्ष भयो, २०४८ यताको समय गर्ने हो भने पनि तीन दशक बिताइसक्यौँ । यति परिपक्व भइसक्दा पनि राजधानीमै सहकारी संस्था खोलेर सोझा सिधा सर्वसाधारणहरूलाई झुक्याएर खुलेआम ठगी भइरहेको सुन्दा लाजमर्दो हुन्छ । 

काठमाडौं मुटु मैतीदेवीमा रहेको संस्था डुब्छ, कालीमाटीमा रहेको संस्था डुब्छ ! सर्वसाधारणले खाई नखाई जम्मा गरेको अर्बौ पैसा स्वाहा हुन्छ ! सहकारीमा राखेको पैसा माग्दा माग्दा हैरान भएर मान्छे डिप्रेसनमा पुगेर आत्महत्या गर्छ ! 

उपचार गर्ने पैसा नभएर मर्छ ! सहकारी विरुद्ध सडकमा नारा लाग्छ ! विभाग, मन्त्रालयमा धर्ना हुन्छ ! यस्तो गम्भीर मोडमा पुग्दा पनि कसैमा संवेदनशीलता देखिँदैन, कहीँ कतै केही नभएजस्तो गरी सहकारी मन्त्री, नेपाल राष्ट्र बैङ्कका गभर्नर, सचिव, रजिस्टार, महासङ्घको अध्यक्ष ठाँटिएर हिँड्नु लाजमर्दो विषय हो । 

सहकारीको शुद्धि करणको अब ढिला भइसक्यो । अब पनि सरकारी लाइसेन्सभित्र भइरहेको वैधानिक ठगी नरोकिने हो भने सरकारलाई पनि सहकारी दर्ता गरिराख्ने कुनै पनि आधार छैन भने सङ्घ /महासङ्घहरूलाई हामी सहकारीका अभिभावक हौँ भन्ने नैतिक आधार हुँदैन ।

हुन त यसै गरी सहकारी चलाउँदा केही व्यक्तिको जय भएकै होला । तर अब पनि सहकारीमा शुद्धीकरण सुरु नगर्ने हो भने हामी भड्खालोमा पर्ने निश्चित छ । जसरी सहकारीबाट पीडितहरूको सङ्ख्या बढिरहेको छ, उनीहरूको स्वर एकीकृत भयो भने सिङ्गो सहकारी अभियानकै लागि भारी पर्नेछ ।

जसरी संसद् तथा संसदीय समितिमा केही सांसदहरूले ‘सबै सहकारीहरूलाई बन्द गर्नुपर्छ’ भनेर एकाध आवाज उठाउँदै आएका छन्, त्यो विषय सहकारीका लागि भारी पर्न सक्छ ।

सहकारीका कारण बचत गर्ने बानीको विकास भएको, वित्तीय पहुँच बढेको, स्वरोजगारी बढेको, गरिबी निवारण भएको, महिला, दलित, जनजाति, पिछडिएका वर्गका आर्थिक सामाजिक विकास भएको जस्ता सफलताका विषय छन् ।

त्यति नै जथाभाबी व्याज, सेवा शुल्क, हर्जाना लिएको, घरजग्गा लिलामी गरी सदस्यलाई सुकुम्वासी बनाएको, संस्थाबाट सिमित संचालकले फाइदा लिएको, सहकारीका सिद्धान्त र वित्तीय संस्थाका नम्स पालना नगरेको, सदस्यको बचत लिएर फरार भएको, संस्था समस्याग्रस्त हुने गरी जथाभाबी लगानी गरेका जस्ता दर्जनौं विकृतिहरू छन् ।

सहकारीको शुद्धि करणको अब ढिला भइसक्यो । अब पनि सरकारी लाइसेन्सभित्र भइरहेको वैधानिक ठगी नरोकिने हो भने सरकारलाई पनि सहकारी दर्ता गरिराख्ने कुनै पनि आधार छैन भने सङ्घ /महासङ्घहरूलाई हामी सहकारीका अभिभावक हौँ भन्ने नैतिक आधार हुँदैन ।



Leave a comment