पौष मसान्त संघ संस्थाको बार्षिक साधारण सभाको महिना हो । अझ सहकारी क्षेत्रकोत पौष मसान्त साधारण सभाको बटम लाइननै हो । यस पछिका साधारण सभालाई नियामक निकायले मान्यता दिंदैन । यसै मसान्त भित्र सहकारीका संघ संस्थाले साधारण सभाको मैजारो मार्नुपर्ने बाध्यत्मक अवस्था छ ।
साधारण सभा सदस्यले घनीभूत छलफल गरी आगामी कार्ययोजना बनाउने महत्वपूर्ण सभा बन्नु पर्छ । तर अधिकाँश सहकारी संघ संस्थाका साधारण सभा परिचय नविकरणका रुपमा र भेटघाटका रुपमा सम्पन्न हुने प्रचलन बढेको छ ।
यसैगरी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को बार्षिक साधारण सभा बुटवलमा हुँदैछ । धेरै बर्ष पछि मोफसलमा हुनलागेको नेफ्स्कूनको ३३ औं बार्षिक साधारण सभाले पर्यटक भेला वा भेटघाट नविकरणको अवसर मात्र नभएर बचत तथा ऋण सहकारी अभियानको वर्तमानमा देखिएका समस्याको निर्मम निदान गर्न सकोस, शुभकामना ।
सहकारीको समस्या केही सयजना सहकारी पदाधिकारीहरुको भेला वा मेलाले मन्त्रीहरुको स्वागत र भाषण सुनेर मात्र समाधान हुनेछैन । समस्या समाधानका लागि यसको बास्तविक कारणको पहिचानका बारेमा हामी कुन हदसम्म जिज्ञासु रहन्छौ र प्राप्त निष्कर्षलाई जिब्रो नचपाइकन कुन हद सम्म अभिब्यक्त गर्न सक्छौ भन्ने कुराले महत्व राख्दछ ।
तर यस विषयमा हाम्रो चासो र जाँगर कति प्रकट हुन्छ भन्ने कुरा पौष ६ गते साँझ सम्म प्रष्ट भइसक्नेछ । नेफ्स्कूनको पौष ५ देखि हुने साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरु पौष ३ गते राती ९ बजे सम्म पनि वेभसाइटमा अपलोड नभएकोले साधारण सभामा प्रतिवेदन माथि खासै छलफल हुने छैन ।
कतिपय विषयहरु ब्यापक छलफल र विमर्श हुनु पर्ने भए पनि त्यसको बारेमा जानकारी नदिइदा साधारण सभा एकहद सम्म कर्मकाण्डी ढंगले भब्यताका साथ सम्पन्न हुनेछ । सहकारीकर्मीहरुको यो विशाल भेला सहकारीका अहिलेका समस्या, कारण र यसको निराकरणको बारेमा कोशेढुंगा बन्नु पर्नेछ । त्यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
स्वभाविक रुपमा बर्तमान अवस्थामा सहकारी संस्थाको संख्या बढि छ । यो संख्यामा सहकारी संस्था आवश्यक छैन । तर हाम्रा विभिन्न स्वार्थका कारण सहकारीको संख्या घटाउन सकिएको छैन । सहकारीका पदाधिकारी र प्रभावशालीहरुको एउटा स्वार्थ छ ।
सहकारी संस्थाहरुबाट विभिन्न संघहरुमा प्रतिनिधित्व गर्ने एउटा स्वार्थ छ र दलहरुको एउटा स्वार्थ छ । स्वार्थहरुको परिवन्दमा पारेर सहकारी क्षेत्रलाई बदनाम गर्ने कार्यमा सबै सहकारीकर्मीहरु कुनै न कुनै रुपमा संलग्न छौं ।
हाम्रा कर्मले सहकारी अभियानलाई बिकसित गरेका छौ त ? कि हाम्रा कर्म सहकारी अभियान बिस्तार गर्ने कार्यमा उन्मुख छन वा अनेक आवरण दिए पनि नितान्त नीजि हित उन्मुख छ भन्ने कुरामा पनि सहकारी अभियानले समिक्षा गर्न ढिलो भइसकेको छ ।
मेरो सहकारी, फलानाको सहकारी र दलको सहकारी भन्ने संस्कृति बचाइ राखेर सहकारीको उत्तम आदर्श खोज्नु, मेची जाने नाममा महाकाली जाने बसको टिकट लिनु जस्तै हो । यस बारेमा सहकारीको आदर्श स्वरुप खोज्नेहरुले फरक तरिकाले सोच्नै पर्छ । नत्र हरेक दिन सहकारीका बारेमा प्रकाशन प्रशारण हुने नकारात्मक समाचार पढ्दै मन अमिलो बनाउनु बाहेक विकल्प हुने छैन ।
सहकारीको नेता बन्न सजिलो छ, तर सहकारी सञ्चालन असहज छ । हामी हरेक ब्यक्ति नेता बन्न अनेक परिपञ्च गर्छौ, तर सहकारीको मूल्य र मान्यता अनुसार सञ्चालनमा कति समय दिन्छौ र संस्था भित्र कति प्रवन्ध गर्छौ भन्ने कुराका बारेमा पनि विमर्श आवश्यक छ ।
असल ढंगले सहकारी सञ्चालन गरेकाहरुको उत्तम ब्यवहार सिकौं, नत्र भने त्यस्ता नेताहरुलाई तिमीहरु नेता भनिन लायक छैनौ भन्न थालौ । यसले सुधारको एउटा अभियान शुरु गर्नेछ
मलाई लाग्छ सहकारी संस्थाका सञ्चालकहरुले अव सहकारीको अवलोकन भ्रमण वा अन्तर्कृया कार्यक्रम आयोजना गर्दा केन्द्रिय संघहरुका सञ्चालकहरुको प्रारम्भिक सहकारी संस्थाको भ्रमण र त्यहाँ अन्तर्कृया गरौं ।असल ढंगले सहकारी सञ्चालन गरेकाहरुको उत्तम ब्यवहार सिकौं, नत्र भने त्यस्ता नेताहरुलाई तिमीहरु नेता भनिन लायक छैनौ भन्न थालौ ।
यसले सुधारको एउटा अभियान शुरु गर्नेछ र साँच्चै राम्रो गर्नेहरुको नेतृत्व स्थापित हुनेछ । नत्र भने अहिले पनि दलका नाममा, अमूक नेताका नाममा वा गुटका नाममा सहकारी विभाजित भइरहनेछ । जसले गर्दा सहकारीमा सुधारको प्रतिष्प्रधा भन्दा पनि नेतृत्व हत्याउने प्रतिष्प्रधा बढिरहनेछ ।
सहकारी एउटा वित्तीय संस्था मात्र हो वा यो सामाजिक जीवन शैली पनि हो भन्ने बारेमा हामी अन्यौलमा छौ । वित्तिय संस्थामात्र हो भने यसको ध्येय केवल नाफा र फाइदा मात्र हो । यदि सहकारी सामाजिक वा सामुदायिक संस्था पनि हो भने यसले मानिसमा निश्चित आचरण, संस्कार र संस्कृतिको अपेक्षा गर्दछ ।
हामी कुन बाटोमा छौ, समग्र सहकारी अभियानको नेतृत्व कुन बाटोमा लागेको छ भन्ने कुरामा छलफल वा विमर्श भएकै छैन । सहकारी संस्थाहरुले निजी कम्पनीसंग साझेदारी गर्न नपाउने कानूनको बर्खिलाप गर्दै विगत कार्यकालका नेफ्स्कून नेतृत्वले प्राइभेट सफ्टवेयर कम्पनिमा साझेदारी गरेकोछ ।
तर त्यही पक्ष लुम्बिनीमा दुग्ध प्रशोधन गर्ने विशिष्टिकृत सहकारी संघमा लगानी गर्ने विषयको विरुद्धमा थियो । अहिले उनै ब्यक्तिहरुले सहकारी महासंघबाट पनि अर्को सफ्टवेयरका बारेमा केही जमर्को गर्र्दैछन । सहकारी बैंक समेत अर्कै सफ्टवेयर तर्फ आकर्षित छ भन्ने चर्चा चलेको छ ।
अर्थात सफ्टवेयरका नाममा केन्द्रिय निकायहरु रसिला बन्दैछन । यसको कारणका बारेमा धेरै चर्चा नगरौ । कारण प्रष्ट छ । अर्थात हामीसंग साझा सहकारी संस्कार, चरित्र र ब्यवहारको अभाव छ । हाम्रा जस्ता मुलुकमा सहकारीको रक्षा गरिएमा सहकारीले पनि नागरिकको रक्षा गर्दछ ।
चर्को ब्याज, मिटर ब्याजबाट नागरिकहरुलाई मुक्त गर्ने, साना तिना बचतबाट पूँजि निर्माण गर्न सघाउने, सदस्यलाई आत्मनिर्भर र स्वाभिमानी बन्न प्रेरित गर्दछ । बिनास गरिएको सहकारीबाट हामीलाई सुरक्षा वा भरोसा प्राप्त हुदैन । त्यसैले वित्तिय सुरक्षा र सेवा प्राप्त गर्नका लागि सहकारीको सुरक्षा गर्नुपर्दछ ।
सहकारी संस्थाको र सहकारी अभियानको सुरक्षा गर्ने दायित्व असल सहकारी संस्कृति विकास गर्न प्रयत्नशील प्रारम्भिक सहकारीको नै हो । यसका लागि प्रश्न गर्न, खबरदारी गर्न, हौसला दिन निरन्तर कृयाशिल बन्नु आवश्यक छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुन लागेको सहकारीकर्मीहरुको भेलाले सबैमा सहकारीको मूल्य मान्यता र आदर्श स्थापित गर्न प्रेरणा प्रदान गरोस, अर्को साधारणसभा सम्म हामी सबैले अझै ब्यवस्थित सहकारी बनाउन सकौ, सबैमा शुभकामना । ( भुसाल, सबैको बचत तथा ऋण सहकारी संस्था, मणिग्राम रुपन्देहीका अध्यक्ष हुन् )
Leave a comment