काठमाडौं । गण्डकी प्रदेश सहकारी कार्यालयले स्याङ्जाका सहकारीहरुसंग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । कर्यालयले जिल्ला सहकारी संघ स्याङ्जा र जिल्ला बचत तथा ऋण संघ स्याङ्जाको सहकार्यमा कार्यक्रम गरेको हो ।
कार्तिक २५ गते गल्याङ नगरपालिकामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता रहेको थियो भने कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा.टंकप्रसाद प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष अध्यक्ष लक्ष्मीपति शर्मा र जिल्ला बचत तथा ऋण संघ स्याङ्जाका अध्यक्ष रविन्द्र श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका, वालिङ नगरपालिका, चापाकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापक गरी ८५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा डा. प्रसाईंले सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी सम्बन्धी कानुनी विषय सम्बन्धी कार्यपत्र र शाखा अधिकृत ईश्वरी ढकालले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना, जिल्ला सहकारी संघका अध्यक्ष शर्मा, जिल्ला बचत तथा ऋण सहकारी सघंका अध्यक्ष श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारी संस्थाहरूको विकल्प नभएको तथापि शुद्धिकरण भने जरुरी रहेको सहभागीहरुले धारणा राखेका थिए । सहकारी संस्थामा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुनुपर्ने सम्बन्धमा जोड दिइएको थियो ।
कार्यक्रममा सहकारीकर्मीहरूले आचरण, व्यवहार सुधार गर्दै सहकारी संस्थामा अनावश्यक फजुल खर्च गर्न नहुने र सञ्चालक लगायत सबै पदाधिकारीहरूले आफ्नो काम, कर्तव्य एवं दायित्व जिम्मेबारीपूर्वक निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको थियो।
कार्यपत्र प्रस्तोताहरूले सहकारी संघ संस्थाले लगानीलाई उत्पादनमूलक र उद्देश्यमूलक बनाउनुपर्ने, खराब ऋण न्यून कायम राख्दै ऋण हानी व्यवस्था गरेर मात्र कोष बाँडफाँड तथा लाभांश वितरण गर्नुपर्ने बताएका थिए । कार्यक्षेत्रभित्र रही शेयर सदस्यसँग मात्र कारोबार गर्नुपर्ने र गैर सदस्यसँग कारोबार गर्न नहुने विषयमा जोड दिएका थिए ।
कार्यक्रममा अद्यावधिक नभएका सहकारी संघ संस्थाहरूले अद्यावधिकका लागि तुरुन्त सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्नु पर्ने र सहकारी संस्थाका विवरणहरू अनिवार्यरूपमा कोपोमिस प्रणालीमा प्रविष्टि गर्नुपर्ने बारेमा समेत चर्चा भएको थियो।
Leave a comment