हाइलाइट

सहकारीको शक्तिशाली नियामक निकायको काम अन्तिम चरणमा : मन्त्री अधिकारी

सहकारीको शक्तिशाली नियामक निकायको काम अन्तिम चरणमा : मन्त्री अधिकारी :: Sahakari Akhabar

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको प्रभावकारी नियमनको लागि शक्तिशाली नियामक निकायको काम अन्तिम चरणमा पुगेको बताएका छन् । उनले सहकारी स्वःनियमन र स्वः अनुशासनमा सञ्चालन हुने संस्था भनिएपनि व्यवहारमा नदेखिएको भन्दै दोस्रो तहको नियामक निकाय गठन गर्ने भन्ने विषय थपिएर उक्त निकाय गठन गर्न लागिएको जनाएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीमा स्वःनियमन र स्वायतत्ता भएपनि सहकारी त्यसअनुसार सञ्चालन नभएपछि सरकारले बाध्य भएर दोस्रो तहको नियामक निकाय गठन गर्नुपरेको बताए ।

मन्त्री अधिकारीले भने, ‘धेरै पटक सहकारी संस्थाको प्रभावकारी नियमनको लागि शक्तिशाली नियामक बनाउने कुरा उठेपनि त्यो हुन सकेको थिएन, अहिले भने अन्तिम चरणमा पुगेको छ, ऐनमा नै सहकारीमा दोस्रो तहको नियामक निकाय गठन गर्ने भन्ने विषय थपिएर उक्त निकाय गठन गर्न लागिएको छ ।’

उनले सहकारी ऐन ल्याएको छोटो समयमा नै फेरि ऐन संसोधनको प्रक्रिया अगाडि बढाइकाले के के बुँदामा संसोधन गर्नुपर्ने हो, अभियानको तर्फबाट उपलब्ध गराउन उनले आग्रह गरे । मुलुकभर ३१ हजार सहकारी संस्था भने पनि त्यसको यकिन डाटा कोहीसँग नभएको भन्दै मन्त्री अधिकारीले भने, ‘कतिपय सहकारी संस्था विशेष उद्देश्यले गठन भएको र उद्देश्य पुरा भएपछि बन्द भएको पनि हुनसक्छ ।

ती संस्थाको कार्यालय कहाँ छ ? हरेक बर्ष अपडेट भएका छन् कि छैनन् ती सबै कुरा अध्ययन नगरी ३१ हजार सहकारी भन्नु राम्रो हँुदैन । सहकारीको यकिन तथ्याङक सरकार र अभियान दुबैसँग छैन, अब पालिक, प्रदेश र संघबाट सहकारीको वास्तविक तथ्याङ्क निकाल्नुपर्छ।’

सदीय छानविन समितिको प्रतिवेदनले केहि विषयमा दोहोरो कुरा गरेकाले मन्त्रीपरिषद्को बैठकबाट किटान गरेर अगाडि बढ्ने उनले बताए । सहकारीको समस्या बुझ्न विज्ञ समिति बनाएको र उक्त समितिले सातै प्रदेशका सहकारीहरुको समस्या अध्ययन गर्ने उनले जानकारी दिए ।

मुलुकमा बचत तथा ऋण बाहेकका समेत सहकारी संस्था रहेकाले बचत ऋण सहकारी मात्रै राम्रो भएर अभियान बलियो नहुने भएकाले सबै प्रकृतिका सहकारी राम्रो हुनुपर्नेमा उनको जोड छ । वित्तीय सहकारीले राम्रो काम गरे पनि अन्य सहकारीले गलत गरे भने अभियान नजोगिने भन्दै उनले सबै प्रकृतिका सहकारी संस्था राम्रो बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।

सहकारीलाई अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा लिएको र सामान्य जनतालाई जोड्ने माध्यम नै सहकारी भएकाले यसको विकल्प नभएको उनको भनाई छ । सरकार र अभियानबीच समन्वय आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले त्यो बिना अभियान अगाडि बढ्न नसक्ने प्रष्ट पारे ।

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको सभामा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कँडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाई, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले शुभकामना मन्तब्य राखेका थिए । संघको साधारण सभाले आजै नयाँ संचालक समिति चयन गर्दैछ ।



Leave a comment