सहकारीले लाखौं जनताको जिवनस्तरमा परिवर्तन ल्याई आर्थिक समुन्नती मार्फत देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिराखेको छ । सरकारी, नीजि र सहकारीलाई नेपालको संविधानले नै तीन खम्बे अर्थनीतिका रुपमा अगाडी सारेको कुरा प्रष्ट नै छ । तर आजभोली तीन खम्बा मध्येको एउटा खम्बा समस्यामा परिरहेको देखिन्छ, त्यो हो सहकारी ।
खासगरी कोभिड १९ र विश्वमा आएको आर्थिक मन्दीले एउटा कारक तत्वको रुपमा भूमिका खेलेको भए पनि सहकारी क्षेत्रकै कैयन विकृति र विसङ्गतीको कारण अहिले सहकारीले असहज वातावरणको सामना गर्नुपरेको तथ्य कतैबाट पनि लुकेछिपेको छैन ।
वर्तमान समय सहकारी क्षेत्रको लागि अत्यन्तै कष्ठकर र अन्यौलताले भरिपूर्ण समय हो । यस्तो अवस्था आउनुको पछाडी विभिन्न तत्वहरुले प्रभाव पारेका छन् । सहकारी क्षेत्र धरमराउनुमा यसै क्षेत्रमा क्रियाशील व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा सहकारीहरुलाई चलाउन सकेको भए आज यस्तो अवस्था पक्कै पनि आउने थिएन।
सहकारी मार्फत् समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नती गर्ने भन्ने वहानामा आ आफ्नै व्यक्तिगत उन्नती गर्नतिर सहकारीका सञ्चालकहरु लागिपरे । जसले गर्दा दशकौं देखी लाखौं जनताको आर्थिक, सामाजिक सहयात्रीको रुपमा रहेको सहकारी क्षेत्र आजको जटिल अवस्थामा आईपुग्यो ।
लामो समय सहकारी क्षेत्रमा विताएका व्यक्तिहरुले नै कतिपय सहकारीमा बदनामीको दाग लगाईदिए । विगतमा सहकारीले गरेको कैयौं राम्रा र उदाहरणिय कार्यहरुलाई वर्तमानको सहकारीको अवस्थाले धुलीसाथ बनाईदियो । राष्ट्रिय दैनिक पत्र पत्रिकाहरुमा निरन्तर रुपमा महिनौं सम्म सहकारीका नकारात्मक समाचारहरु मात्र सम्प्रेषण भए । जसले गर्दा सहकारीका सदस्य र आम जनमानसमा सहकारी क्षेत्र साँच्चै नै गतल हो की भन्ने सम्मको भ्रम सिर्जना भए ।
पैसा नहुनेले सञ्चालन गर्नुपर्ने सहकारुहरुमा पैसा हुनेहरुको विगविगी देखिन थाल्यो । सामूहिकताको भावना केवल सिद्धान्तमा मात्र सीमित रहन पुग्यो । सरकारको उदासीपना र राजनीतिक हस्तक्षेप अनि खामबन्दीको परम्पराले त झनै सहकारी क्षेत्रलाई सखापै पार्ने खतरामा सम्म पुर्यायो ।
यति विघ्न हुँदासम्म पनि सहकारीकर्मीहरु आफू सच्चिन तयार भएनन् बरु उल्टै यो क्षेत्रलाई धमिरालागे जस्तै लागिरहे र सहकारी ऐन, नियमावलीको खिल्ली उडाई नै रहे । जसले आफूलाई सहकारीको अब्बल कार्यकर्ता ठान्छ त्यही नै शुरुमा सहकारी ऐन मिच्न र गैर कानुनी रुपमा बहु पदीय जिम्मेवारीहरुमा रहेर शान देखाईरहेको हुन्छन ।
कमसेकम यस्तो अवस्थासम्म आईपुग्दा अलिकति त चेत फिर्नु पर्ने हो तर त्यस्तो लक्षण अझै सम्म पनि देख्न सकिईरहेको छैन । चुनावी साधारणसभाको बेला आम निर्वाचनको समयमा जस्तो भोट माग्न खप्पिस सहकारीका नेतृत्व गण त्यसपछिका ४ वर्ष कता के काममा व्यस्त हुन्छन् कसैलाई पनि थाहा हुन्न ।
राजनीतिक कोटा र भागवन्डा सञ्चालक समितिको बनावटको मापदण्ड बनिसकेका छन् । स्वतन्त्र व्यक्तिलाई सञ्चालक पदमा पुग्नु ज्यादै मुश्किील कुरा हो । सहकारीलाई सहकारीतामा चलाउनुको साटो व्यापारीकता र दलालीमा चलाउनु ज्यादै दुखद् क्षण बन्न पुग्यो ।
नियामकले समय समयमा विभिन्न सूचनाहरु निकाल्न बडो हिम्मत जुटाउँछ । खै कताबाट त्यत्रो शक्ति आउँदो हो ! सहकारी ऐनमा भएका प्रावधानहरु स्वतः कार्यान्वयनमा जानुपर्नेमा तीनै प्रावधानहरु कार्यान्वयन गराउन कै लागि सूचना पाटीको सहारा लिईरहेको हुन्छ ।
नेपाली समाजलाई दलाल पूजिँबादबाट मुक्त गरि समाजवादतर्फ अग्रसर गराउने महान् उद्धेश्यले सहकारीताको विकास गरिएको भएता पनि यसको दुरुपयोगबाट रोक्न नसक्दा समस्या सिर्जना भएको हो । सेवालाई भन्दा मेवालाई प्राथमिकता दिँदा आज सेवा र मेवा दुईटै प्राप्त गर्न सकिने क्षेत्र असफलताको डिलमा पुग्यो ।
वास्तवमा सहकारी क्षेत्रजस्तो पवित्र र सान्दर्भिक क्षेत्र विरलै छन् । यस्तो पवित्र क्षेत्रमा प्रवेश गरेर कुनियत साँध्ने दुश्शाहस नै दुर्भाग्यपूर्ण छ । सहकारीले आम जनताको सहभागितामा आर्थिक गतिविधि मार्फत् उत्पादनसँग जोडिनुपर्नेमा रियलस्टेट, सेयरबजार र नीजि कम्पनीसँग जोडिँदा आजको दिन आएको हो ।
यति सबै भई सक्दा पनि सहकारीका उपल्ला तहमा रहेका नेतृत्वहरुमा अझै पनि काम गराई र कुरा गराईमा आकाश पातालको भिन्नता छ । स्वयम् लागिपरेको क्षेत्र सखापै हुने अवस्थामा पुग्दा पनि सच्चिन तयार छैनन् । नियामकले समय समयमा विभिन्न सूचनाहरु निकाल्न बडो हिम्मत जुटाउँछ । खै कताबाट त्यत्रो शक्ति आउँदो हो !
सहकारी ऐनमा भएका प्रावधानहरु स्वतः कार्यान्वयनमा जानुपर्नेमा तीनै प्रावधानहरु कार्यान्वयन गराउन कै लागि सूचना पाटीको सहारा लिईरहेको हुन्छ । खुल्ला फोरमहरुमा जिम्मेवार पदाधिकारीहरु दोहोरो सदस्यता, सहकारीको तहगत वितरण, कार्यक्षेत्र जस्ता ऐनमा नै व्यवस्था भएका प्रावधानहरुका विषयमा बोल्नु नियामकका लागि फलामकै चिउरा सरह भएको देखिन्छ ।
सकेसम्म ३/४ वटा त्यो नभए पनि कम्तिमा २ वटा संघहरुमा सञ्चालक वा पदाधिकारी त हुनैपर्ने दूषित मानसिकता देखिन्छ । अघाउँजी पद बोक्नसक्नेले पदिय जिम्मेवारी चाँही निभाउनु पर्छ भन्ने हेक्का पनि गर्नुपर्ने हैन र ? पदिय जिम्मेवारी लिएकाले यस्तो समयमा समेत कानूनको कार्यान्वयन गर्न उदासिन व्यक्तिबाट सहकारी क्षेत्रको उद्धार होला भन्ने कल्पना गर्नु सम्भव छ त ? यतिसम्म भैसक्दा पनि सच्चिन नसक्ने हो भने अब सच्चिने कि सकिने अनि सच्चिने भए कहिले होला त ! यो आम सवालको जवाफको प्रतिक्षा गरौं ।
Leave a comment