हाइलाइट

नेफ्स्कून नयाँ समितिको ६ महिना, ६ उपलब्धि  

नेफ्स्कून नयाँ समितिको ६ महिना, ६ उपलब्धि   :: Sahakari Akhabar

‘समय के हो ?’ सामान्य लाग्ने यो प्रश्नमा प्रसिद्ध दाशर्निक अगष्टाइनको एउटा गहन भनाइ छ, ‘कसैले मलाई सोध्दैन भने मलाई थाहा छ । तर, कसैले सोध्यो भने मलाई पनि केही थाहा छैन । किनकि, म उसलाई समय के हो बुझाउन सक्दिनँ ।’ समयको साश्वत प्रवाहलाई कतिपय सन्दर्भमा बुझाउन कठिन हुन्छ ।

यद्यपि, समयबारेको संचेतना आन्तरिक अनुभवबाट जन्मने विषय पनि हो । बचत तथा ऋण विषय सहकारीहरुको केन्द्रीय अभिभावक संघ नेफ्स्कूनमा नयाँ सञ्चालक समितिले कार्यारम्भ गरेको आज ६ महिना पुगेको सन्दर्भमा समयसम्बन्धी अगष्टाइनको मार्मिक कथन मानसपटलमा त्यसै आएको होइन भन्ने लाग्छ ।

साकोस अभियानको शुद्धीकरण र सबलीकरणमार्फतसमग्र सहकारीको इकोसिष्टमलाई स्वच्छ, पारदर्शी, सुशासित, दिगो बनाउने उद्देश्यका साथ हामी २२ जनाले पदबहाली गरेको आज आधा वर्ष पुगेको हो । यसबीच, आत्मकेन्द्रित नभइ परकेन्द्रित भएर हेर्दा हालसम्म प्राप्त मुख्यः उपलब्धिहरुको चर्चा यहाँ गर्न खोजेको छु ।

सहकारी ऐन २०७४ को दफा ४३ मा उल्लिखित सञ्चालक समितिको काम, कर्तव्य र अधिकारको पहिलो नम्बर अर्थात् (क) मा सहकारीको मूल्य, मान्यता र सिद्धान्त बमोजिम सहकारी संस्थाको सञ्चालन गर्ने रहेको छ । वास्तवमा सहकारी सञ्चालनका लागि प्रधान विषय यही हो । यो बुँदालाई बाच्न सकियो भने अन्य बुँदाहरु स्वतः बाचिन्छ भन्ने लाग्छ ।

त्यही भएर नेफ्स्कूनको यो सञ्चालक समितिको संकल्प नै सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई निष्ठापूर्वक जीवन्तता प्रदान गर्ने हो । यसैलाई शिरोपर गरेर ‘डे वन’ देखि सुरु गरेको हाम्रो यो चारवर्षे यात्रामा अब साढे ३ वर्ष शेष छ । यो छ महिनामा आफ्नो तस्बिर आफैले ऐना हेर्दा कस्तो देखिएको छ, त्यसलाई ६ प्रमुख विषयहरुमा समेटेर प्रस्तुत गर्ने कोशिस गरेको छु ।

बहस तथा पैरवी

नेफ्स्कूनको मुख्य काम यही हो । नयाँ सञ्चालक समितिमार्फत सरकार र सरोकारवालाहरुसँगको बहसपैरवी बाक्लिएको छ । असल नियत र दुरदृष्टिको बलमा यो उपलब्धि हासिल भएको हो । सहकारीसम्बन्धी विद्यमान कानून संशोधनसँगै नयाँ कानूनी संरचनाहरु निर्माण तथा संस्थाहरुलाई अनुकूल वातावरण निर्माणको निष्ठामा नेफ्स्कून सरकारसँग सम्वाद र सहकार्यमा रहेको छ । हामीले रचनात्मक सुझावहरु राखेका छौं ।

बहसपैरवीहरुमा नेफ्स्कून सुनिन थालेको छ । तालुकदार मन्त्रीसँगै नियामक निकायका अधिकारीहरुसँग अनौपचारिक छलफलहरुमा हामीले हाम्रो उद्देश्य, मनसाय र अपेक्षाहरु बुझाउन सफल भएका छौं । फलस्वरुपः नेफ्स्कूनको भूमिकाबाट उहाँहरु प्रभावित हुनुभएको छ।

सबै बचत ऋण सहकारी नेफ्स्कून होइनन् र हाल संकटमा परेका सहकारीहरु सबै नेफ्स्कूनको छाताभित्रका होइनन् भन्ने बुझ्नुभएको छ । नेफ्स्कूनको नेटवर्कमा रहेकाहरु सुशासित, सदस्य केन्द्रीत, विश्वसनीय, पारदर्शी र संस्थागत रुपमा नियमित सुपरिवेक्षण र अनुगमनमा छन् भन्नेमा ढुक्क हुनुभएको छ ।

आवश्यकताका आधारमा सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी  महासंघ नेपालमार्फत आफ्ना विषयहरु सरकारसँग राख्ने काम भएको छ । हिजोको जस्तो महासंघ छुट्टै नेफ्स्कून छुट्टै हिडेका छैनौं । यसले हाम्रो शक्तिलाई मजबूत तुल्याएको छ । पोलिसी डाइलगदेखि अन्य कानूनी विषयहरुमा हामी नियामक निकायसँग रहेका छौं । सबै छलफलमा नेफ्स्कून सहभागि भएको छ।

नेफ्स्कूनका सुझावहरु मनन गरिएका छन् भने नियामकीय निर्देशनहरुलाई नेफ्स्कून सञ्चालक समितिले शिरोपर गरेको छ । सहकारी अभियानमा नेफ्स्कूनको योगदान सरकारको चर्चाको विषय बनेको छ। नेफ्स्कूनका कार्यक्रमहरुमा मन्त्रीदेखि सचिव, रजिष्ट्रारको सहभागिता छ।

विभागसँगको सहकार्यमा सातै प्रदेशमा साकोसहरुको जोखिम विश्लेषण कार्यशाला (सार) भएका छन् । यो बेला यो विषय भन्दा सान्दर्भिक अर्को हुँदैन भनेर यी कार्यक्रमहरुमा सहभागी मन्त्रालयका सचिव, रजिष्ट्रार, स्थानीय सहकारी रजिष्ट्रारहरु लगायतले अभिव्यक्ति दिइसक्नुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ।

अब बिस्तारै छुट्टै क्रेडिट युनियन ऐनका दिशामा हाम्रा बहसहरु केन्द्रीत भएका छन् । केही समयभित्रै देखापर्ने सुधारहरु, स्थापना हुने कानूनी संरचनाहरुसँगै अबको केही समयभित्रै हामी हाम्रो मुख्य लक्ष्य छुट्टै ऐनका लागि थप छफलमा बस्नेछौं ।

बहस पैरवीको लागि अनुकूल वातावरण निर्माण नै महत्वपूर्ण विषय हो । हिजो नेफ्स्कूनको कार्यक्रममा र नेफ्स्कून कार्यालयमा आउन अहसज मान्ने मन्त्री, सचिव र रजिष्ट्रार आज हाम्रा कार्यक्रमहरुमा निरन्तर सहभागी हुनुभएको छ।

यसले हामीलाई उर्जा मिलेको छ । यहाँ भएन, यो ठीक छ, यसलाई यसरी परिमार्जन आवश्यक छ भनेर बारम्बार सल्लाह सुझाव प्रदान गर्नुभएको छ, मागनिर्देशित गर्नुभएको छ । यसले हाम्रो पैरवीलाई परिणाममुखी बनाउन सहयोग गरेको छ ।

सञ्जाल व्यवस्थापन

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगो, व्यावसायिक र पृथक पहिचान स्थापित गर्न पनि नेफ्स्कूनले सञ्जाल व्यवस्थापनको विषय अघि सारेको छ । हुनत् हामीले सहकारी अभियानकै सञ्जाल व्यवस्थापनको विषय पनि सम्बोधन गर्नुपर्ने छ । तहगत संरचनाहरुका सम्बन्धमा व्याप्त अन्योलहरु चिर्दै तिनको स्पष्ट खाका तयार गर्नुपर्ने हुन्छ जसको अगुवाई महासंघले गर्नेछ भने नेफ्स्कून त्यसमा जोडिनेछ।

जहाँसम्म साकोस अभियानको सञ्जाल व्यवस्थापन छ त्यसको लागि नेफ्स्कूनले सञ्जाल साझेदारीको कार्यक्रम अघि बढाएको छ । यसका लागि प्रदेश तथा जिल्ला बचत संघका प्रतिनिधिहरुसँग नगरकोटमा २ दिन भेला गरी राय, सल्लाह र सुझावहरु समेटी कार्यविधि पनि निर्माण गरेका छौं ।

जिल्ला संघ साझेदारी सञ्जाल साझेदारी बनेको छ । यो केवल लहैलहैमा वा व्यावसायिक कारोबारलाई मात्र ध्यान दिएर अघि बढाइएको विषय होइन । समग्र साकोस अभियानलाई संगठित, एकताबद्ध र दिगो बनाउने उद्देश्यले अघि सारिएको अवधारणा हो । यसले जिल्ला र प्रदेश बचत संघहरुसँग नेफ्स्कूनको सम्बन्ध घनिष्ठ बनाउने छ।

मलाई सम्झना छ, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कम्तिमा २ ÷ ३ पटक नेफ्स्कूनले सञ्जाल साझेदारीको विषयमा यसरी घनीभूत बहस र छलफल पहिले गराएको थिएन भनेर सार्वजनिक अभिव्यक्ति नै दिनुभएको छ । यस्तै, धारणा देशभरबाट सहभागी जिल्ला र प्रदेश बचत संघका प्रतिनिधिहरुको रहेको छ।

एशियाली ऋण महासंघ (अकू) ले पनि सञ्जाल व्यवस्थापनलाई जोड दिएको छ । नेफ्स्कूनले रणनीतिक मार्गचित्र भित्र धेरै अघिदेखि यो विषय प्रवेश गरेपनि आगामी आर्थिक वर्षबाट हामी सञ्जाल साझेदारीलाई नयाँ ढंगबाट अघि बढाउँदैछौं ।

हिजोको जस्तो जिल्ला संघ सम्झौता गर्ने र छोड्ने होइन अब सञ्जाल साझेदारी गरेर परिणाम देखिने गरी दुबै पक्षबाट काम गर्ने गरी तयारी भएका छन् । यो गोष्ठी, छलफल, कार्यविधि संशोधन र तयारी अर्को उपलब्धि हो । यसले दिने परिणाम नेपालको साकोस अभियानमात्र नभइ समग्र सहकारी अभियानकै लागि उदाहरणीय बन्नेछ । यो अर्को उपलब्धि हो।

सुशासन सबलीकरण

निर्वाचनअघि देखि नै हामीले उठाएको विषय हो शुद्धीकरणमार्फत सुशासित नेफ्स्कून निर्माण गर्ने । र त्यो शुद्धीकरणको अभियान आफैबाट थालनी गरेका छौं । हिजोका गल्ती र कमजोरीहरुबाट पाठ सिकेर सञ्चालकहरुको सेवा सुविधा र भत्ता कटौतीदेखि खर्च व्यवस्थापनमा मितव्ययीता अपनाएका छौं ।

सुशासनका कार्यविधिहरु अवलम्बन गरिएका छन् । अन्य आन्तरिक कार्यविधि निर्माण गरेका छौं । सञ्चालक समिति र व्यवस्थापन आचार संहिताको परिधिभित्र बाँधिएका छौं । गलतलाई गलत र सहीलाई सही भन्ने सञ्चालक समिति छ । यो ठूलो साहसको विषय हो । यसले पनि राम्रो काम गर्न उर्जा मिलेको छ ।

संघले आयोजना गर्ने कार्यक्रमहरुलाई औपचारिकताभन्दा उद्देश्य र विषयवस्तु केन्द्रित बनाउने प्रयत्न गरेका छौं । प्रारम्भिक संस्थाहरुलाई पनि खर्च कम गर्न सुझाएका छौं । कार्यक्रमहरुका बाहिरी आवरणभन्दा उद्देश्य उन्मुख हुन आग्रह गरेका छौं । सदस्यहरुको बचतको पाइपाइको मूल्य हुन्छ भन्ने कुरा हृदयंगम गरिएको छ।

सदस्यहरुसँग नजिकको सम्बन्ध कायम गरेका छौं । सुशासनको सवालमा हामी शुन्य सहनशीलताको नीति अवलम्बन गरेका छौं । सुशासन बोलेर भन्दा व्यवहारबाट झल्कने कुरा बारम्बार भन्दै पनि आएका छौं जसलाई व्यवहारले पुष्टि गर्दै गएको अवस्था छ।

आन्तरिक रेट्रोफिटिङ

हामीले आन्तरिक रुपमा संस्थागत सुधारका योजनाहरु कार्यान्वयनमा ल्याएका छौं । सञ्चालक समितिदेखि व्यवस्थापनसम्म संघ सञ्चालनमा केही नवीन परिपाटी अवलम्बन गरेका छौं । सही व्यक्ति, सही जिम्मेवारी प्रदान गरेका छौं ।

हरेक सञ्चालकलाई टिओआरसँगै गुरुत्तर अभिभारा प्रदान गरिएको छ । टीम स्पिरिटलाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएका छौं । स्थानीय सरकारहरुसँग सुमधुर सम्बन्ध विस्तारको जिम्मेवारी प्रत्येक सञ्चालकलाई प्रदान गरिएको छ।

उपसमितिहरुले पूर्णता पाइ काम सुरु गरेको अवस्था छ । यी बैठकले समितिको टीम वर्क र स्पिरिट प्रष्ट पारेको छ । सुशासनका संगीन पक्षहरु उत्तरदायित्व, पारदर्शीता र जवाफदेहितालाई अक्षरशः अंगालेका छौं । व्यवस्थापकीय उल्झनहरु सुल्झेका छन् । अब साउनमार्फत सफलताको स्वाद चाख्ने गरी कामहरु भएका छन् । घर रेट्रोफिटिङ गरेपछि चिरस्थायी बन्ने विश्वास पनि बढेको छ।

संघको वित्तीय अवस्था बलियो बनाउने काममा व्यवस्थापन लागेको छ । सुरक्षित लगानी अनि उत्पादनशील क्षेत्रमा लगानीलाई जोड दिएका छौं । संघका स्तरीकरण कार्यक्रमहरुको प्रभावकारिता मापनसँगै समयानुकूल संशोधन परिमार्जनसहित सर्वसुलभ र पहुँचयोग्य बनाउने गरी व्यवस्थापनलाई काम गर्ने अधिकार सुम्पेका छौं । लीडरशीप बुटक्याम्प सकिएको छ । 

विकास साझेदार तथा बलियो अन्तर्राष्ट्रिय सम्बन्ध

सहकार्य, समन्वय र समझदारीको आयामलाई बलियो बनाउँदै हामीले हाम्रा विकास साझेदारहरुसँग दिगो र व्यावसायिक सम्बन्ध विस्तार गरेका छौं । सहकारीमार्फत उद्यमशीलता, रोजगारी, स्वरोजगारी, सीप विकास, पुँजी, प्रविधि र विज्ञ परामर्श सहजीकरणको मुल उद्देश्यसाथ हामीले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी अमेरिकी नियोग युएसएडसँग दिगो सम्झौता गरी कार्यक्रमहरु अघि बढाएका छौं।

फलस्वरुप, २४ वटा प्रारम्भिक संस्थाहरुमा व्यवसाय विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना भइ सदस्यहरुलाई सीप, पूँजी, प्रविधि र परामर्श सहजीकरणमा लागिसकेका छन् । सहकारी संस्थाहरुमा बीडीएस डेस्क नौलो अवधारणा हो र यसले अन्य थुप्रै साकोसहरुलाई पनि आकर्षित गरेको हामीले पाएका छौं ।

यसैगरी, सहकारीका सदस्यहरुलाई उद्यमी बनाउन, भविष्यका लागि नयाँ सम्भावना रोज्न र वित्तीय रुपमा साक्षर बन्न अत्यन्तै आवश्यक वित्तीय साक्षरता प्रवर्धनका लागि नेदरल्याण्ड्सको बहुचर्चित अफलातून इन्टरनेशनलसँग सम्झौता भई काम सुरुवात हुँदैछ । यसले हामीलाई थप हर्षित तुल्याएको छ । वित्तीय साक्षरता बिना सहकारीका सदस्यहरुलाई आत्मनिर्भर र उद्यमशील र भविष्यद«ष्टा बनाउन सकिदैन भनेर यो कार्य थालनी भएको हो ।

नेफ्स्कूनको आगामी रणनीतिक मार्गचित्रलाई चिरपरिचित अन्तर्राष्ट्रिय साझेदार निकायको विज्ञ परामर्शमा अन्तिम रुप दिने सहमति अर्को उपलब्धि हो । यसले हाम्रो कार्यदिशालाई थप स्पष्ट, सदस्य केन्द्रीत, व्यावसायिक र दिगो बनाउने विश्वास गरेका छौ ।

त्यस्तै, जर्मनीको डीएसआइकेसँगको सम्झौता अनुरुप सिमुलेशनका थुप्रै कार्यक्रमहरु सञ्चालनमा छन् । सँगै आईसीए, विश्व ऋण परिषद् र एशियाली ऋण महासंघसँगको निरन्तर सम्बन्ध त छदैछन् । यी अन्तर्राष्ट्रिय सम्बन्धहरु नेफ्स्कूनको दिगोपना र व्यावसायिकताका द्योतक हुन् ।

छवि सुधार

सुशासनमा निमर्म भएर कामहरु अघि बढाएपछि बाहिरी छवि सुधारको मार्ग प्रशस्त हुन्छ । सदस्य संघ संस्थाहरुसँग असल मनसाय राखेर बारम्बार छलफल गरेका छौं । देशभर रहनुभएका सञ्चालकहरुले आफ्नो क्षेत्रका संघ संस्थाहरुसँग ओपन माइन्डका साथ बस्नुभएको छ, उहाँहरुको कुरा सुन्नुभएको छ र नेफ्स्कूनको यो सञ्चालक समितिले गर्न खोजेका कामहरुबारे स्पष्ट बताउनुभएको छ ।

संवादहरु सरसपूर्ण भएका छन् यसले गर्दा नेफ्स्कून साँच्चै हाम्रा लागि हाम्रो अभिभावक हो भन्ने सन्देश प्रवाह भएको छ । विगतमा भएका लगानीका गल्ती र कमजोरीहरुलाई सुधार्न लागिपरेका छौं र भाखा नाघेका ऋणहरु असुलीमा समग्र सञ्चालक समिति र व्यवस्थापनले मिलेर काम गरेकोले नतिजाहरु निक्लदै गएका छन् ।

वित्तीय अनुशासनको परिपालनामा अझ निमर्म भएका छौं जसका कारण छवि सुधार भएको छ । यो वर्षको सालतमामी सुखद हुने विश्वास लिएका छौं । वास्तवमा यो आलेखमा समेटिएका बाँकी ५ बुँदामा प्राप्त उपलब्धिहरुले संस्थागत छवि सुधारमा समुच्च काम गरेका छन् ।

अर्को, महत्वपूर्ण विषय नेफ्स्कू र सञ्चारमाध्यमबीच सुमधुर सम्पर्क स्थापित भएको छ । सरकार र अन्य सरोकारवालाहरुसँग पनि हामी लक्ष्य, उद्देश्य, रणनीति र कार्यक्रमहरुमार्फत सुसम्बन्धमा छौं । हाम्रो अभिभावक संघ राष्ट्रिय सहकारी महासंघ नेपाल तथा अन्य विषयगत संघहरुसँगको सम्बन्धले विगतको तुलनामा युटर्न लिएको छ।

यी यावत् कारणहरुको समष्टिमा नेफ्स्कूनको बाहिरी छविमा निक्कै सुधार आएको सबैले महसूश गरेको अवस्था छ । सञ्चालक समितिको स्पिरिटमा त्यो भाव झल्एिकोले हामी अबका दिनमा नेफ्स्कूनको बलियो बिरासतलाई थप मजबूत बनाउन सक्षम हुनेमा आशावादी मात्र होइन विश्वस्त पनि छौं ।

अर्को भनेको ,साकोस अभियानको माग सम्बोधन हुने गरी साझा प्रविधि विकासको दिशाका हिजोको गल्ती कमजोरी र अफ्ठेराहरु क्रमश साँघुरिदै गएका छन् । महासचिवको संयोजकत्वमा सातै प्रदेशको भावना बुझ्ने काम भइ थप सुधारका काम भएका छन् ।

करिब ३ सय साकोसहरु मिरा इआरपीमा आवद्ध भएका छन् । त्यस्तै, साकोस भवन निर्माणले गति लिएको छ । यस्तै, सदस्यको बचत संरक्षण र उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै स्वास्थ्य पोर्टफोलियो निर्माण सञ्चालक समिति र व्यवस्थापनको साझा लक्ष्य बनेको छ ।

संघको वित्तीय अवस्था बलियो बनाउने काममा व्यवस्थापन लागेको छ । सुरक्षित लगानी अनि उत्पादनशील क्षेत्रमा लगानीलाई जोड दिएका छौं । संघका स्तरीकरण कार्यक्रमहरुको प्रभावकारिता मापनसँगै समयानुकूल संशोधन परिमार्जनसहित सर्वसुलभ र पहुँचयोग्य बनाउने गरी व्यवस्थापनलाई काम गर्ने अधिकार सुम्पेका छौं । लीडरशीप बुटक्याम्प सकिएको छ ।

स्थिरीकरण कोषको दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । यसलाई अभियानको जगेडा कोष बनाउने दिशामा हामी प्रतिबद्ध छौं । सहभागिता बढ्दो छ । अब कोषमार्फत जोखिम सुपरिवेक्षणको काम अघि बढाउने तयारी हामीले गरेका छौं । साउनबाट हामी आवद्ध साकोसहरुको जोखिम मनिटरिङ गर्ने लेवलमा उत्रदै छौं ।

१६औं आवधिक योजनादेखि सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनमा समेत स्थिरीकरण कोषमा सबै बचत तथा ऋण सहकारीको अनिवार्य आवद्धताको विषय सिफारिश भएको छ ।मन्त्री, सचिव र रजिष्ट्रारका भनाइहरुबाट हौसला र आँट प्राप्त भएको छ । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमिति सदस्यहरुको योगदान कोषमा भएको छ भने कुनै न कुनै स्तरीकरण कार्यक्रममा आबद्ध भएको छ।

साकोस सिद्धान्तको जीवन्तता

यी सबै सहकारीका सर्वमान्य ७ सिद्धान्तसँगै बचत तथा ऋण सहकारीहरुको पृथक तर अत्यन्त संवदेशनील कार्यप्रकृतिका आधारमा विश्व ऋण परिषद् (ओकू) ले यसका थप सिद्धान्तहरु प्रतिपादन गरी विश्वभर लागू गरेको छ । नेपाल सन् २०१८ मा मात्र ओकूको सदस्य बनेपनि एशियाली ऋण महासंघ (अकू) मार्फत ओकूसँग अप्रत्यक्ष जोडिदै आएको छ ।

नेफ्स्कूनले ओकूमार्फनै अकूद्वारा प्रतिपादित सिद्धान्त, मूल्य मान्यता, नवीन अभ्यासहरुको सिकाइ र आन्तरिकीकरण गर्दै आएको इतिहास छ । सहकारी संरचना, सदस्य सेवा र सामाजिक उत्तरदायित्वभित्र अटाएका कुल १० वटै सिद्धान्तको सेरोफेरोमा नेफ्स्कूनले आफ्ना काम कारवाहीलाई आधारित तुल्याएको छ ।

यिनलाई हाम्रो पद्धति बनाएका छौं । हाम्रो गन्तव्य गतिशील छ, गजबको छ, रोजेको बाटो सही छ चालेको पाइला संयमित छ, भने हामीले लक्ष्य नभेट्टाउने कुरै छैन । म सञ्चालक सममितिका सबै साथीहरुलाई यो कुुरामा थप विश्वस्त हुन आग्रह समेत गर्दछु । अन्त्यमा पुनः समयको महत्वबारे मलाई कसैले सोध्ने छैन भन्ने विश्वासका साथ ।



Leave a comment