काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने जनयुक्ती कहीकतै लागु हुन्छ भने, त्यो हो सहकारी क्षेत्र । सहकारीको समस्याले सडक र सदनमा सनसनी फैलाएपनि काग कराउँदै गर्छ पिना सुक्दै गर्छको पाराले साच्चै पिडितको पिडाको पारो चढ्नु स्वभाविकै हो ।
सहकारीका समस्याले कोलाहल मच्चाउँदा पनि कानमा तेल हालेर सरोकारवाला ताइ न तुईका कार्यक्रममा बरालिएको देख्दा तपाईएको मन मगज सहकारी बिरोधि बन्यो भन्ने आरोप लगाउन मिल्ला र ? बरु सहकारीका समस्या समाधानका तरिका खोज्ने, मेला भेला र गोष्ठीमा उपाय निकाल्ने तर्फ पाइला लम्कनुपर्ने हैन र ? फेसबुके फण्डामा निर्भर सहकारीका तालिम गोष्ठी मेला र भेलाले कसरी भेटाउला र उपाए ।
किनकी अहिलेसम्मका त्यस्ता भेला, हाट बजार र मेला मात्र बनेका छन्, नियती नै उपाय भेटाउने भन्दा समाधान मेटाउने भएपछि । फेसनको रुपमा देखिएका सहकारीका तालिम गोष्ठी नामका विज्ञापनको रडाकोले आजकाल सामाजिक सञ्जालको सातो उडाएको छ । सामाजिक सञ्जालले पनि दिक्क मानिसक्यो की ! कति झुक्याउने हो, उपलब्धी शुन्य ।
सहकारीका तालिम गोष्ठी मेला र भेलाका विज्ञापन पनि सहकारीको तालिम कम ! बिग हाउसको निर्माण रहेको फिल्म प्रदर्शन हुनलाग्या जस्तो तामझाका छन् । र पनि सहकारीका जिल्लादेखि महासंघसम्म उसैगरी संघिय संरचनामा जन्मिएका र अंकुराउँदै गरेका अभिभावक निकायहरुको प्राथमिकताको पहिलो कर्म भने तालिम गोष्ठी नै भएको छ ।
समाधान खोज्ने मेलो नामका तालिम गोष्ठी, भेला, मेलाका खेतालाले नै मेलोको मेसो नपायपछि कसरी चिर्न सकिएला त ! सहकारीका समस्या ? सरोकारवालाले अनदेखा अनसुना गरेकै हो भने, अहिलेसम्म भएका सहकारीका मेला भेला तालिम र गोष्ठीप्रति प्रश्न उठाउन पाइ कि नपाई ?
आजकाल सामाजिक सञ्जालमा देखिने सहकारीका तालिम गोष्ठी मेला र भेलाकोे विज्ञापन चलचित्रको विज्ञापन भन्दा कम छैनन् । कुनै चलचित्रको प्रदर्शन तालिका जस्तै लाग्ने कार्यक्रम तालिका र चलचित्रका पात्र झै लाग्ने कार्यपत्र प्रस्तुतकर्ताको विज्ञापनले सामाजिक सञ्जाल नै आत्तिइसक्यो । सहकारीका मेला भेला तथा गोष्ठी पनि शनिबारे हाटबजार भन्दा कम भएनन्।
फ्ल्प फिल्मका फ्ल्प कलाकार झै लाग्ने गोष्ठीका आकर्षण भनिएका अनुहारहरुले झनै बाचन गर्ने कथा कहानी जस्ता अध्यायहरु अव त दन्ते कथा र स्वस्थानीका अध्याय जस्तै लाग्न थालेका छन् । तीन महिना अघिदेखि पालै पालो सहकारी तालिम गोष्ठी, समिट नाममा सामाजिक संजालमा पोष्टिने पोष्टरहरुले सहकारी शिक्षा र तालिमको खिसी गरेझैं लाग्न थालेको छ।
अझ प्रयोग गरिने ‘छिटो गर्नुहोला, सिट समिति छ, छुट्नु होला, अब यति दिन मात्र बाँकी’ जस्ता शब्दहरु हकरले पत्रिका बिकाउन बोलिएका हेडलाइनहरु, ठेलामा तरकारी बेच्ने पसलेले रेकर्ड गरेर माइकमा फुक्दै हिड्ने रेडिमेड शब्दहरु आलु, काउली, गोलभेडा, भान्टा ले....लो जस्तो लाग्न थालिसक्यो ।
बर्षैदेखि चलेको रमिते ताालिम र गोष्ठी नामका यस्ता शब्द र कर्म सामाजिक सञ्जालले सहेको पनि लामो समय भइसक्यो । तारे होटलका तालिम र गोष्ठीको उपलब्धिको लेखाजोखा त परै जाओस्, प्रतिष्पर्धामा कसले कति धेरै रकम लिएर कति तारे होटलमा कार्यक्रम गर्ने भन्नेमा मात्र सिमित भए ।
सहकारी शिक्षामा लगानीको लेखा जोखा भएन, कसले कस्तो जनशक्ति उत्पादन गर्यो र त्यो जनशक्ति कहाँ कसरी काम गरिरहेको छ ? हिसाव छैन । सहकारीको कुन क्षेत्र र वर्गलाई कस्तो शिक्षा आवश्यक छ, त्यसकोलागि के कती चाहिन्छ अनुसन्धान भएको पाइन्न । संचालकको सनकका भरमा शिक्षाका नाममा ब्यापार त्यो पनि बालुवामा पानी हालेजस्तो देखिएको छ ।
सहकारीमा समस्या झन झन बढेको बढ्यौ । माउ निकायहरु सहकारी शिक्षाका नाममा ताालिम गोष्ठी गरेको गर्यौ । संचालक देखि सदस्यसम्म, लिङ्गदेखि भूगोल सम्मका नाममा भएका ताालिम गोष्ठीले बुँदे प्रतिवद्धता र घोषणा पत्र जारी गर्न मात्र जान्यो । दिन बिराएर हुने गरेको सहकारी शिक्षा नामका तालिम गोष्ठीले खै कसलाई के शिक्षा प्रदान गर्यो यसको रिजल्ट खोजिनु पर्ने हैन र ?
त्यसैले भमिट नआउने पचाउन सक्ने, सहकारी समस्याको जड पत्ता लगाएर उपचार हुने साँच्चैको सहकारी मेला र भेलाको लागि मोडालिटि पो चेन्ज गर्ने हो की ! जसले क्षणिक रमाइलो हैन, रणनीति बनाओस्, निकास निकालोस् । जसले सामाजिक संजालमा भब्य प्रदर्शनको तयारीमा ‘सहकारी समिट’ भन्ने विज्ञापन गरिरहनु नपरोस, आवश्यकता महसुस गरियोस् ।
शिक्षा ताालिमका नाममा ब्यापार गर्नेहरुले सहकारीमा समस्या आउदा रुस यूक्रेन युद्धलाई दोषी देखाउन भ्याएका छन् । आर्थिक मन्दि र राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभाव कारण बनाउन भ्याएका छन् । सहकारीमा सकरात्मक परिवर्तनको ढोङमा बजाँइने ढोलहरुमा पनि भ्वाङ परिसक्यो तर खोइ परिवर्तन ?
सहकारीका माउ निकायले बाँढेको विज्ञापनको पर्चामा दर्शकरुपी सदस्यले पाएनन् फरक स्वाद, समस्या झनै बढे, भएन निवारण । अनि चलचित्रमा बाराम्बार दोहोरिने कथा र पात्रजस्ता सहकारी गोष्ठीमा सहभागी हुने प्रतिनिधि तथा अध्याय पढाउने पण्डितहरुको पुराणे पाराले सहकारीमा कोहो दोशी खुट्याउनै मुश्किल।
समय सापेक्ष परिर्वन गर्न नचाहनाले समस्या लुकाईरहनुको विकल्प देखिएको छैन् । सहकारीमा भएका गल्तीलाई ढाकछोप गर्नाको परिणाम समस्या बिकराल बन्दै गएको पत्तो पाएर पनि सरोकारवालाहरुले समस्यालाई भुसको आगो झैं सल्कदै गरेको नदेखे कै हो त ?
सहकारी गोष्ठी तालिम र भेलामा भलाकुसारी गर्ने मेसो मिलाउनु नै उपलब्धी हैन, समस्या पहिचान गरी समाधानको प्रयासलाई नै प्रगती मान्न सकिएला । यस्ता गोष्ठीमा हुने पण्डित्याइले दक्षिणा त मिल्ला तर सन्तुष्टिको पोको खुल्दैन ।
चलचित्र प्रोडक्सन हाउसमा निर्माण सामाग्री र दक्ष जनशक्तिको अभावलाई दोष दिएझैं सहकारीको नियमन निकायको दक्ष जनशक्तिको अभावको बहानामा बदमास बन्दै गएका केही सहकारी र संचालकले दाई गरेको टुलुटुलु हेर्न पनि सुहाएको चैं छैन् है ।
आधुनिकतामा जानु पर्छ भन्ने शब्दका नक्कलले अव काम गर्न छाडी सक्यो । बोक्रोको विज्ञापन भयो गुदी खोक्रो नै छ । दर्शकरुपी सदस्य झुक्किए । समग्रमा फ्ल्प फिल्म जस्तो बनेको सहकारी अभियन्ताको तालिम गाोष्ठी भेला र मेला अनि समिटको भमिट पोको पारेर फाले पनि गन्हाइ रहन्छ ।
त्यसैले भमिट नआउने पचाउन सक्ने, सहकारी समस्याको जड पत्ता लगाएर उपचार हुने साँच्चैको सहकारी मेला र भेलाको लागि मोडालिटि पो चेन्ज गर्ने हो की ! जसले क्षणिक रमाइलो हैन, रणनीति बनाओस्, निकास निकालोस् । जसले सामाजिक संजालमा भब्य प्रदर्शनको तयारीमा ‘सहकारी समिट’ भन्ने विज्ञापन गरिरहनु नपरोस, आवश्यकता महसुस गरियोस् । कि कसो!
Leave a comment