नेपालमा सहकारी मार्फत समाजका निम्न वर्गमा बचतको बानिको विकास गर्न, कृषकलाई मल, बीउ र पूँजी पुर्याउनका लागि, सहकारीको औपचारिक सुरुवात भयो । त्यसबेलादेखि अहिलेसम्मको सरकारी नीति हेर्ने हो भने सहकारी क्षेत्र भनेकै उत्पादनमुलक काम गर्नका लागि हो, यो न्यून आय भएका, भूमिहिन, किसान, पछाडी परेका वर्गहरुले समूहमा बसेर सबैको उत्थान हुने गरी काम गर्ने विधि हो भने स्वीकार गरिएको छ । हामीले अबलम्वन गरेको सहकारी नीति–२०६९, सहकारी ऐन–२०७४ र सहकारी नियमावली–२०७५ सम्म आइपुग्दा सरकारका नीतिले आत्मसात गरेको पक्ष पनि यहि हो ।
तर, बिडम्बना हाम्रो ब्यवहार तथा बजारको यथार्थता भिन्न छ । जस्तो सिद्धान्त, नीति, ऐन, कानुनले ब्याख्या गरेको छ, सहकारी संस्थाहरु ठिक उल्टो दिशातर्फ उन्मुख छन् अझ भन्नुपर्दा बाटो परिवर्तन गरेका छन् । सहकारीले आफ्नो शाख गुमाउँदै गएको, सदस्यबाट टाढा भएको, अभिभावक विहिन भएको र कुहिरोको कागजस्तो भएको देखिन्छ ।
सहकारी निम्न वर्गका लागि भनिएको भएपनि, हामीकहाँ सहकारीमा सम्भ्रान्त वर्गको रजगज देखिन्छ, त्यो तल्लो वर्गमा पुग्न नसकेको, नचाहेको वा पुगेर पनि त्यसको हिसााव किताव नराखेको देखिन्छ । सहकारीले उत्पादन, प्रशोधन तथा बजारीकरण काम गर्नुपर्ने जोड दिएपनि, सहकारी वित्तीय कारोबारमा धेरै रमाएको देखिन्छ ।
सहकारी क्षेत्र आत्मनिर्भर हुनुपर्छ भनिन्छ, वर्तमान अवस्था फरक छ । सहकारी अनुदानका लागि वा छुट पाउने आशामा स्थापना भएका छन् र तिनिहरु परनिर्भर बन्दै गएका छन् । नीति र ब्यवहारमा तालमेल नभएका कयौँ दृष्टान्त छन् । सबैको एउटै सार भनेको सहकारी ठिक ढंगले अघि बढेननन् र त्यसको परिणाम प्रतिफल पनि सुखद् छैन ।
यतिबेला सहकारीमा चरम तरलता अभाव छ । सदस्यको बचत फिर्ता गर्न नसकेका, भागेका, समस्याग्रस्त भएका संस्थाको सूची दिनहुँ बढ्दो क्रममा छ । कारणको रुपमा कोभिड–१९ को महामारी, विश्वव्यापी आर्थिक मन्दी, वित्तीय क्षेत्रमा तरलता अभाव वा जथाभावी रुपमा चलेका सहकारी संस्था, आवश्यक भन्दा बढी संस्था, कमजोर नियमन, ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरणलगायतका व्यवस्था कार्यान्वयन नहुनु भनेपनि यथार्थता फरक छ त्यो हो ‘नियत’ ।
समस्याको कारण जे भएपनि नेपालको सहकारी अभियानमा राज्यको पनि र अभियानको पनि नियतमाथि शंका गर्ने ठाउँ देखियो, त्यसैले सहकारीका समस्या समाधान नभएर गलत अवसरका रुपमा हेरियो ।
सहकारीका वर्तमान समस्या, माथि उल्लेख गरिएका कारण मात्र हैन, नियत राम्रो बनाउने नभएर पनि हो । त्यसैले परिआएका समस्या, समस्या मात्र हैन, यसले अवसर पनि बोकेर आएको हुन्छ । त्यसैले अहिले सहकारी क्षेत्रमा देखिएको साझा समस्यालाई अवसरका रुपमा बदल्न सक्नुपर्छ ।
यो समयले देखाएको बाटोलाई आत्मसाथ गर्दै सहकारीलाई सिद्धान्त, ऐन कानुन अनुरुप परिवर्तन गर्न सुरु गरौँ । समाजको परिवर्तनको क्षेत्रमा सहकारीलाई परिचालन गरौँ । अघि बढ्नु पहिला हाल सञ्चालनमा रहेका र जनताको अर्बौ रकम परिचालन भएका संस्थाहरुलाई सहज रुपमा रुपान्तरणको बाटो दिनुपर्ने जिम्मेवारी भने सरोकारवालाहरुले भुल्न मिल्दैन । अब पनि सहकारी आन्दोलन हो भन्दै, माला, खादा अनि भाषण र गोष्ठीले मात्र यसको निकास निस्कने अवस्था छैन ।
समस्यालाई अनदेखा गरेर त्यती त हो नी ! भनेर बल मिच्याइ गरेर जाने मुर्खता फेरी पनि भयो भने शहरबाट सल्केको आगो गाउँमा नपुग्ला भन्न सकिन्न । भयावह हुनुअघि नै सबै सरोकारवाला एकै ठाउमा बसेर समस्याको निक्र्यौल हुनेगरी समाधानका लागि निर्मम रुपमा लाग्न जरुरी छ ।
नत्र भने सहकारी अभियान एकादेशको कथा हुने छ । सबैका लागि अनुकुल हुने गरी साझा एजेण्डा र बुझाइ तय गर्नु र त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन् । सहकारी दिवसले सहकारीलाई, सहकारीकै रुपमा अघि बढ्ने अवसर दिओस् र दिने बाताबरण बनोस् ६७ औं राष्ट्रिय सहकारी दिवसको शुभकामना ।
Leave a comment