हाइलाइट

जिल्ला संघबाट बार्षिक डेढ करोड लिटर दूध बिक्री, ४२ करोड रकम अझै उठेन

जिल्ला संघबाट बार्षिक डेढ करोड लिटर दूध बिक्री, ४२ करोड रकम अझै उठेन :: Sahakari Akhabar

काठमाडौं । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले बार्षिक रुपमा १ करोड ५० लाख लिटर दूध संकलन गरी बिक्री गर्ने गरेको छ ।

संघले मकवानपुर जिल्लामा दैनिक ५० हजार लिटर दूध उत्पादन हुने गरेको भएपनि आर्थिक मन्दीका कारण दुग्धजन्य पदार्थको खपतमा कमी आउँदा किसानले समयमा भुक्तानी पाउन नसकेका बताएको छ ।

संघ आफूले नीजि र सरकारी उद्योगबाट ४२ करोड रकम लिन बाँकी रहेको जनाएको छ । संघले सहकारी संस्थामार्फत दैनिक ५० हजार लिटर दूध संकलन गरी बजारमा पठाउने गरेको संघका व्यवस्थापक कुमारमणि दहालले बताएका छन् ।

पछिल्लो समय उक्त मात्रामा दैनिकरुपमा दूध उत्पादन हुँदै आएको भए पनि मूलुकमा आएको आर्थिक मन्दीका कारण मकवानपुर जिल्लाले नै पहिलो पटक मिल्क होलिडेको सामान गर्नु परेको छ ।

अर्को तर्फ भारत लगायतका छिमेकी देशबाट अघोषित रुपमा दूधको आयात हुने भएकाले किसानले थप मार भोग्नु परेको व्यवस्थापक दहाल बताउँछन् ।

विगत केही महिना दूध विक्री नहुँदा आफुहरु आर्थिक संकटमा रहेको र पछिल्लो समय निजी तथा सरकारी उद्योगहरुले दूध किने पनि समयमा भुक्तानी नपाएको उनले जनाए ।

हिजो गाई भैंसीमा लम्पीस्किन रोगका कारण दूध उत्पादन घटेको र अहिले प्रशस्त दूध उत्पादन भए पनि बजारबाट समयमा भुक्तानी पाउन नसकेको उनले गुनासो गरे ।

आर्थिक मन्दीका कारण बजारीकरण गर्न धेरै समस्या भएको र ४० करोड भन्दा माथि रकम संस्थाहरुलाई भुक्तानी दिनुपर्ने दायित्व रहेको उनले बताए ।

अर्कोतर्फ युवा पुस्ता विदेशिने, वृद्ध वृद्धालाई दुग्ध पदार्थ नपच्ने र फुटपाथ व्यवसाय गर्न नपाउने जस्ता कारणले पनि दुग्ध पदार्थको खपत घटेको उनको भनाई छ ।

त्यसैगरी संघले नीजि र सरकारी उद्योगबाट ४२ करोड रकम लिन बाँकी रहेको छ । सदस्य संस्थाबाट जतिमा किनेको हो तेतिनै मूल्यमा विक्री गर्दा पनि संघको बार्षिक कारोवार ठुलो हुने गरेको छ ।

संघमा आवद्ध ६२  संस्था मध्ये ५४ वटा संस्था नाफा नोक्सानमा सहभागी हुने शेयर सदस्यको रुपमा रहेका छन् । संघले बहुउद्देश्यीय, साना किसान र कृषि सहकारी संस्थालाई सदस्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको छ ।

तर संघले ति संस्थाहरुले उत्पादन गरेको दूधको पनि बजारीकरणमा भने सहयोग पुर्याउदै आएको छ । ६२ संस्थाका १२ हजार सदस्य पशुपालन पेशामा आवद्ध रहेको संघको तथ्याङ्क छ ।

सुरुवाती चरणमा ८ / १० हजार लिटर दूध उत्पादन हुने गरेकोमा अहिले पशुपालनमा आएको व्यवसायिकरणले बार्षिक १ करोड ५० लाख लिटरको हारहारीमा दूध संकलन गरेर विक्री हुने गरेको छ ।

सरकारले मकवानपुर गढी गाउँपालिकालाई दूधको पकेट क्षेत्रको रुपमा लिएको छ र उक्त गाउँपालिकमा मात्रै दैनिक २० हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

विगतमा दूध उत्पादक कृषकलाई सरकारले प्रतिलिटर दूधमा १ / २ रुपैया अनुदान दिने गरेको भए पनि अहिले त्यस्तो अनुदान नभएको उनले सुनाए । राज्यले फ्याटको आधारमा न्युनतम समर्थन मूल्य ७.५० पैसा र ४.५० पैसा प्रति एसएनएफ तोकिदिएको छ ।

४ प्रतिशत फ्याट र ८ प्रतिशत  एसएनएफ रहेको दूधको प्रतिलिटर ६५ रुपैयाँ पाउने उनले बताए । भैसीको दूधमा फ्याट बढी हुने भएकाले कृषकले ८५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् ।

गुणस्तरको आधारमा मूल्य निर्धारण हुने र सरदर लागत ७० रुपैया पर्ने गरेको छ । संस्थाहरुले प्रति के.जी ३.५० रुपैया संस्था व्यवस्थापन खर्च समेत पाउने गरेका छन् ।

राज्यले तोकेको भन्दा एक पैसा पनि तल किसानलाई मूल्य हुन नदिने र समर्थन मूल्य नदिने संस्थाहरुलाई संघले सहजीकरण समेत नगर्ने उनले बताए । दूधको मुख्य बजार काठमाडौं उपत्यका र पोखरा रहेको छ ।

१० हजार लिटर हेटौंडा दुग्ध विरतण आयोजनाले, १० हजार लिटर दुग्ध विकास संस्थानले, ५ हजार लिटर संघले र बाँकी ५० देखि ६० प्रतिशत दूध काठमाडौं र पोखरामा विक्रीका लागि पठाइने गरेको छ ।

संघले दुग्धजन्य वस्तु उत्पादनको लागि उद्योगको सुरुवात गरेको भए पनि बजारको भने समस्या रहेको उनले सुनाए । संघले दही, घ्यु, पनिर र खुल्ला मख्खन उत्पादन गर्दै आएको छ ।

निकट भविष्यमा आइसक्रिम, मसालेदार मोही उत्पादन गर्ने योजना बनाएको भए पनि बजारको भने समस्या रहेको उनको बुझाई छ ।

सरकारले दुग्धजन्य उत्पादन पनिर, घ्यू, आइसक्रिम लगायतमा भ्याट लगाएको भएपनि विदेशबाट आयात हुने डेरी ह्वाइटमा भ्याट नलाग्नु दुःखद भएको उनको भनाई छ ।

सरकारले लागत घटाएर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्नेमा उनको जोड छ । त्यसैगरी उत्पादन लागत घटाउन बहुवर्षीय र पोषिला घाँस लगाउन र आयातित दाना पराल घटाउन सके लागत घट्ने उनको सुझाव छ ।

आयातित दाना परालमा निर्भर होउञ्जेल उत्पादन लागत बढ्ने हुँदा किसानले लाभ लिन नसक्ने भन्दै घाँसमा आधारित पशुपालनमा जोड दिनुपर्ने उनले बताए ।



Leave a comment