नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को ३२ औं बार्षिक साधारण सभा हालैमात्र सम्पन्न भएको छ। निर्वाचनबाट निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको संचालक समिति तथा संयोजक ईन्द्रराज ज्योती पौडेल नेतृत्वको लेखा सुपरिवेक्षण समितिसंग धेरै सहकारीकर्मीले परिणाममुखी अपेक्षा राखेका छन् ।
विगतका केही वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमा बिचलन देखिएको छ । अभियानको नेतृत्वमा सुशासनको प्रश्न उठेको छ । कर्मचारीमा रानीतिको दाग लागेको छ ।
सहकारीप्रति आम सर्व साधारणको नजर नकरात्मक छ । सहकारीका माउ निकायलाई राजनीतिक दलका भातृ संगठनको संज्ञा दिइएको छ । मूलुकमा सहकारीका संख्याको मात्र बृद्धि भएको छ, सेवामा गुणस्तर र गुणस्तरको संख्या घटेको छ ।
दिनप्रतिदिन अभियानलाई कमजोर बनाउँन सवै तह र तप्काकाहरु लागिपरेका छन् । सिंगो सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघले आफ्नो भूमिका र दायित्व नबुझ्नाले सहकारी अभियानले बाटो बिराएको छ।
अभियानकै माउ निकाए भन्दापनि जेठो केन्द्रीय संघ नेफ्स्कूनले भर्खरैमात्र नयाँ नेतृत्व पाएको छ । संघमा हुने राजनीतिक खिचातानी, समिति र कर्मचारीका राजनीतिक खोल, सुशासन र पारदर्शिताका कुरा हिजोदेखिनै छर्लङ्ग छन् ।
नयाँ समिति पनि त्यो विषयमा अन्जान छैन । त्यसलाई चिरेर नयाँ नेतृत्व अघि बढ्नु कम चुनौनी हैन तर पनि चुनौतीमा सम्भावना खोज्नु र सफलता पाउनु नै महानता हो भन्ने सम्झेर आगामी यात्रा तय गर्नु नेफ्स्कून नयाँ नेतृत्वको यात्रा पदमार्ग हुनेछ।
बचत अभियानको सुद्धिकरणका लागि नयाँ नेतृत्वसंग आम सहकारीकर्मीले आशा गर्नु नाजायज पक्कै हैन । भरोसा गर्नु, अपेक्षा राख्नु अनि आशा गर्नु बचत अभियानमा अटाएकाहरुको नैसर्गिग अधिकार हो र त उनीहरुले सामाजिक संजाल मार्फत नयाँ नेतृत्वलाई बधाइ दिंदै सुझाव पनि दिएका छन् ।
दोलखामा रहेको मिलिजुलि कालिञ्चोक सहकारीका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले लेखेकाछन्, कर्जा सूचना केन्द्र नेपालमा सहभागि हुन पाउँने ब्यवस्था, कर्जा असुली न्यायधिकरणको ब्यवस्था, बचत सुरक्षण कोषको ब्यवस्था, स्थिरिकरण कोषमा योगदान गर्ने संस्थालाई स्तरीकरण कार्यक्रममा अनिवार्यता र निशुल्क गर्ने ब्यवस्था नयाँ नेतृत्वको काँधमा छ ।
त्यसैगरी नेफ्स्कूनमा आवद्ध सबै साकोसका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता गराउने ब्यवस्था, साकोस ऐनमा पहल र परिणामको पनि नयाँ नेतृत्व संग अपेक्षा छ ।
त्यसैगरी न्यौपानेले नेफ्स्कूनको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले प्रतिनिधित्व गरेको संस्था वा संघ अनिवार्य रुपमा नेफ्स्कूनको सबै कार्यक्रममा सहभागिता जनाउने ब्यवस्था गर्न जरुरी रहेको सुझाएका छन् ।
नेफ्स्कूनमा फिट एण्ड प्रपर टेष्टको अनिवार्य लागु गर्नको लागि बिनियममा ब्यवस्था, नेफ्स्कून आफै स्तरीकरण कार्यक्रममा आवद्धता गर्न उनको सुझाव छ ।
नेफस्कून कर्मचारी ब्यवस्थापन चरम राजनीतिमा लागेको तितो यथार्थ देखियो, यो सुखद हैन, तसर्थ त्यसलाई कडा भन्दा कडा कर्मचारी आचार सहिता बनाई विना पुर्वाग्रह राम्रोलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्डित गर्ने नीति अंगिकार गर्न उनको दोस्रो सुझाव छ ।
नेफ्स्कूनको सञ्चालक समिति वा लेखा सुपरिवेक्षण समितिमा उम्मेदवार हुन स्तरीकरण र स्थिरिकरण कोष कार्यक्रममा आवद्ध भएको संघ, संस्थाको प्रतिनिधि हुनुपर्ने बिनियममा ब्यवस्था गर्न उनले सुझाव दिएका छन् ।
त्यसैगरी संघ संस्थामा सहकारीको सिद्धान्त, मुल्य र मान्यता प्रयोगको मासिक परिक्षण र प्रतिवेदनको अनिवार्यता, सहकारी विभागसँग समन्वय गरी सियुलेग सबै साकोसहरुमा अनिवार्य लागु गर्ने ब्यवस्था गर्नु पर्ने उनको सुझाव छ।
न्यौपानेले नेपाल सरकार सँग पहल र समन्वय गरी सहकारी सँग सम्बन्धित सरकारी कार्यालयको कर्मचारी सहकारी सँगै सम्बन्धित कार्यालयमा मात्र सरुवा हुने ब्यवस्था गर्न र सहकारी विभाग अन्तर्गत न्यूनतम ७७ जना चार्टर्ड एकाउन्टेन्ट भर्ना गरी नियमन, निरिक्षण गर्ने ब्यवस्था गर्न नयाँ नेतृत्वले कदम चालिहाल्नु पर्नेे सुझाव दिएका छन् ।
त्यस्तै नेफस्कूनको नव निर्वाचित टिमलाई बधाई दिंदै पोखरा रोयल सहकारीका सूचना अधिकारी मिलन ढकालले तत्कालै गरीहाल्नुपर्ने दुईवटा कार्य सुझावका रुपमा दिएका छन् ।
निर्वाचित भइसकेपछि नेफस्कून भित्र राजनीति नगरि शुद्ध सहकारीकर्मीको रुपमा नेफस्कूनको नीति अनुसार कार्य गर्न उनको पहिलो सुझाव छ ।
त्यसैगरी नेफस्कून कर्मचारी ब्यवस्थापन चरम राजनीतिमा लागेको तितो यथार्थ देखियो, यो सुखद हैन, तसर्थ त्यसलाई कडा भन्दा कडा कर्मचारी आचार सहिता बनाई विना पुर्वाग्रह राम्रोलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्डित गर्ने नीति अंगिकार गर्न उनको दोस्रो सुझाव छ ।
सामाजिक संजालमै हेम् कार्कीले लेखेका छन्, पदको प्राप्ती सबैकुरा होईन । निवर्तमान नेतृत्वले गरेको राम्रो कामको निरन्तरता र नयाँ राम्रो कामको थालनी होस् शुभकामना छ । संस्थागत बिकासको लागि ब्यवसायीक ज्ञान, सिप फस्टाउने निष्पक्ष प्रणाली भए पुग्छ ।
निष्पक्ष प्रणाली भयो भने पद बाहीर बसेर पनि काम गर्न सकिन्छ । पदमा पुगेपछी मात्र गर्न सकिन्छ भन्ने होईन । अब काम गर्ने अबसर र जीम्मेवारी आएको छ । जित हार स्वभाविक कुरा हो । सहकारीको संस्थागत प्रणाली विकासमा ठूलो भन्दा ठूलो खाडल छ, त्यो झन झन बढेर गएको छ ।
यसको परिणाम सहकारी संस्थाको बेहाल हो । त्यती राम्रो सिद्धान्त, मुल्य र मान्यता भएको सहकारी संस्था प्रति कसरी यती ठूलो अनविश्वासको जन्म भयो ? यसमा हामी सबै सहकारी कर्मीहरूको दोष छ ।
सहकारीलाई मर्ज गर्ने प्रथाले बाँकी सहकारी संस्था नमरून । केही राम्रो काम गरेका सहकारी संस्थाहरु पनि छन । उनिहरुको शाख जोगियोस । केही सहकारीहरु कोमामा छन् ।
उनीहरुको स्वास्थ्य लाभ होस् । केही सहकारीहरु मृत्युको नजिक पुगेका छन, उनीहरुलाई ब्रह्मनालबाट उठाऊन नयाँ नेतृत्व लाई सफलता मीलोस । शुभकामना ।
सहकारीलाई भलो चाहने र सहकारी मार्फत सदस्यको प्रगतीको सपना बुन्ने प्रतिनिधि पात्रहरुको सुझाव नयाँ नेतृत्वकोलागि मार्गदर्शन हो ।
अभिभावक संघहरु दलिय राजनीतिमा नलागी सहकारी सुद्धिकरणकालागि सरोकारवाला हरुसंग नतिजामूखि बहस र पैरबीको खाँचो छ । सहकारीको गुमेको साख फर्काउन निर्मम कार्यको जरुरी छ । असम्भव छैन । हाम्रो पनि शुभकामना।
Leave a comment